काठमाडौंका बिग्रिएका पुराना स्थाननाम पुनःस्थापनामा महानगर सक्रिय

.

काठमाडौं महानगरपालिकाले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका टोल, बस्ती, मठमन्दिर, बहाल, वही, धारा, सत्तल र पाटीहरूको अध्ययनमार्फत प्राचीन नाम पहिचान गरी पुनःस्थापनाको काम तिब्र बनाएको छ ।
महानगरका सम्पदा तथा पर्यटन समिति संयोजक तथा काठमाडौं–८ का वडाध्यक्ष आशामान संगतले अध्ययनका क्रममा पुराना बस्ती र सम्पदासँग जोडिएका मौलिक नाम पत्ता लगाएर स्थानीयवासी, समुदाय, संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्सँग पुष्टि गर्ने कार्य जारी रहेको बताउनुभएको छ । उहाँले नाम बिगारेर प्रयोगमा ल्याइएका नामलाई सच्याउँदै काठमाडौंलाई पुनः मौलिक पहिचान दिलाउने लक्ष्यसहित काम भइरहेको बताउनु भयो । केही वडामा रहेका नामहरुमात्रै सच्याउन बाँकी रहेको भन्दै उहाँले केही दिनभित्रै बोर्ड लगाउने कार्य शुरु गरिने बताउनु भयो । संगतले महानगर अहिले कार्यकालको अन्तिम वर्षको बजेट तयारीमा रहेको उल्लेख गर्दै राज्यले जुनसुकै बेला निर्वाचन घोषणा गर्न सक्ने भएकाले बाँकी काम ढिलाइ नगरी सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौंलाई अहिले फेरि मौलिक नामले पहिचान गराउनका लागि हामीले काम गरिरहेका छौँ । हामी बिगारेर राखेका नामलाई छिटो भन्दा छिटो सच्याएर त्यसको कार्यान्वयन गरौँ । केही ठाउँमा हामीले बोर्डहरु राख्ने काम बाँकी छ । त्यो कामलाई पनि टुंग्याउनुछ । हामी अब कार्यकालको अन्तिम वर्षको बजेट बनाउने तयारीमा हुन्छौँ । राज्यले कुनैपनि बेला चुनाव घोषणा गर्नसक्ने भएको कारण काममा अलमल वा समय थप्नेभन्दा पनि जति समय पाइएको छ त्यो समयमा काम टुंगियो भने सहज हुन्छ ।’
उहाँले उपलब्ध समयभित्रै सम्पदा संरक्षणसँग जोडिएका नाम पुनःस्थापनाका काम टुंग्याउनसके कार्यान्वयनमा सहजता हुने उहाँको विश्वास छ । –न्युज एजेन्सी नेपाल