चिकित्सकको हकहित, सुरक्षा र पेशागत अधिकारका लागि दृढ भएर काम गर्छुः एनएमए अध्यक्ष रिजाल

.

नेपाल चिकित्सक संघ (एनएमए)का नवनिर्वाचित अध्यक्ष डा. बद्री रिजालले चिकित्सकको हकहित, सुरक्षा र पेशागत अधिकारका लागि दृढ भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष रिजालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले चिकित्सकसँग साता ४० घण्टा मात्रै सेवा अपेक्षा गरेको भएपनि चिकित्सकहरुले ७०–८० घण्टा काम गर्नुपरेको उल्लेख गर्दै चिकित्सकको श्रम शोषण अन्त्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले नेपालको चिकित्सा क्षेत्रको सुधारका लागि संघको महत्वपूर्ण योगदान रहेको स्मरण समेत गर्नुभयो । उहाँले चिकित्सा क्षेत्रसँग सम्बन्धित प्रक्रियामा रहेका संघका कामहरु केहीदिनमै टुंग्याउने उहाँको भनाइ छ । उहाँले बद्लिँदो राजीनित परिवर्तनसँगै चिकित्सा क्षेत्रमा समेत महत्वपूर्ण चुनौतीहरु देखा पर्न थालेको उल्लेख गर्दै सरोकारवाला निकायसँगको समन्वयमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘चिकित्सा क्षेत्रमा संघको महत्वपूर्ण योगदान रहँदै आएको छ । धेरै कामहरु हुन बाँकी रहेको तथा प्रक्रियामै रहेको कारणले त्यसलाई निष्कर्षमा पुर्याउनेदेखि लिएर चिकित्सकको हकहित र अधिकारको लागि चिकित्सक संघ लड्ने हो । सरकारसँग र सम्बन्धित निकायहरुसँग समन्वय गरेर सामाजिक उत्तरदायित्वलाई पनि ख्याल गर्दै सरोकारवाला सबैसँग सहकार्य गरेर अगाडि बढ्छ । चिकित्सक संघ २००७ सालदेखि विभिन्न उतारचढावसहित यहाँसम्म आइपुगेको हो । चिकित्सकको सुरक्षा र हकहितको सन्दर्भमा पछिल्लो समय केही समस्याहर देखिन थालेका छन् । ती समस्याहरुको समाधानको लागि सम्बन्धीत निकायहरुसँग सहकार्य गर्दै आफ्नो स्टाण्र्ड राखेर बद्लिँदो परिस्थितिमा आउने सबै प्रकारका विकल्प अवलम्वन गर्छ । सातामा दुई दिन बिदा दिने सरकारको निर्णय चिकित्सक संघले स्वीकारिसकेको छ । चिकित्सकहरुसँग राज्यले ४० घण्टा मात्रै मागिरहेको छ भने चिकित्सकले ७०–८० घण्टा बढी काम गरिरहेको अवस्था छ । त्यसकारण छिटै हामी चिकित्सकको श्रम शोषण हुन नदिने कुराको निष्कर्षमा पुग्छौँ ।’
एनएमएको हालै सम्पन्न निर्वाचनमा रिजाल अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो  साथै वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सह–कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल र सहसचिवमा डा. हुलास अग्रवाल निर्वाचित हुनुभएको छ । त्यसैगरी कोशी प्रदेशमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, लुम्बिनीमा डा. नन्दा कुमारी गुरुङ र सुदूरपश्चिममा डा. प्रमोद जोशी निर्वाचित हुनुभएको छ । गण्डकी र कर्णाली प्रदेशमा भने टिम मंगलका उम्मेदवारले जित हात पार्नुभएको छ । गण्डकीमा डा. यज्ञराज सिग्देल र कर्णालीमा डा. रबिन खड्काले विजयी हुनुभएको छ । सदस्यतर्फ टिम बद्रीबाट डा. राकेश साह, डा. सुस्मित काफ्ले र डा. बिना श्रेष्ठ निर्वाचित भएका हुनुभएको छ । यता मंगलबाट डा. अमित झा र डा. पल्पसा श्रेष्ठ विजयी हुँदा टिम रिफर्मबाट डा. शेषराज घिमिरेले सदस्य पदमा जीत  निकाल्नुभएको छ । १९ सदस्यीय कार्यसमितिका लागि भएको प्रतिष्पर्धामा टिम बद्री, टिम मंगल र टिम रिफर्मबाट गरी कुल ५६ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो । –न्युज एजेन्सी नेपाल