काठमाडौंको माईतीघर मण्डलामासुकुम्बासी बस्तीमा स्थानीय सरकारले चलाएको डोजर र बल प्रयोगको विरुद्धमा जेन–जी मुभमेन्ट एलायन्सले विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरुले सुकुम्बासीका हक–अधिकार र मानव अधिकारको हनन् भएको भन्दै सरकारको आलोचना गरेका छन् । उनीहरुको हातमा रहेका प्लेकार्डहरुमा लेखिएको थियो, ‘अरुले आदेश दिए ज्यानमारा, आफूले म्यानुपुलेट गरे के नाम दिने ?’ यो प्रश्नले पछिल्लो समय सुकुम्बासी बस्ती हटाउने प्रक्रियामा भएको सरकारी अपारदर्शिता माथि गम्भीर प्रश्न उठाएको छ । उनीहरुले सुकुम्बासी बस्तीमा हुने बल प्रयोग र डोजर आतंक बन्द गरिनुपर्ने, सुकुम्बासीको सुरक्षित बसोवासको संवैधानिक हकको ग्यारेन्टी गर्नुपर्ने, सरकारका १०० कार्य सूचीमा समावेश गरिएका सुकुम्बासी सम्बन्धी प्रतिवद्धताको पालना, भूमिहीन सुकुम्बासीहरुलाई विकल्प विना विस्थापित गर्न नहुने माग गरेको छन् । प्रधानमन्त्री बालेन्द्र साहको सुकुम्बासी बस्ती प्रतिको नीति र व्यवहारलाई लक्षित गर्दै प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले विकासका नाममा जनताको वासस्थान खोसिनु लोकतन्त्रको उपहास भएको तर्क गरेका छन् । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल















