प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि सञ्चारकर्मी सजग हुनुपर्छः मुख्यमन्त्री आचार्य

.

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकमा प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको भन्दै सञ्चार जगतलाई सजग रहन आग्रह गर्नुभएको छ ।
सञ्चार माध्यममाथि हुनसक्ने सम्भावित अंकुश र लोकतन्त्रमा आइपर्ने संकटप्रति संकेत गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । नेपाल पत्रकार महासंघ, रुपन्देहीले आयोजना गरेको राष्ट्रिय सञ्चार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विज्ञापनमा लगाइएको रोक वा अन्य बहानामा भोलि समाचारमै सेन्सरसिप लाग्न सक्ने र मिडियामाथि नै प्रतिवन्ध लाग्न सक्ने जोखिम रहेको औंल्याउनु भयो । यस विषयमा आफूले प्रधानमन्त्रीसँग गम्भीर छलफल गरेको र प्रधानमन्त्रीले यसलाई अबिलम्ब सच्याउने प्रतिवद्धता जनाउनुभएको जानकारी समेत उहाँले दिनुभयो । पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा व्यक्ति विशेषलाई ‘अलौकिक शक्ति’का रूपमा चित्रण गरी गुणगान गाउने प्रवृत्ति बढेको भन्दै मुख्यमन्त्री आचार्यले असन्तुष्टि व्यक्त गर्नुभयो । यस्तो प्रवृत्तिले समाजलाई कता लैजाँदैछ भन्नेबारे द्वन्द्वात्मक विश्लेषण आवश्यक रहेको उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, ‘आज विज्ञापन रोकिएको छ, भोलि हरेक समाचार सेन्सर हुने र मिडिया नै प्रतिवन्धमा पर्ने परिपाटी नआउला भन्न सकिन्न । हामीले ठीक गर्दैछौँ कि बेठीक, त्यसको गम्भीर समीक्षा जरुरी छ । अहिलेको परिस्थितिमा हामीले द्वन्द्वात्मक ढंगले सोच्न सकिरहेका छैनौँ । मुलुकको विकास, राष्ट्रियताको संरक्षण र लोकतन्त्रको जगेर्नामा मिडियाकर्मीको भूमिका सदैव महत्वपूर्ण रहँदै आएको छ ।’
मुलुकको राष्ट्रियता र नेपाली स्वाभिमानमाथि प्रश्नचिन्ह खडा हुन खोजिरहेको उल्लेख गर्दै उहाँले भविष्य सोचेजस्तो सहज नरहेको चेतावनी दिनुभयो । विगतमा निरंकुशताका विरुद्ध मिडियाले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उहाँले अहिले पनि त्यसरी नै खरो रूपमा उत्रिनुपर्ने बेला आएको बताउनुभयो। उहाँले भन्नुभयो । निमुखा र कमजोर वर्गमाथि प्रहार भइरहेको भन्दै उहाँले सञ्चारकर्मीहरूलाई जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभयो । सञ्चार क्षेत्रको आगामी कार्ययोजना र घोषणापत्रले लोकतन्त्रलाई थप सुदृढ बनाउने विचारहरू अगाडि सार्नेमा आफू आशावादी रहेको समेत मुख्यमन्त्री आचार्यले उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल