रोल्पामा रोकिएन बालविवाह : कम उमेरमै विवाह र मातृत्वको पीडा

.

जनक कार्की | रोल्पा

रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिकामा बालविवाह अझै पनि गम्भीर सामाजिक समस्याका रूपमा देखिएको छ। कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न निषेध गरे पनि गाउँका अधिकांश किशोर–किशोरीहरू १४ देखि १७ वर्षकै उमेरमा विवाह गर्ने गरेको पाइएको छ।

लुङ्ग्री गाउँपालिका–१ पाङकी सुस्मिता बिकले १४ वर्षको उमेरमै विवाह गरेकी थिइन्। उनले १५ वर्षमै सन्तान जन्माइन्। हाल २० वर्षकी उनी दुई वर्षकी छोरीलाई काखमा बोकेर दैनिक मजदुरी गरेर जीवन चलाइरहेकी छन्।

सुस्मिताले आफ्नी बहिनी सिता बिकले पनि १४ वर्षकै उमेरमा भागेर विवाह गरेको र सोही उमेरमा बच्चा जन्माएको बताइन्। उनका अनुसार कम उमेरमै विवाह गर्ने बालबालिकाप्रति परिवारको ध्यान र चासो पर्याप्त नहुँदा समस्या झन् बढिरहेको छ।

“बालबालिकाले कम उमेरमै विवाह गर्दा परिवारले खासै रोकतोक गर्दैनन्,” सुस्मिताले भनिन्।

यस्तै, लुङ्ग्री–१ पाङकै प्रमिला बिकको अनुभव पनि निकै पीडादायी रहेको छ। उनले १७ वर्षको उमेरमा विवाह गरेकी थिइन्। गर्भवती भएपछि बच्चा जन्माउने क्रममा जटिलता उत्पन्न हुँदा उनलाई रोल्पाबाट प्युठानस्थित अस्पताल लैजाँदै गर्दा शिशुको मृत्यु भएको उनले बताइन्।

स्थानीयवासीका अनुसार गाउँपालिकामा बालविवाह रोक्न प्रभावकारी निगरानी हुन सकेको छैन। सम्बन्धित निकायको सक्रियता कमजोर रहेको तथा जनचेतनामूलक अभियान प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनीहरूको आरोप छ।

स्थानीय उर्मिलाल बिकका अनुसार रोल्पामा अझै पनि १८ वर्षभन्दा कम उमेरमा विवाह गर्नेको संख्या उल्लेख्य छ। उनले बालविवाह अन्त्यका लागि स्थानीय सरकार, अभिभावक तथा समुदाय सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए।

बालविवाहले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमा दीर्घकालीन असर पार्ने भएकाले यसको नियन्त्रणका लागि प्रभावकारी अभियान, कानुनी कार्यान्वयन र समुदायस्तरमा जनचेतना अभिवृद्धि आवश्यक देखिएको छ।