सार्वजनिक जग्गा संरक्षण गर्ने पोखरा महानगरपालिकाको अभियानलाई समर्थन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघले आफ्ना भौतिक संरचनाहरू हटाउन शुरु गरेको छ ।
महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न ३५ दिने सूचना जारी गरेपछि महासंघले पोखरा–९ स्थित सार्वजनिक जग्गामा बनेका भवनहरू आफैँले भत्काउन थालेको हो । अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमकाअनुसार सार्वजनिक जग्गाको संरक्षण हुनुपर्ने र कानुनको पालना आफैँबाट शुरु गर्नुपर्ने मान्यताका साथ यो कदम चालिएको हो । महासंघले आफ्नै उपकरण र जनशक्तिको प्रयोग गरी संरचनाहरू हटाउन थालेको छ । महानगरले दिएको ३५ दिने म्याद समाप्त हुनु अगावै महासंघले आफ्ना संरचनाहरू हटाएर उदाहरणीय कार्य प्रश्तुत गरेको छ । यसैबीच, महासंघले सार्वजनिक जग्गामा बनेको एउटा पक्की भवन भने नभत्काई पोखरा महानगरपालिकालाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ । हाल भाडाको घरबाट सञ्चालन भइरहेको पोखरा महानगरपालिका वडा नं. ९ को कार्यालय उक्त भवनमा सार्न उपयुक्त हुने महासंघको ठहर छ ।
उहाँले भन्नुभयो, ‘पोखराका विभिन्न सार्वजनिक जग्गामा थुप्रै सङ्घसंस्थाका भवनहरू बनेका छन्, ती सबै हट्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा थियो । महानगरको अभियानलाई पूर्ण रूपमा सहयोग पु¥याउन हामीले आफ्नै संरचनाबाट यसको शुरुवात गरेका हौँ ।’
सार्वजनिक जग्गामा रहेका अन्य सङ्घसंस्थाहरूलाई पनि आफ्ना संरचना हटाएर महानगरको अभियानमा सहयोग गर्न महासंघले आग्रह गरेको छ । –न्युज एजेन्सी नेपाल