नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो खेलमा हार व्यहोरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रवार भएको खेलमा नेपाल भारतसँग ३–२ को सेटमा हारबाट काभा महिला भलिबल च्याम्पियनसिपको शुरुवात गरेको हो । समूह ‘ए’ को खेलमा नेपालले पटकपटक चुनौती दिए पनि भारतलाई पार गर्न सकेन । यस समूहमा आयोजक नेपालसँगै भारत, किर्गिस्तान र माल्दिभ्स छन् । अब नेपालले समूहको दोस्रो खेल मे २३ तारिखमा हुनेछ ।
पहिलो सेट आफ्नो बनाउँदै नेपालले अग्रता लिएको थियो । पहिलो सेट नेपालको पक्षमा २५–२१ ले रह्यो । तर दोस्रो र तेस्रो सेटमा नेपालले खराब डिफेन्स प्रश्तुत ग¥यो । यसको फाइदा लिँदै खेलमा फर्कियो र लगातार दुई सेट पनि जित्यो । दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१९ ले आफ्नो बनाउँदै भारतले दबाब बनायो । सेटमा २–१ ले पछि परेसँगै घरेलुु समर्थक निरास भए । यद्यपि चौथो सेटमा नेपाली खेलाडी लयमा फर्किए । यो सेटमा डिफेन्स सुधार गर्दै नेपाली खेलाडीले जोशिलो प्रदर्शन गरे । यो सेट नेपाललाई २५–१९ ले आफ्नो बनाउँदै निर्णायक तथा पाँचौ सेटतर्फ धकेल्यो । यससँगै खेल २–२ को सेटमा पुग्यो । तर, पाँचौ सेट निकै निराशाजनक रह्यो । भारतले यो सेटमा १५–९ ले आफ्नो बनाउँदै च्याम्पियनसिपमा सुखद सुरुवात गर्यो ।
काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु समर्थकको बलियो साथमा च्याम्पियन हुने लक्ष्य राखेको छ । यद्यपि डिफेन्डिङ च्याम्पियनसँगको हारपछि हारपछि नेपाललाई धक्का लागेको छ ।
नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा काठमाडौंमा शुक्रवारदेखि शुरु च्याम्पियनसिप जेठ १५ गतेसम्म हुनेछ । आठ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको च्याम्पियनसिपको नेपाली टोलीमा युवा र नयाँ खेलाडीको बाहुल्यता छ । नियमित कप्तान अरुणा शाही विदेश पलायन भएपछि उनको स्थानमा निरुता ठगुन्नाले नेपालीको नेतृत्व गर्दैछिन् । तर निरुताको प्रदर्शन राम्रो हुन सकेन । यस संस्करणमा श्रीलंका, बंगलादेश, किर्गिस्तान, भारत, इरान, कजाखकिस्तान र माल्दिभ्सले चुनौती प्रस्तुत गर्नेछन् । समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशले प्रतिष्पर्धा गर्नेछन् । पहिलो दिन नै इरानले बंगलादेशलाई ३–० सोझो सेटमा हराउँदै सुखद् शुरुवात गरेको छ ।–न्युज एजेन्सी नेपाल