सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले मन्त्रालयअन्तर्गतका सबै कानूनहरुलाई समयानुकूल बनाउने गरी गृहकार्य भइरहेको बताउनुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले यस्तो बताउनुभएको हो । उहाँले खरिद प्रक्रियालाई समेत सरलीकृत गर्नेगरी काम अघि बढेको बताउनु भयो । उहाँले दर्ताविनै सञ्चालन भइरहेका ड्राइभिङ तथा राइड–शेयरिङ एपमाथि सरकारले निगरानी गरिरहेको समेत बताउनुभयो । सबै प्रकारका सवारी साधनलाई एपमार्फत व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा समेत अध्ययन भइरहेको मन्त्री तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले नेपालको डिजिटल ट्रान्सफर्मेशनलाई तिब्र बनाउन स्टार्टअप कम्पनीहरूको विकास आवश्यक रहेको पनि बताउनु भयो । उहाँले डिजिटल अर्थतन्त्र विस्तार र नवप्रवर्तन प्रवद्र्धन सरकारको प्राथमिकतामा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका कानूनहरु धेरै पुरना छन् । ती कानूनहरुलाई समयसापेक्ष कसरी बनाउन सकिन्छ भन्नेबारेमा हामीले काम गरिरहेका छौँ । अर्को कुरा खरिद प्रक्रियालाई कसरी सरलीकृत गर्ने भन्ने विषयमा समेत काम शुरु भइसकेको छ । अर्को ड्राइभिङ एपहरुको कुरा होला । दर्ता नगरिकन त्यस्ता एपहरु सञ्चालन हुन पाउने कुरा भएन । हामीले सबै प्रकारका सवारी साधन एपमार्फत सञ्चालन कसरी गर्न सकिन्छ भन्नेबारेमा पनि काम गरिरहेका छौँ । सरकारले नेपालको डिजिटल ट्रान्सफर्मेशन गर्ने हो भनेदेखि नेपालको स्टार्टअपलाई ग्रो गराउनुपर्छ भन्ने कुरामा दुई मत छैन । हामी त्यसमा पनि काम गर्छौँ । धेरै नागरिक जोडिएको नेपाल टेलिकमसम्बन्धी कामहरु हामीले गरेका छौँ । ती कामहरुको नतिजा पनि देखिा थालेको छ । जस्तै पे एज यू गो डिसएवल गर्न नसक्दाखेरी प्याकेज सकिएपछि पैसा सकिने समस्या समाधान भएको छ । जनतालाई डेलिभरी दिने बाहेक कुरामा सरकारको कुनै इन्ट्रेस्ट छैन ।’
उहाँले मन्त्रालयमार्फत सञ्चालित परियोजनाहरुको अध्ययन गर्ने कार्य समेत निरन्तर रुपमा भइरहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल