काठमाडौं महानगरद्वारा खेलकुदको विकासका लागि तीन ठूला प्रतियोगिता सञ्चालन गर्न सम्झौता

.

काठमाडौं महानगरपालिकाले खेलकुद विकास तथा प्रवद्र्धनका लागि विभिन्न संघसंस्थाहरुसँग प्रतियोगिता सञ्चालन गर्न सम्झौता गरेको छ ।
महानगरले बुधवार एक कार्यक्रमका बीच खेलकुदसम्बन्धी तीन ठूला प्रतियोगिता सञ्चालन गर्न सम्झौता गरेको हो । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोको उपस्थितिमा नेपाल पौडी संघ, काठमाडौँ जिल्ला ब्याडमिन्टन संघ र बागमती प्रदेश क्रिकेट संघसँग सम्झौता गरिएको हो । सम्झौताअनुसार नेपाल पौडी संघले महानगरपालिका मेयर कप पौडी प्रतियोगिता सञ्चालन गर्नेछ । काठमाडौं जिल्ला ब्याडमिन्टन संघले वडास्तरीय व्याटमिन्टन प्रतियोगिता सञ्चालन गर्ने तथा वागमती प्रदेश क्रिकेट संघले टी–२० पीएल सिंह कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्नेगरि सम्झौता भएको हो । महानगरका सामाजिक विकास समिति संयोजक रामकुमार केसीले महानगरभित्र लुकेका प्रतिभालाई पहिचान गरेर अगाडि ल्याउनुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँका अनुसार नेपालमा क्रिकेटसहित विभिन्न खेलको प्रदर्शन उत्साहजनक रहेको छ । महानगरपालिकाले गर्ने गतिविधिलाई देशभरबाट चासोका साथ हेर्ने भएकोले खेल क्षेत्रको विकासका लागी विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा हाल क्रिकेट लगायतका खेलहरुले राम्रो प्रदर्शन गरिरहेको छ । हामीले काठमाडौ महानगरपालिकाभित्र लुकेर बसेका खेल प्रतिभाहरुलाई खोजेर अगाडी बढाउनुपर्छ । महानगरपालिकाले सबै खेलहरुलाई प्रोत्साहनको लागी पुरस्कार समेत दिँदै आएका छौँ । नेपालभर नै महानगरले के गर्छ भनेर हेरिरहेको छ, हामीले काम अगाडी बढाएपछि नेपाल सरकारले खेलाडीलाई सम्मान गरेको छ ।’
महानगरपालिकाले स्थानीय तहबाटै खेलकुद संरचना बलियो बनाउँदै युवालाई खेलतर्फ आकर्षित गर्ने जनाएको छ । सोही लक्ष्यअनुसार आगामी दिनमा थप प्रतियोगिता र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ । –न्युज एजेन्सी नेपाल