नाइजेरियामा पछिल्लो एक वर्षको अवधिमा सुरक्षा फौजले सञ्चालन गरेको विभिन्न कारबाहीमा परी १३ हजारभन्दा बढी आतंककारी मारिएका छन् । नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले शुक्रवार लोकतन्त्र दिवसको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै विद्रोही र आपराधिक समूहहरू विरुद्धको कारबाहीलाई तिब्रता दिइएको जानकारी दिनुभएको हो । राष्ट्रपति टिनुबुका अनुसार नाइजेरियाली सुरक्षा फौजले प्रतिआतंकवाद अभियानलाई थप प्रभावकारी बनाउनुका साथै अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई समेत विस्तार गरेको छ । यसै क्रममा उत्तरपूर्वी राज्य बोर्नोमा गरिएको पछिल्लो सैन्य कारबाहीमा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्सको कमाण्ड सेन्टर पूर्ण रूपमा ध्वस्त पारिएको उहाँले बताउनु भयो ।
आतंकवाद विरुद्धको सरकारी प्रयासमा ठूलो सफलता मिलेको दाबी गर्दै राष्ट्रपति टिनुबुले सन् २०१५ यता आतंकवादसँग सम्बन्धित मृत्युको दरमा ८१ प्रतिशतले कमी आएको उल्लेख गर्नुभयो । उहाँकाअनुसार सन् २०२३ यता सरकारद्वारा सञ्चालित ’अपरेशन सेफ करिडोर’ कार्यक्रम अन्तर्गत १२४,००० भन्दा बढी सशस्त्र विद्रोही र उनीहरूका परिवारले आत्मसमर्पण गरिसकेका छन् ।
सरकारले सुरक्षा चुनौती समाधानका लागि सैन्य कारबाहीका अतिरिक्त गैर–सैन्य उपायहरू समेत अवलम्बन गर्ने प्रतिवद्धता दोहो¥याएको छ । मुलुकमा बढ्दै गएको आतंकवादी आक्रमण र अपहरणका घटनालाई मध्यनजर गर्दै राष्ट्रपति टिनुबुले राष्ट्रिय सुरक्षा संकट घोषणा गरी थप सुरक्षाकर्मी भर्ना गर्ने र सुरक्षा अभियानलाई सुदृढ बनाउने कार्यलाई प्राथमिकतामा राखेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।