नेकपा एमाले नेता प्रदीप ज्ञवालीले वर्तमान सरकारको विदेश नीतिमा देशभक्तहरु ढुक्क हुने परिस्थिति नरहेको बताउनुभएको छ ।
बुधवार काठमाडांैमा आयोजित एक कार्यक्रममा उहाँले परराष्ट्र नीतिका विषयमा सरकारका गतिविधिमाथि निरन्तर निगरानी आवश्यक रहेको बताउनुभएको हो । उहाँले कुटनीतिमा भनिएका सबै कुरा नगर्ने र गरिएका सबै कुरा नभन्ने हुँदा सरकारका कतिपय गतिविधिहरुले गर्दा देशभक्तहरू पूर्ण रूपमा ढुक्क हुन सक्ने अवस्था नरहेको बताउनु भयो । यद्यपि सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयास गरेको देखिएको उहाँको भनाई छ । विशेषगरी चीनको मनमा नेपालप्रति उत्पन्न भएका सन्देहहरू हटाउन सरकारले पहल गरेको देखिएको उहाँले बताउनु भयो । ज्ञवालीकाअनुसार जेन्जीको नाममा भएको प्रदर्शन, कथित ‘कलर रिभोल्युसन’, त्यसपछिको राजनीतिक घटनाक्रम, नेपाललाई आधार बनाएर सञ्चालन गरिएका ‘फ्री तिब्बत’ गतिविधि तथा पश्चिमी शक्तिहरूको बढ्दो सक्रियताले चीनमा नेपालप्रति आशंका पैदा गरेको थियो । सरकारले असंलग्न परराष्ट्र नीतिप्रति प्रतिवद्ध रहने, एक चीन नीतिबाट विचलित नहुने तथा कुनै रणनीतिक सैन्य गठबन्धनमा सहभागी नहुने प्रतिवद्धता जनाएको उल्लेख गर्दै उहाँले ती विषयमा असहमति जनाउनुपर्ने कारण नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले औपचारिक रुपमा हेर्दा दुवै छिमेकीसँग राम्रो सम्बन्ध कायम राख्न खोजेको देखिन्छ । चीनका मनमा रहेका सन्देहहरु, खासगरी भदौ २३ २४ गतेको जेन्जीको नाममा भएको प्रदर्शन र त्यसको नाममा भएको एक किसिमले तथाकथित कलर रिभोल्युसन, त्यसपछि मुलुकले लिएको प्रतिक्रान्तिको दिशा र नेपाललाई आधार बनाएर भइरहेका कतिपय फ्री तिब्बत गतिविधिहरु, पश्चिमा शक्तिहरुको अत्यधिक धेरै आवतजावत चलखेलहरु र त्यसले चीन सरकारको मनमा उत्पन्न गरेका सन्देहहरुलाई मेटाउने प्रयत्न गरेको देखिन्छ । उहाँले फर्मली भन्नुभएको कुरामा असहमति गर्नुपर्ने कारण छैन, हामी दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्छौँ । असंलग्न आन्दोलनबाट हामी दायाँ बायाँ हुँदैनौँ, एक चीन नीति भन्दा बाहिर जाँदैनौँ, हामी कुनै स्ट्रटेजिक अलायन्समा जाँदैनौँ । यी कुराहरुमा उहाँहरु इमानदार रहनुभयो भने यसलाई सकारात्मक भन्नुपर्छ । तर प्रश्न यही हो, डिप्लोमेसीमा भनेका कुराहरु गरिदैनन्, गरेका कुराहरु भनिदैनन् । त्यसैले निरन्तर वाच चाहीँ गरिराख्न जरुरी छ, यो सरकारका कतिपय फरेन पोलिसीहरुको बारेमा देशभक्तहरु ढुक्क हुन सक्ने परिस्थिति छैन ।’
ज्ञवालीले नेपालले दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले असंलग्न परराष्ट्र नीतिबाट दायाँ–बायाँ हुन कसैलाई छुट नभएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल