राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य पहिचान गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान संशोधन गर्नै नसकिने दस्तावेज नभएको तर संशोधनले मुलुकलाई सुदृढीकरणतर्फ लैजान्छ कि पश्चगमनतर्फ भन्ने विषय महत्वपूर्ण हुने बताउनु भयो । उहाँले पूर्वसांसद मञ्च अनुभव, ज्ञान र समृद्धिको फ्याक्ट्री भएको समेत बताउनु भयो । नेपालको राजनीतिक प्रक्रियालाई सही दिशामा अघि बढाउन पूर्वसांसद मञ्चले महत्वपूर्ण भुमिका खेल्नुपर्ने समेत बताउनु भयो । उहाँले राष्ट्रिय एकताको संरक्षण र प्रवद्र्धनलाई संस्थाको प्रमुख दायित्वका रूपमा उल्लेख गर्दै नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धिको संरक्षण, संवद्र्धन र सुदृढीकरणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पूर्वसांसद मञ्च, नेपाल अनुभवको, ज्ञानको, समृद्धिको एउटा फ्याक्ट्री हो । कसैले यसलाई अपमान गरेर, मिनिमाइज गरेर त्यस्तो भैहाल्ने संस्था होइन । अहिले पछिल्लो समय त यसमा नयाँ सदस्य थपिनको लागि दुई वर्ष पनि लाग्दैन । तर हरेक ५ वर्षमा नयाँ अनुहार आउने र भर्ना हुने तथा नेपालको सम्पूर्ण राजनीतिक प्रक्रियालाई एउटा सही दिशातिर लैजाने उद्योग हो, फ्याक्ट्री हो । यसलाई गन्तव्यमा पु¥याउने जिम्मेवारीमा अहिले हामी छौँ । यो संस्थाको लागि देशको एकता राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी पनि छन् । सबैभन्दा मुख्य कुरा भनेको राष्ट्रिय एकता नै हो । एकता कायम गरिसकेपछि नेपाली जनताले वर्षौँ संघर्ष गरेर प्राप्त गरेका उपलब्धिहरुको संरक्षण, संवद्र्धन र त्यसको सुदृढीकरण गर्नुपर्ने आवश्यकता पनि छ। संविधान संशोधन हुँदै नहुने दस्तावेज होइन । त्यो संशोधनले देशलाई सुदृढतातिर लैजान्छ की पश्चगमनतिर लैजान्छ, त्यसको नियत पहिला खुट्याउन जरुरी छ ।’
उहाँले लोकतान्त्रिक व्यवस्था र संविधान नेपाली जनताको लामो संघर्षपछि प्राप्त उपलब्धी भएको उल्लेख गर्दै संविधान र व्यवस्थाको रक्षाका लागि सबै सहज हुनुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल