देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै बुधवार र बिहीवार देशभरको मौसम थप प्रतिकूल रहने अनुमान गरिएको छ ।
बंगालको खाडी क्षेत्रमा विकसित न्युनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढिरहेको कारण मनसुनी गतिविधि थप सशक्त बनेको र वर्षाको मात्रा बढ्ने अवस्था सिर्जना भएको मौसमविद्हरुले बताएका छन् । मनसुनजन्य विपद्को सम्भावित घटनाको जोखिम कम गर्न तथा प्रतिकार्यको लागि सरकारका संयन्त्रहरु सक्रियताका साथ काम गरिरहेका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले विपद्को समयमा तत्काल उद्धार टोली पुग्न समस्या हुने अति संवेदनशील र जोखिमयुक्त स्थानहरूको पहिचान गरी देशका ५४ स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य वेस’ स्थापना गरेको सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका प्रवक्ता नेत्रबहादुर कार्कीले बताउनु भयो । उहाँकाअनुसार वर्षाजन्य विपद् हुने १६ वटा अति जोखिमयुक्त स्थानहरूमा जनशक्ति र स्रोतसाधनसहितका विपद् व्यवस्थापनका लागि स्थायी वेसहरू स्थापना गरिएको बताउनु भयो । साथै विपद्पछिको उद्धार तथा राहतका लागि गोताखोरसहितको टोलीलाई आवश्यक उपकरणसहित देशभरका जोखिमयुक्त स्थानमा खटाइएको कार्कीले बताउनु भयो । विपद् प्रतिकार्य एवं व्यवस्थापनका लागि तीन वटै तहका सरकार एवं राज्यका सबै संयन्त्रहरुबीच प्रभावकारी रुपमा सहकार्य भइरहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मनसुनजन्य विपद् व्यवस्थापनको लागि सशस्त्र प्रहरी बल नेपाल सधैं तयारी अवस्थामै रहन्छ । यस वर्षको मनसुनलाई लक्षित गरेर हामीले देशका विभिन्न ५४ वटा स्थानमा मनसुन प्रतिकार्य बेसहरु स्थापना गरेका छौँ । स्थायी प्रकृतिका विपद् व्यवस्थापनका लागि १६ पहिलेदेखि नै तयारी अवस्थामा छन् । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि हामीले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसँग समेत समन्वय भइरहेको छ । त्यसैगरी, मनसुनजन्य विपदको व्यवस्थापनको लागि तथा जोखिम न्यूनिकरण गर्न राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्र, प्रादेशिक आपतकालीन कार्य संचालन केन्द्रहरु रहेका छन् । प्रत्येक जिल्लामा समेत विपद् व्यवस्थापन समितिहरु रहेका छन् । यी सबै निकायहरुसँग समन्वय र सहकार्य गर्नको लागि सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरु २४ सै घण्टा खटिनुभएको छ । उहाँहरुमार्फत जुनसुकै प्रकारको सूचनाहरु आएपनि तत्काल सशस्त्र प्रहरी बल नेपालको नजिकको युनिटबाट खटाउने गरेर हामीहरुले व्यवस्थापन मिलाएका छौँ ।’

विपद् व्यवस्थापनको लागि प्रविधिमा आधारित सूचना प्रणाली
विपद्सम्बन्धी सूचना प्राप्त गर्ने उद्देश्यले सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत समुदायबाट प्राप्त सूचना बाहिनी तहको अपरेसनल रुममा तत्काल पुग्ने र उद्धार टोली परिचालन हुने व्यवस्था मिलाइएको सूचना अधिकारी कार्कीले बताउनु भयो । उक्त प्रणालीमा रहेको विपद्को कुनैपनि प्रकारमा थिच्ने बित्तिकै लोकेसनसहित सूचना प्राप्त हुने र नजिकको बाहिनीमा कार्यरत कर्मचारी आउने उहाँको भनाइ छ । कार्कीले जोखिममा परेका नागरिकका लागि केन्द्र तथा प्रत्येक बाहिनीमा १११४ हटलाइन सेवा सञ्चालनमा ल्याइएको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मनसुनजन्य विपद् व्यवस्थापनको लागि सशस्त्र प्रहरी बल नेपाल सधैं तयारी अवस्थामै रहन्छ । यस वर्षको मनसुनलाई लक्षित गरेर हामीले देशका विभिन्न ५४ वटा स्थानमा मनसुन प्रतिकार्य बेसहरु स्थापना गरेका छौँ । स्थायी प्रकृतिका विपद् व्यवस्थापनका लागि १६ पहिलेदेखि नै तयारी अवस्थामा छन् । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि हामीले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणसँग समेत समन्वय भइरहेको छ । त्यसैगरी, मनसुनजन्य विपदको व्यवस्थापनको लागि तथा जोखिम न्युनिकरण गर्न राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्र, प्रादेशिक आपतकालीन कार्य संचालन केन्द्रहरु रहेका छन् । प्रत्येक जिल्लामा समेत विपद् व्यवस्थापन समितिहरु रहेका छन् । यी सबै निकायहरुसँग समन्वय र सहकार्य गर्नको लागि सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरु २४सै घण्टा खटिनुभएको छ । उहाँहरुमार्फत जुनसुकै प्रकारको सूचनाहरु आएपनि तत्काल सशस्त्र प्रहरी बल नेपालको नजिकको युनिटबाट खटाउने गरेर हामीहरुले व्यवस्थापन मिलाएका छौँ । जोखिममा परेका नागरिकको सम्पर्कको लागि केन्द्रमा र प्रत्येक बाहिनीमा १११४ नम्बरको हटलाइन समेत स्थापना गरेका छौँ । अर्को, महत्वपूर्ण विषय भनेको सशस्त्र प्रहरी बल नेपालको एपमा समेत कम्युनिटी अलर्ट सिस्टम छ । उक्त कम्युनिटी अलर्ट सिस्टममा विपद्जन्य घटनाबारे जानकारी दिने व्यवस्था मिलाएका छौँ । नागरिकले त्यो जानकारी दिने बित्तिकै एपिएफको नजिकको बाहिनीमा त्यो सूचना पुग्छ । त्यहाँ भएका सबै कर्मचारी साथिहरु आएर नागरिकलाई सहयोग गर्न सक्नुहुनेछ । सशस्त्र प्रहरी बल नेपालको तर्फबाट हामीले सशस्त्र प्रहरी बल मनसुनजन्य प्रतिकार्यका लागि पूर्ण रुपमा तयार छ । यहाँहरुलाई जस्तोसुकै आपतविपत आइपरे पनि खबर हुनासाथ सशस्त्र प्रहरी तत्काल खटिने गरेर हामी हर हमेशा तयारी हालतमा छौँ ।’
मनसुनजन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ कार्यान्वयनलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।
‘एकीकृत बस्ती नहुँदा विपद् व्यवस्थापन चूनौतीपूर्ण’
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद् व्यवस्थापन र प्रतिकार्यका लागि राज्यका सबै संयन्त्रहरु सक्रिय बनाइएको बताउनु भयो । उहाँले विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, प्रविधि र उपकरण विगतको तुलनामा थप व्यवस्थित गरिएको दाबी गर्नुभयो । सांसद गजुरेलले नेपालको छरिएको बस्ती संरचना र सिमित स्रोत–साधनका कारण विपद् प्रतिकार्य र व्यवस्थापनको कार्य चुनौतीपूर्ण रहेको पनि बताउनु भयो । उहाँले पहाडी क्षेत्रमा घरहरू छरिएर रहेको तथा तराईमा समेत बस्ती एकीकृत नहुँदा विपद्का बेला प्रत्येक घरसम्म राज्यको पहुँच पु¥याउन चुनौती हुने गरेको छ । यी कुराहरुमा सरकारले क्रमशः सुधार गर्दै लगिरहेको उहाँको भनाइ छ ।
सांसद गजुरेलले भन्नुभयो, ‘विपद् जोखिम न्युनिकरणको लागि हामीले जति नै पूर्ण रुपमा तयारी गरेका छौँ भने पनि त्यो तयारी पूर्ण छैन । ७७ वटा जिल्ला छ, भूगोल पनि ठूलो छ र धेरै पहाडी भूगोल छ, धेरै खोला नालाहरु छन् । पहाडी भेगमा पनि बस्ती त्यत्तिकै छ, सडक त्यत्तिकै छ । तराईमा पनि डुबान हुने, बाढी आउने त्यत्तिकै सम्भावना छ । नेपालको तराईं क्षेत्रमा खोलाका किनारमा बस्ती धेरै छन् । अर्को कुरा, हाम्रो बस्तीहरु एकीकृत रुपमा छैन । पहाडी भेगको कुरा गर्दाखेरी एउटा घर एउटा टुप्पोमा छ भने अर्को घर अर्को टुप्पोमा छ । तराईमा समेत एकै ठाउँमा बस्ती नभएर छरिएर बसेको कारण राज्यले जति प्रभावकारी रुपले काम गर्छु भन्दाखेरि पनि एक–एक घरमा गएर व्यवस्थापन गर्नको लागि ठुलै चाहिँ चुनौती छ । तर पनि विगतको भन्दा अहिले सुधार भएको छ । यद्धपी अझै पवनि हामी पूर्ण रुपमा प्रविधि मैत्री भइसकेका छैनौँ । पूर्ण रुपमा हामीसँग जनशक्ति पनि तयार छैन, पूर्ण रुपमा हामीलाई चाहिने जुन इक्विपमेन्टहरु समेत तयारी अवस्थामा छौँ । यी कुराहरुलाई अगामी दिनमा हाम िथप व्यवस्थित गर्दै लैजान्छौँ ।’
‘विपद् प्रतिकार्यको लागि स्थानीय तहलाई सक्रिय बनाउनुपर्छ’
सांसद गजुरेलले विपद् व्यवस्थापनको अग्रपङ्क्तिमा रहेर काम गर्ने निकाय स्थानीय तह भएको बताउनु भयो । उहाँले विपद् व्यवस्थापन र प्रतिकार्यका लागि स्थानीय सरकारलाई पर्याप्त स्रोत र साधनयुक्त बनाउनुपर्ने बताउनु भयो । केही स्थानीय तहले विपद् व्यवस्थापनको लागि बजेट समेत विनियोजन गर्ने नगरेको भन्दै उहाँले यस विषयमा संघीय सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी जोखिममा रहेका बस्तीलाई अस्थायी रूपमा स्थानान्तरण गर्ने तथा प्रभावित नागरिकलाई सुरक्षित आश्रयस्थलमा राख्ने व्यवस्था गर्नुपर्ने सांसद गजुरेलको भनाइ छ । सांसद गजुरेलले अधिकांश राजमार्ग नदी किनार र पहिरो जोखिमयुक्त क्षेत्रमा निर्माण भएकाले वर्षायाममा सडक दुर्घटनाको जोखिम उच्च रहेको बताउनु भयो । उहाँले जोखिमयुक्त सडकका ‘ब्ल्याक स्पट’ पहिचान गरी सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले सिमलताल बस दुर्घटना र झ्याप्ले खोला क्षेत्रमा भएका दुर्घटनाको उदाहरण दिँदै पूर्वसूचना र जोखिम चेतावनीको बेवास्ता गर्दा ठूलो क्षति हुने गरेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले मुख्यतः जिल्ला–जिल्लामा स्थानीय प्रशासन (सिडिओ कार्यालय) विपद व्यवस्थापनको सम्बन्धमा मिटिङ गरिरहेको देखिरहेको हुन्छु । स्थानीय तह मूलभूत रुपमा फिल्ढमै हुने भएको कारण उसको काम प्रभावकारी देखिन्छ । यद्यपि स्थानीय तहमा समेत विपद् व्यवस्थापनको लागि स्रोत साधनले कमी छ । विपद् व्यवस्थापनको लागि स्थानीय तहहरुले लगानी गरेको पनि देखिँदैन । त्यसकारण विपद् व्यवस्थापनको लागि संघीय सरकारको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर विपद्को जोखिममा रहेका बस्तीहरु केही समयको लागि भएपनि स्थानान्तरण गर्ने, जोखिममा रहेका नागरिकहरुलाई सेल्टरमा राख्ने कार्य गर्नुपर्छ । अधिकांश सडकहरु खोला किनारमा बनेका छन् । भीर पाखाबाट बीचमा सडक भएको कारण त्यहाँ पहिरो जाने जोखिम पनि त्यत्तिकै छ । बाढी आउने सम्भावना पनि त्यत्तिकै हुन्छ । एकै दिनमा धेरै नागरिकले यात्रा गर्नुहुने भएको कारणले जोखिम धेरै नै छ । विपद्बाट हुने सडक दुर्घटना न्युनिकरणका लागि हामीले ब्ल्याक स्पटहरु कहाँ, कहाँ छन् भनेर पहिचान गरिसकेका छैनौँ । पहिचान गरिसकेका खतराजन्य सडकमा हामीले ध्यान पु¥याउन जरुरी छ । झ्याप्ले खोला र सिमलतालमा गाडी खसेको जुन दुर्घटनाहरु छन्, यसमा पूर्वसूचना र जोखिमको चेतावनीलाई नमानेको कारण भएको इतिहास पनि हामीसँग छ । अब यस्तो दोहोरिँदैन । त्यसको लागि चाहीँ फेरि समन्वयकै खाँचो छ । तीन तहको सरकार सरोकारवाला सबैबीच समन्वय हुन सक्यो भने केही हदसम्म क्षति न्यूनीकरण हुनेछ ।’
सरकारले विगतका वर्षहरुमा विपद्पछिको उद्धारमा भएका कमजोरीको अनुभवको आधारमा चनाखोका साथ काम गरिरहेको सांसद गजुरेलको भनाइ छ ।
मनसुनजन्य विपद् व्यवस्थापनका लागि नेपाली सेनाको तीन चरणको तयारी
मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले तीन चरणको विशेष पूर्वतयारी कार्ययोजना अघि सारेको छ । सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्युनिकरण र तत्काल उद्धारका लागि सेनाले जनशक्ति र स्रोतसाधनलाई उच्च शतर्कताका साथ परिचालन गरेको हो । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतकाअनुसार पहिलो चरण अन्तर्गत पूर्वतयारी र योजना निर्माणको कार्य सम्पन्न भएको छ । यस क्रममा विगतका विपद्का घटनाहरूको गहन अध्ययन र अनुसन्धान गरी विद्यमान योजनालाई परिमार्जन गरिएको छ । जङ्गी अड्डादेखि तल्लो तहका इकाइहरूसम्म ’हातेमालो’ लगायतका विभिन्न संयुक्त अभ्यासहरू सञ्चालन गरी फौजलाई तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।

दोस्रो चरण अन्तर्गत स्रोतसाधनसहितको ‘पूर्व तैनाथी’ लाई तिब्रता दिइएको छ । यस अन्तर्गत गण र गुल्म तहमा तत्काल परिचालन हुनसक्ने गरी फौज तैनाथ गरिएको छ भने पृतना तहमा राहत सामग्रीसहितको ‘कम्पोजिट सर्च एण्ड रेस्क्यु’ टोली तयारी अवस्थामा राखिएको छ ।
बाढी र पहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै धादिङको गजुरी, चितवनको भरतपुर र बारामा ‘बेली ब्रिज’ हरू स्ट्यान्डबाइ राखिएका छन् । काठमाडौंमा यान्त्रिक पुलहरू र आपत्कालीन चिकित्सा सुविधाका लागि इमर्जेन्सी मेडिकल किटसहितका फिल्ड अस्पतालहरू समेत तयारी हालतमा राखिएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।
हवाई उद्धारका लागि सेनाले विशेष तयारी गरेको छ । इटहरी र सुर्खेतमा हेलिकप्टरहरू पूर्व तैनाथ गरिसकिएको छ भने मौसमको अवस्था हेरी तत्काल परिचालन हुनेगरी काठमाडौंमा थप दुईवटा हेलिकप्टर तयारी अवस्थामा छन् । विमानस्थलहरूमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ । हालै बागमती ड्याममा हवाई उद्धार सम्बन्धी विशेष अभ्यास समेत सम्पन्न गरिएको छ ।

उहाँले भन्नुभयो, ‘यो मनसुनपूर्व तयारीका सन्दर्भमा नेपाली सेनाले तीन चरणमा आवश्यक तयारी गरेको छ । पहिलो चरणमा पूर्वतयारी र योजनासँग सम्बन्धित छ । विगतका विपद्का घटनाहरूको अध्ययन तथा विश्लेषण गरी हामीले आफ्ना योजनाहरू अद्यावधिक गरिसकेका छौँ । त्यसैगरी, जङ्गी अड्डादेखि तल्लो तहसम्म संयुक्त रूपमा अभ्यास, हातेमालो तथा अन्य विभिन्न अभ्यासहरू सञ्चालन गरी आवश्यक तयारी पूरा गरेका छौँ । दोस्रो चरणमा स्रोत–साधनसहितको पूर्वतैनाथीसँग सम्बन्धित छ । यसअन्तर्गत गण–गुल्म तहमा तुरुन्त परिचालन हुनसक्ने फौज तयारी अवस्थामा राखिएको छ । त्यसैगरी, पृतना तहमा कम्पोजिट सर्च एन्ड रेस्क्यु टोली तत्काल उद्धार तथा राहत सामग्रीसहित तयारी अवस्थामा रहेको छ । बाढी र पहिरोका कारण पुलहरूमा हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नेपाली सेनाले धादिङको गजुरी, चितवनको भरतपुर र बारामा गरी तीन स्थानमा बेली ब्रिज स्ट्यान्डबाइ अवस्थामा राखेको छ । साथै, यान्त्रिक पुलहरू तत्काल परिचालन गर्न सकिने गरी काठमाडौंमा तयारी अवस्थामा राखिएका छन् । इमर्जेन्सी मेडिकल किटसहितका फिल्ड अस्पतालहरू पनि तयारी अवस्थामा रहेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि तत्काल परिचालन गर्न सकिने कम्पोजिट सर्च एन्ड रेस्क्यु टोली तयारी अवस्थामा रहेको छ । यसका लागि हालै बागमती ड्याम क्षेत्रमा हवाई उद्धारसम्बन्धी अभ्याससमेत सञ्चालन गरिएको थियो । हेलिकप्टर परिचालनको हकमा नेपाली सेनाले इटहरी र सुर्खेतमा दुई स्थानमा हेलिकप्टर पूर्वतैनाथी गरिसकेको छ । साथै, मौसम पूर्वानुमानका आधारमा थप दुईवटा हेलिकप्टर तत्काल परिचालन गर्न सकिने गरी काठमाडौंमा तयारी अवस्थामा राखिएको छ । तेस्रो चरणमा विपद् प्रतिकार्य तथा पृष्ठपोषणसँग सम्बन्धित छ । यसअन्तर्गत हामीले सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गरी स्वयंसेवकहरू तयार गरेका छौं। ती स्वयंसेवकहरू तथा सम्बन्धित निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने दिशामा नेपाली सेना प्रतिवद्ध छ । साथै, प्रत्येक विपद्बाट पाठ सिक्दै आगामी दिनमा विपद् प्रतिकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजानेछौं भन्ने जानकारी पनि गराउन चाहन्छु । आम जनसमुदायलाई नेपाल सरकारबाट जारी हुने मौसम पूर्वानुमानलाई गम्भीरतापूर्वक पालना गर्न हार्दिक अनुरोध गर्दछु । साथै, विपद्का घटना भएमा स्थानीय विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति तथा नजिकको प्रहरी इकाईलाई यथाशीघ्र जानकारी गराइदिनुहुन अनुरोध गर्दछु । आवश्यक परे नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयलाई पनि जुनसुकै समयमा जानकारी गराउन सक्नुहुन्छ भन्ने जानकारी गराउन चाहन्छु ।’
तेस्रो चरणमा विपद् प्रतिकार्य र पृष्ठपोषणलाई प्राथमिकता दिइएको छ । सेनाले सामुदायिक विपद् प्रतिकार्य तालिममार्फत स्थानीय स्वयंसेवकहरू तयार गरेको छ । अन्य संवद्ध निकायहरूसँगको समन्वय र सहकार्यमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने सेनाको लक्ष्य छ । विगतका अनुभवहरूबाट पाठ सिक्दै आगामी दिनमा रणनीतिक सुधार गरिने समेत सेनाले प्रतिवद्धता जनाएको छ ।
यसैबीच, नेपाली सेनाले आम सर्वसाधारणलाई नेपाल सरकारद्वारा जारी हुने मौसम पूर्वानुमानलाई नियमित रूपमा अनुशरण गर्न अनुरोध गरेको छ । विपद्का घटना भए तत्काल स्थानीय वा जिल्ला विपद् व्यवस्थापन समिति, नजिकको प्रहरी युनिट वा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमा जानकारी गराउन समेत प्रवक्ता बस्नेतले अपिल गरेका छन् । –न्युज एजेन्सी नेपाल