नेपालले पाकिस्तानमा हुने काभा मेन्स भलिबल च्याम्पियनसिप सुखद् प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
पाकिस्तान भलिबल फेडेरेसनको आयोजनामा आगामी जुलाई २२ देखि २९ तारिखसम्म इस्लामाबादमा हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालसहित ६ वटा राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् । अन्तिम समयमा भारत र उब्जेकिस्तानले नाम फिर्ता लिएपछि ६ वटा राष्ट्रले खेल्न लागेको हुन् । जगदीशप्रसाद भट्टको ४० दिनको प्रशिक्षणमा नेपाली टोलीले इस्लामाबादमा सुखद प्रदर्शन गर्ने अपेक्षा गरेको छ । यस प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र काजखस्तानले प्रतिष्पर्धा गर्नेछन् । आईतवार एक कार्यक्रमका बीच नेपाल भलिबल संघले नेपाली टोलीको बिदाइ ग¥यो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बिदाई गरे । उक्त च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले हरिहजुर थापा (सेटर) को कप्तानीमा १२ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ । नेपाली टोलीमा सुनिल बोहोरा, पहल गहतराज, सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नुपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, दीपेश कुँवर (सेटर) र विनोद चन्द (लिबेरो) छन् । नेपालले च्याम्पियनसिपमा मध्य तथा दक्षिण एशियाका बलिया टोलीविरुद्ध प्रतिष्पर्धा गर्नेछ । प्रतियोगितालाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका रूपमा समेत हेरिएको छ । नेपालले उपाधि जित्ने लक्ष्यका साथ अनुभवी तथा युवा खेलाडीको संयोजनमा टोली तयार गरेको छ । यो एफआइभिबीको विश्व वरियता प्राप्त च्याम्पियनसिप रहेको संघले जनाएको छ ।–न्युज एजेन्सी नेपाल
अनुप प्रधान/ न्युज एजेन्सी नेपाल



















