मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयारः निर्यात व्यवसायी महासंघ

.

निर्यात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष देवानन्द सरावगीले मुलुकमा आर्थिक क्रान्तिको समय आएको बताउँदै निजी क्षेत्र ठूलो लगानीका लागि तयार रहेको बताउनुभएको छ ।
बैंकहरूमा पर्याप्त तरलता रहेको वर्तमान अवस्थामा उद्यमीहरूले उत्साहका साथ लगानी बढाउनुपर्ने र यसले रोजगारी सिर्जना तथा राजस्व वृद्धिमा प्रत्यक्ष योगदान पुग्ने उहाँको भनाइ छ । प्रधानमन्त्रीसँग सरकारले लक्ष्य राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर (जीडीपी) हासिल गर्न निजी क्षेत्रको लगानी अपरिहार्य रहेको र यसका लागि व्यवसायीहरूले आफूलाई तयार गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयको फेरिएको कार्यशैली र सक्रियताप्रति सकारात्मक संकेत गर्दै उपाध्यक्ष सरावगीले विगतमा प्रधानमन्त्री कार्यालयसँग समन्वय गर्न कठिन रहेको र सम्पर्क भएपनि समय नपाइने र समय पाइहाले पनि निर्णयहरू कार्यान्वयन नहुने अवस्था रहेको बताउनु भयो । तर अहिले प्रधानमन्त्री स्वयंले व्यवसायीका कुरा सुन्ने, प्रतिप्रश्न गर्ने र समस्या समाधानका लागि तत्काल कदम चाल्ने गर्नुभएको बताउनु भयो । प्रधानमन्त्रीको सक्रियता र निजी क्षेत्रका समस्याप्रति देखाएको चासोले उद्यमीहरूमा नयाँ उत्साह थपेको महासंघले जनाएको छ ।
उहाँले भन्नुभयो, ‘अब देशमा आर्थिक रूपान्तरणको समय आएको छ । हामीले लगानी बढाउनैपर्छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा उद्यमीहरू पनि उत्साहका साथ लगानीमा अघि बढ्नुपर्ने बेला आएको छ । लगानीमार्फत रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि गर्ने र देशले लक्ष्य राखेको करिव ७ प्रतिशत आर्थिक वृद्धि (जीडीपी) हासिल गर्ने दिशामा यो एउटा महत्त्वपूर्ण प्रारम्भिक कदम हो । त्यसका लागि हामी आफूलाई तयार गरिरहेका छौँ । आजको पहल त्यसैको सकारात्मक संकेत हो र यसबाट हामी उत्साहित भएका छौँ । विगतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्पर्क गर्न कठिन हुन्थ्यो । सम्पर्क भएपनि समय पाउन गाह्रो हुन्थ्यो, र समय पाएर आफ्ना कुरा राख्दा पनि ती कार्यान्वयनमा जान नसक्ने अवस्था थियो । तर अहिलेको अवस्था फरक छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नै हामीलाई सम्पर्क हुनु, सम्माननीय प्रधानमन्त्री स्वयंले हाम्रा कुरा सुन्नु, प्रतिप्रश्न गरेर विषयलाई स्पष्ट बुझ्नु र त्यसपछि तत्काल कार्यान्वयनको प्रक्रिया अघि बढाउनु अत्यन्त सकारात्मक संकेत हो । तत्काल समाधान गर्नुपर्ने समस्याको समाधान त्यहीँबाट खोज्ने प्रयास भइरहेको देखिएको छ । यद्यपि, केही क्षेत्रका प्रतिनिधित्व अझै हुन बाँकी छन् । उदाहरणका लागि, निर्यात व्यवसायी महासंघ र कृषि क्षेत्रका प्रतिनिधिहरू यस छलफलमा सहभागी हुन सकेका छैनन् । हामीले उहाँहरूलाई पनि सहभागी गराउन आग्रह गरेका छौँ र उहाँहरूलाई पनि बोलाइने जानकारी पाएका छौँ । त्यसपछि थप विषयहरू पनि प्रश्तुत गर्नेछौँ । आज साथीहरूले उठाएका धेरैजसो साझा मुद्दाहरूमा सरकार सक्रियतापूर्वक अघि बढेको देखिएकाले हामी थप आशावादी भएका छौँ ।’
कृषि र निर्यातजन्य क्षेत्रका समस्याहरू समाधान गर्न सरकार सकारात्मक देखिएको र व्यवसायीहरूले आफ्ना साझा समस्याहरू सरकारसमक्ष राखेको सरावगीले बताउनु भयो । छुटेका निर्यातजन्य क्षेत्रहरूलाई समेत समेटेर आगामी दिनमा सरकारसँग थप छलफल गरिने र सरकारको हालको कार्यशैलीले आर्थिक सुधारमा महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास महासंघले व्यक्त गरेको छ । –न्युज एजेन्सी नेपाल