भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता

.

राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५२ औं जन्मजयन्तीको अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान अर्पण गर्नुभएको छ ।
शनिवार काठमाडौंको धरहरा परिसरमा प्रधानसेनापति सिग्देलले उहाँको तस्बिरमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरी सम्मान प्रकट गर्नुभएको हो । सोही अवसरमा नेपाली सेनाको श्री रणभैरव गणबाट सम्मान सलामी अर्पण गरिएको थियो । स्मृति सभा तथा सम्मान अर्पण समारोहमा बोल्दै भीमसेना थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पृथ्वीश्वरप्रसाद तिमिल्सिनाले भीमसेन थापाको कार्यकालमा भएका प्रशासनिक सुधार, परराष्ट्र नीति र सामाजिक गतिविधिहरूलाई अभिलेखवद्ध गर्ने उद्देश्यले पुस्तकहरू तयार पारिएको बताउनु भयो । प्रा.डा. तिमिल्सिनाले ती कृतिहरू नेपाली सेना र नीति निर्माताहरूका लागि विशेष महत्वपूर्ण हुनसक्ने उल्लेख गर्नुभयो । प्रतिष्ठानले हालसम्म तीनवटा भाग प्रकाशित गरिसकेको र आगामी वर्षहरूमा अन्य थप डकुमेन्टहरू पनि सार्वजनिक गर्दै जाने लक्ष्य राखेको छ । विशेषगरी युवा पुस्ता र अध्येताहरूका लागि यी सामग्रीहरू ज्ञानको महत्वपूर्ण स्रोत हुने विश्वास व्यक्त गरिएको छ । भीमसेन थापाको योगदानलाई जीवन्त राख्न र ऐतिहासिक तथ्यहरूलाई संस्थागत गर्न प्रतिष्ठान सक्रिय रूपमा लागिपरेको तिमिल्सिनाले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘यी दस्तावेजहरूले तत्कालीन नेपालको रक्षा नीति, कुटनीतिक अभ्यास र सामाजिक संस्कार बुझ्न ठूलो सहयोग पु¥याउनेछन् । कुनै अध्ययन समिति बनाएर यसको विस्तृत विश्लेषण गरिएमा देशको परराष्ट्र र रक्षा नीति निर्माणमा समेत ठोस योगदान पुग्न सक्छ ।’
प्रा.डा. बुद्धिबहादुर थापाले नेपालको अस्तित्व र राष्ट्रिय स्वाभिमान रक्षाका लागि भीमसेन थापालगायत सम्पूर्ण राष्ट्रिय विभूतिहरूले पु¥याएको योगदान अतुलनीय रहेको बताउनु भयो । उहाँले पूर्खाहरूले देशका निम्ति बगाएको रगत र दिएको बलिदानबाट प्रेरणा लिँदै नेपालको स्वाभिमानलाई अक्षुण्ण राख्न आगामी पुस्ता सधैँ प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आपसी एकता र विकासका लागि सबैलाई हातेमालो गर्न समेत आह्वान गर्नुभयो ।
डा. थापाले भन्नुभयो, ‘नेपाल आमाको अस्तित्व र स्वाभिमान जोगाउन भीमसेन थापालगायतका विभूतिहरूले दिनुभएको योगदान र बलिदानबाट हामी प्रेरित हुनुपर्दछ । उहाँहरूको पदचाप पछ्याउँदै देशको गौरव बढाउनु हाम्रो कर्तव्य हो ।’
कार्यक्रममा बोल्दै बाबुराम सिंह थापाले वर्तमान समयमा राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले इतिहासका विभिन्न कालखण्डमा देशभक्त र देशद्रोही गरी दुईवटा धार देखिने गरेको उल्लेख गर्दै अहिलेको परिस्थितिमा देशभक्तिको धार रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । उहाँले देशभक्तहरूले जस्तोसुकै कठिन परिस्थिति र यन्त्रणा सहेर पनि राष्ट्रका लागि लडिरहने बताउनु भयो । थापाले अबको समयमा कुनै निश्चित वंश वा जातिका आधारमा नभई सम्पूर्ण देशभक्त नेपालीहरू एकै ठाउँमा उभिएर देश जोगाउनुपर्नेमा जोड दिनुभयो ।
थापाले भन्नुभयो, ‘मुलुकको इतिहासमा भीमसेन थापा, पृथ्वीनारायण शाह, कालु पाँडे, काजी शिवराम सिंह बस्न्यात, बहादुर शाह र बडाकाजी अमरसिंह थापा जस्ता महापुरुषहरूले आफ्नो बलिदान दिएर देशको अस्तित्व थामेका हुन् । वर्तमानमा देशद्रोही तत्वहरूको सक्रियता बढ्दा राष्ट्रले संकट व्यहोर्नुपरेको छ ।’
विश्व राजनीतिको बदलिँदो र जटिल परिस्थितिका कारण नेपाल जस्ता साना राष्ट्रहरूको अस्तित्वमाथि नै चुनौती थपिएको चर्चा गर्दै उहाँले यस्तो विषम परिस्थितिमा सबै देशभक्त नागरिकहरू अग्रसर हुनुको विकल्प नरहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल