वागमती प्रदेशकी भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझीले समस्याग्रस्त सहकारी र ठिक ढंगले चलिरहेका सहकारीहरुलाई एउटै दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा वागमती प्रदेश वचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन) को ७ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समस्याग्रस्त सहकारीमा देखिएका समस्या समाधान तथा व्यवस्थापन गर्न वागमती प्रोस्कुनले भुमिका खेल्नुपर्ने समेत बताउनु भयो । उहाँले प्रदेशमा रहेका सहकारीमा देखिएका समस्या समाधान र व्यवस्थापन गर्न सहकारी ऐन संशोधनको चरण रहेको समेत उल्लेख गर्नुभयो । उहाँले संशोधन प्रश्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेको उल्लेख गर्दै छिट्टै प्रदेश सभाबाट पारित हुने विश्वास समेत व्यक्त गर्नुभयो । पूर्वसहकारीमन्त्री समेत रहेकी रायमाझीले संघीय सहकारी ऐनसँग बाझिएका वा संशोधन गर्नुपर्ने विषय पहिचान गरी समायोजनका लागि सिफारिस भइसकेको समेत जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले सहकारी ऐन संशोधन कुरा गरिरहेको थिएँ । उक्त संशोधन प्रश्ताव मन्त्रिपरिषद्बाट स्वीकृत समेत भइसकेको अवस्था छ । सहकारी क्षेत्रको हकहितको लागि र सहकारीलाई थप बलियो कसरी बनाउन सकिन्छ भनेर सरोकारावालाहरुके सुझावका आधारमा संशोधन प्रश्ताव गरिएको छ । उक्त ऐन छिट्टै आउँछ भन्ने मेरो विश्वास छ । आज सहकारी क्षेत्रमा देखिएका समस्या हल गर्नको लागि वागमती प्रदेश वचत तथा ऋण सहकारी संस्थाले गरेका कामहरु प्रशंसनीय रहेका छन् । सहकारी क्षेत्रमा देखिएको समस्या हल गर्न तथा थप कार्यक्रमहरु गर्नको लागि बजेट समेत विनियोजन गरिएको छ । अहिले तपाईहरुलाई वचत तथा ऋणको कारोबार गर्न नपाउने भन्ने निर्णयले गाह्रो भएको होला । त्यसकै लागि कार्यक्रम सञ्चालन गर्न भनेर थोरै भएपनि बजेट छुट्याइएको छ । तपाईंहरु सहकारी क्षेत्रमा देखिएका समस्या हल गर्न, राम्रा सहकारीलाई पुरस्कृत गर्न तथा बिग्रिएका, समस्याग्रस्त सहकारीलाई सुधार गर्नको लागि अझै प्रभावकारी तरिकाले काम गर्न सक्नुहोस् भन्ने विश्वास पनि लिएको छु । अहिले जसरी समस्याग्रस्त भएका र नभएका सहकारीलाई एउटै दृष्टिकोणले हेर्ने गरिएको छ । यसका अन्त्य गर्न पनि लाग्नुहोस् भन्ने सुझाव दिन चाहन्छु ।’
उहाँले सहकारी क्षेत्रमा देखिएका समस्या हल गर्न भुमिका खेल्न प्रोस्कुन बागमतीलाई आग्रह समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल