माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि डोजर चलाइने

.

काठमाडौं महानगरपालिकाले माइतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरु गरेको छ ।
माईतीघर लगायतका क्षेत्रमा वर्षेनी दोहोरिने डुबान र ढल निकासको समस्याको दीर्घकालिन समाधानका लागि महानगरपालिकाले ढल निकासलाई फराकिलो बनाउन लागेको हो । महानगरले बुधवार माईतीघरबाट आर्मी मुख्यालय छिर्ने बाटोतर्फबाट निकास सफा गर्ने तथा खुलाउने काम गरिरहेको छ । यसअघि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा गठित चार सदस्यीय संयुक्त प्राविधिक टोलीले प्राविधिक त्रुटी, अव्यवस्थित शहरीकरण र संरचनागत अतिक्रमणको कारण डुबान तथा ढल निकासको समस्या उत्पन्न भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । साउन ६ गते बुझाइएको उक्त प्रतिवेदनले शहरीकरण विस्तारको क्रममा अव्यवस्थित शहरीकरणका कारण ढल निकासमा अवरोध सिर्जना हुँदा वर्षेनी डुबान हुने गरेको देखाएको छ । उक्त प्रतिवेदनको कार्यान्वयन गर्दै महनगरपालिकाले थापाथली कलेज, तथ्यांक विभागलगायत कार्यालय नजिकको ढल निकास खुलाउने कार्य शुरु गरेको हो । सडक डिभिजन काठमाडौंका डिभिजन प्रमुख सुवोधकुमार देवकोटाले माईतीघर डुबानमा पार्नुको कारण ढल निकास साँघुरो रहेको र कतिपय स्थानमा पुरिएको भेटिएको बताउनु भयो । उहाँले अगामी दिनहरुमा वर्षा हुँदा डुबान तथा बाढीको समस्या नआओस् भनेर पुरिएको निकास हटाएर थप फराकिलो बनाउने कबबार्य भइरहेको बताउनु भयो । उहाँले सैनिक मुख्यालय परिसरमा रहेको ब्यारेक आसपासका विभिन्न स्थानमा गरिएको उत्खननका क्रममा ढल निकासमा अवरोध (ब्लकेज) भेटिएकाले बताउनु भयो । उहाँले सम्बन्धित निकायहरुसँग समन्वय गरी ढल निकासलाई फराकिलो बनाउने कार्य भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले यहाँ डुबान र बाढीको समस्याको विषयमा पहिलेदेखि नै अध्ययन ग¥यौं । अध्ययनको क्रममा ढल निकास आफैंमा साँधुरो रहेको तथा त्यही पनि पुर्ने काम भएको छ । हामी त्यो पुरिएको निकास हटाउँदै केही फराकिलो बनाउने कार्य गर्छौँ । यहाँ सैनिक मुख्यालयको एउटा ब्यारेक रहेको छ । त्यहाँ पनि हामीले तीन चार वटा ठाउँहरुमा खनेर हेर्यौँ । त्यहाँ पनि ब्लकेजहरु छ । त्यसलाई हटाउने काम पनि हामीले गरेका छौँ । हामी पब्लिकका घरसहित अवरुद्ध भएको सबै ठाउँमा ढल निकास खोल्ने काम गर्छौँ ।’
काठमाडौं महानगरपालिकाका महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले माईतीघरको डुबान समस्या समाधानका लागि महानगर प्रहरीले अहोरात्र खटिएर काम गरिरहेको बताउनु भयो । उहाँकाअनुसार सैनिक मुख्यालयको उत्तर कुनादेखि थापाथली क्याम्पस हुँदै राष्ट्रिय वाणिज्य बैंकसम्म खोलाको सतह सुधार तथा ढल निकास विस्तार कार्य भइरहेको बताउनु भयो । उहाँले ढल निकासको बहाव क्षमता वृद्धि गरी वर्षायाममा हुने डुबान न्यूनीकरण गर्न सबे क्षेत्रको ढल निकासलाई फराकिलो बनाइने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘माईतीघरको डुबानको समस्या समाधानको लागि हामी अहोरात्र खटिएकै छौँ । सोहीअनुसार यहाँ ढल निकासलाई फराकिलो बनाउने कार्य भइरहेको हो । अहिले हामी माईतीघरको सैनिक मुख्यालयको उत्तर कर्नरदेखि थापाथली क्याम्पस हुँदै राष्ट्रिय वाणिज्य बैंकसम्म खोलाको स्तर वृद्धि गर्छौँ । ढल निकासलाई खुलाउँदै वहावको क्षमाता वृद्धि गर्ने कामहरु हामी गर्छौँ ।’
काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले माईतीघरमा हुने बाढी र डुबानको विषयमा धेरै चरणमा छलफल भइसकेपछि ढल खुलाउने कार्य भइरहेको बताउनु भयो । उहाँले थापाथली क्याम्पस, राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय तथ्याङ्क कार्यालय (तथ्याङ्क विभाग)का भौतिक संरचनाहरू ढल निकासकै बाटोमा निर्माण गरिएको उल्लेख गर्दै हटाउनुपर्ने सबै ब्लकेजहरु हटाइने बताउनु भयो ।
महानगरले तत्कालका लागि अतिक्रमण गरी बनाइएका संरचना हटाउने, भित्री ढल र टुकुचाको पिँध सफा गरी किनार फराकिलो बनाउने, छोपिएका म्यानहोल उठाउने र समन्वय संयन्त्रलाई सक्रिय बनाउन बताइएको छ । –न्युज एजेन्सी नेपाल