नेकपा (एमाले)ले विचाराधीन रहेको पुरानो संसद् पुनस्र्थापनाको मुद्दालाई यथाशक्य टुंगोमा पु¥याउन सर्वोच्च अदालतलाई आह्वान गरेको छ ।
बिहीवार ललितपुरमा सम्पन्न केन्द्रिय कमिटीको बैठकले यस्तो आह्वान गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभएको हो । उहाँले सर्वोच्च अदालत यस्तो गम्भीर प्रकृतिको मुद्दा लामो समयसम्म लम्ब्याउन नमिल्ने बताउनु भयो । उहाँले संसद विघटनको प्रक्रिया असंवैधानिक भएको भन्दै पुरानो संसद पुनस्र्थापनको मुद्दा पार्टीको प्रमुख एजेण्डामध्ये एक भएको बताउनु भयो । उहाँले संसद विघटनपछि अन्तरिम सरकार गठन प्रक्रिया समेत संविधानअनुसार नभएको उहाँको जिकिर छ । उहाँले अवैधानिक सरकारले गराएको चुनावमा समेत अनेकौँ प्रश्नहरु रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो बैठकले लामो समयदेखि अदालतले होल्डमा राखिदिएको र समयमै न्याय नदिएको पुरानो संसदको पुनस्र्थापनाको जुन प्रक्रिया छ, त्यो अवरुद्ध भएको छ, त्यसलाई छिटो टुंग्याउनको लागि हामीले अदालतलाई आह्वान पनि गरेका छौँ । प्राकृतिक न्यायको सिद्धान्तले समयमै न्याय नहुनु भनेको अन्याय हुनु सरह हो भन्ने छ । हिजो संसद विघटनको प्रक्रिया पनि संविधान विपरित थियो । सोही प्रक्रियामा सुशिला कार्की आफै पनि प्रधानन्यायाधीश भइसकेको मान्छे प्रधानमन्त्री बन्न नपाउने संवैधानिक ग्यारेन्टी । सोही व्यवस्थालाई चुनौती दिएर प्रधानमन्त्री बन्नुभयो र त्यसो भएको हुनाले त्यो सरकार गठनको प्रक्रिया पनि अवैधानिक छ । त्यो संसद विघटनको प्रक्रिया पनि अवैधानिक छ र त्यसपछाडि भएका गतिविधिहरू, त्यसपछाडिका चुनावहरू, यी तमाम कुरा माथि गम्भीर खालका संवैधानिक र अन्य प्रश्नहरू छन् । अदालतमा त्यो मुद्दा कन्टिन्यु छ, टुंगेको छैन । अदालतले उचित र न्यायपूर्ण फैसला गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’
उहाँले सरकार महंगी नियन्त्रण तथा विपद् प्रतिकार्यमा प्रभावकारी काम गर्न नसकेको आरोप पनि लगाउनु भयो ।–न्युज एजेन्सी नेपाल