काठमाडौं महानगरपालिकाले सम्यक महादान आयोजना गर्ने

.

काठमाडौं महानगरपालिकाले सम्यक महादान आयोजना गर्ने भएको छ ।
महानगरले नेपाल सम्वत ११४७ पोहेलाथ्व सप्तमी अर्थात आगामी माघ १ गते स्वयम्भू भुइँखेलमा सम्यक महादान आयोजना गर्ने भएको हो । काठमाडौं महानगरपालिको बिहीवार एक विशेष कार्यक्रम गरी महादान गर्ने घोषणा गरेको हो । कार्यक्रममा काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख संयोजकत्वमा सम्यक महादान मूल समारोह समिति पनि घोषणा गरिएको छ । सम्यक महादान हरेक १२ वर्षमा आयोजना गर्ने परम्परा रहेपनि पछिल्लो २२ वर्षदेखि हुन सकेको छैन । नेपाल संवत् ११२५ (वि.सं. २०६१) पछि काठमाडौंमा यो पर्व आयोजना गर्न लागिएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नयाँ पुस्तालाई प्राचीन सांस्कृतिक परम्परा र अमूर्त सम्पदाका बारेमा जानकारी दिन सम्यक महादान गर्न लागेको बताउनु भयो । उहाँकाअनुसार महानगरपालिकाले पछिल्लो समय मूर्त सम्पदाको संरक्षण र पुनर्निर्माणसँगै अमूर्त सम्पदाको संरक्षण तथा प्रवद्र्धनलाई पनि प्राथमिकता दिएको छ । महानगरपालिकाले हराउँदै वा लोप हुँदै गएका अमूर्त सम्पदालाई पुनर्जीवन दिने काम गरिरहेको उहाँको भनाई छ । विभिन्न क्षेत्रका अनुभवी व्यक्तिसँगको सरसल्लाहमा पुराना संस्कृति तथा परम्पराको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास भइरहेको उहाँले बताउनु भयो । उहाँले लामो समयदेखि सम्यक् महादान आयोजना हुन नसक्दा नयाँ पुस्ताले यसको प्रत्यक्ष अनुभव गर्ने अवसर नपाएको उल्लेख गर्नुभयो । पुस्तान्तरणका लागि कितावमा रहेको ज्ञान मात्र पर्याप्त नहुने भन्दै उहाँले जीवित परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सम्यक महादान अब हरेक १२ वर्षको अन्तरालमा गर्ने परम्परालाई निरन्तरता दिने दिन स्थानीय सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले सम्यक महादान मूल समारोह समितिको घोषणा गरेका छौँ । माघ १ गते काठमाडौँ महानगरपालिका–१५ स्थित भुइँखेलमा परम्परागत रूपमा सम्यक् महादान आयोजना गर्दैछौँ । महानगरपालिकाले सम्पदाको कुरा गरिरहँदा थुप्रै सम्पदाको पुनर्निर्माण गरेका छौँ । विशेषगरी भूकम्पपछि हाम्रा धेरै सम्पदा ढले, धेरै सम्पदा मासिए, ती सम्पदालाई हामीले क्रमशः पुनर्निर्माण गर्दै आएका छौँ । जनप्रतिनिधिको स्थानीय सरकारको पहिलो पाँच वर्षमा धेरै निर्माणका काम भए । दोस्रो पाँच वर्षमा, अर्थात् हामीले नेतृत्व लिएपछि पनि थुप्रै मूर्त सम्पदाको संरक्षण र पुनर्निर्माण गर्ने काम भएका छन् । धेरै बहा–बही पुनर्निर्माण भएका छन्, धेरै गुठीघर र मन्दिर पुनर्निर्माण भएका छन् । यी मूर्त सम्पदाका पक्ष हुन् । तर मूर्त सम्पदाको अर्थ, मर्म र आत्मा त्यहाँका अमूर्त सम्पदा जीवित हुँदा मात्र जीवित रहन्छ । त्यहाँ हुने पूजा–आजा, विभिन्न संस्कृति र परम्परा जीवित रहे मात्र हाम्रो मूर्त सम्पदाको अर्थ र मर्म कायम रहन्छ । त्यसकारण काठमाडौं महानगरपालिकाले अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने तथा हराउँदै गएका र लोपोन्मुख सम्पदालाई पुनर्जीवन दिने काम पनि निरन्तर गरिरहेको छ । हाम्रो पुस्ताले देख्नै नपाएका विभिन्न अमूर्त सम्पदालाई यहाँहरूजस्ता दिग्गज व्यक्तित्वसँग सरसल्लाह गरेर फेरि जीवित बनाउन हामी निरन्तर प्रयासरत छौँ । त्यसैको अर्को काम सम्यक् महादान हो । म आफैँले भन्नुपर्दा २०६१ सालमा सम्यक् महादान भएको थियो भन्ने सुनेको मात्र हो । मैले आफैँले देख्न पाइनँ, हेर्न पनि पाएको छैन । हाम्रो पुस्ताले नै सुनेको मात्र छ भने त्यसपछिको पुस्ताले झन् कसरी थाहा पाउने ? हामीले सम्यक् महादान नगर्ने हो भने नयाँ पुस्ताले यसको प्रत्यक्ष अनुभव गर्न पाउँदैन । त्यसैले पुरानो पुस्तामा भएको अमूर्त सम्पदासम्बन्धी ज्ञान पुस्तान्तरण हुन जरुरी छ । त्यो पुस्तान्तरण कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण छ । सम्यक् महादानबारे हामीलाई थाहा छैन भने हामीले सिक्ने मौका पाउनुपर्छ । हामीले सिक्ने मौका तब पाउँछौँ, जब सम्यक् महादान आफैँमा साँच्चिकै हुन्छ । किताबमा पढेको ज्ञान मात्र पर्याप्त नहुन सक्छ । त्यसकारण पनि काठमाडौँ महानगरपालिकाले सम्यक् महादान गर्ने जमर्को गरेको हो । नयाँ पुस्तालाई सम्यक् महादान भनेको कस्तो हुँदो रहेछ भनेर देखाउन र उनीहरूलाई यसबारे सिक्ने अवसर प्रदान गर्न हामीले यो आयोजना गर्न लागेका हौँ । साथै, अब आउने नयाँ पुस्ताले पनि यसलाई निरन्तरता दिनुपर्छ । १२ वर्षमा हुने हो भने १२ वर्षमै आयोजना गर्न सक्ने हुनुपर्छ । त्यसका लागि स्थानीय सरकारले जिम्मेवारी लिनुपर्छ र प्रोत्साहन गर्नुपर्छ ।’
महादान दुई दिन सञ्चालन हुने परम्परा छ । पहिलो दिन हनुमानढोकामा र दोस्रो दिन स्वयम्भू भुइँखेलमा मुख्य कार्यक्रम हुने व्यवस्था छ । महादानको तयारीका लागि गठन गरिएको सम्यक् महादान मूल समारोह समितिमा ३०१ सदस्य रहेका छन् । समितिको संयोजकमा प्रा.डा. नरेशमान बज्राचार्य छन् भने पाँच जना सहसंयोजक र ३७ जना पदाधिकारी छन् । कार्यक्रम व्यवस्थापनका लागि ३७ सदस्यीय निर्णय कार्यान्वयन समिति तथा विभिन्न विषयगत कामका लागि १३ वटा उपसमिति गठन गरिएको छ । सम्यक महादान बौद्ध परम्परामा महत्वपूर्ण र दुर्लभ दान पर्वका रूपमा मानिन्छ । महादानका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका दीपङ्कर बुद्धका धातुमूर्तिसहित प्रमुख बौद्ध मन्दिरका देवदेवीलाई निमन्त्रणा गरी पूजापाठ, दान तथा दक्षिणा अर्पण गर्ने परम्परा छ । महादानमा नेपाल मण्डलका बज्राचार्य, बुद्धाचार्य, शाक्यभिक्षु तथा चैलक भिक्षुलगायत बौद्ध संघका सदस्यलाई दान अर्पण गर्ने परम्परा पनि रहेको छ । ठूलो संख्यामा दीपङ्कर बुद्धका धातुमूर्ति प्रदर्शन गरिने भएकाले यो पर्व धार्मिकसँगै सांस्कृतिक महत्वको उत्सवका रूपमा पनि परिचित छ ।
बौद्ध परम्परामा दानलाई महत्वपूर्ण अभ्यासका रूपमा लिइन्छ । नेपालमा पञ्चदान, ऐच्छिक पञ्जरा, नराँ पञ्जरा तथा निश्चित अन्तरालमा आयोजना हुने महा सम्यक दानजस्ता विभिन्न दान परम्परा प्रचलनमा छन् । तीमध्ये सम्यक् महादानलाई सबैभन्दा महत्वपूर्ण, कठिन र दुर्लभ मानिन्छ । ठूलो आर्थिक स्रोत, श्रम र व्यवस्थापन आवश्यक पर्ने भएकाले पछिल्लो समय महादान लोप हुँदै गएको छ । –न्युज एजेन्सी नेपाल