नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टीको केन्द्रिय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव अस्वीकार गरेको बताउनुभएको छ ।
बिहीवार ललितपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपमहासचिव भट्टराईले नेतृत्व पुनर्गठनको विषय एउटा मात्र बैठक वा छलफलमा नसकिने भन्दै अगामी बैठकहरुमा समेत यो विषयमा छलफल गरिने बताउनु भयो । उहाँले अब पार्टीको मुख्य कार्यभार स्थानीय तह निर्वाचनको तयारी रहेको बताउनु भयो । उहाँले पार्टी एकतावद्ध भएर स्थानीय निर्वाचनमा केन्द्रित हुने बताउनु भयो । स्थानीय तह निर्वाचनको लागि उम्मेदवार छनोटलगायतका विषयमा तल्लो तह कमिटीहरुलाई अधिकारसम्पन्न बनाउँदै कार्यकर्ता तथा जनताको भावनाअनुसार उम्मेदवार छनोट गरिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिलेको केन्द्रिय कमिटी बैठकले अध्यक्षज्यूलाई सम्मानजनक रुपमा विदा गर्नुपर्छ भन्ने कुरा मानेन । त्यो कुरामा यसपछिका विभिन्न कमिटीमा पनि छलफल गर्दैजानुपर्छ । सबै कुरा एकैपटक सकिँदैन । यो बैठकबाट अब हाम्रो मुख्य कार्यभार आउने स्थानीय तह चुनावलाई गर्ने भन्या छौँ । स्थानीय चुनावको तयारीको निम्ति पार्टी एकजुट र एकताबद्ध भएर जान्छ । अब उम्मेदवार छनोटदेखि सबै कुरामा तलका कमिटीहरुलाई हामी अधिकार सम्पन्न बनाउँछौँ । कार्यकर्ताको भावना, जनताको भावना अनुसारको उम्मेदवार छनोट गर्छौँ । आम जनताले चाहेको, खोजेको घोषणापत्र लिएर जान्छौँ । नेकपा एमालेका विचार, सिद्धान्त, संगठनलाई लिएर स्थानीय चुनावको व्यापक तयारीमा नेकपा एमाले लाग्छ ।’
उपमहासचिव भट्टराईले जनअपेक्षाअनुसारको घोषणापत्र लिएर स्थानीय तह निर्वाचनमा जाने तयारी पार्टीको रहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल