लिस्बन । नेपाली जनसम्पर्क समिति पोर्चुगलको सातौँ अधिवेशन विवादमा परेको छ। नयाँ कार्यसमिति, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि चयनका लागि आयोजित अधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेपछि असन्तुष्ट क्रियाशील सदस्यहरूले विधिवत् रूपमा महाधिवेशन सञ्चालन गर्न माग गरेका छन्।
२६ तारिख आयोजना गरिएको अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि बन्दसत्र सञ्चालन गर्ने कार्यतालिका थियो। तर, बन्दसत्र व्यवस्थित रूपमा अघि बढ्न नसकेको सहभागीहरूले बताएका छन्। अधिवेशन व्यवस्थापन र निर्वाचन प्रक्रियालाई लिएर सहभागीहरूबीच असन्तुष्टि बढेपछि विवाद चर्किएको हो।
सहभागीहरूका अनुसार महामन्त्री र कोषाध्यक्षको अनुपस्थितिमा आर्थिक प्रतिवेदन मौखिक रूपमा प्रस्तुत गरिएको थियो। आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने प्रक्रिया पारदर्शी नभएको भन्दै केही सदस्यहरूले आपत्तिसमेत जनाएका थिए।
त्यस्तै, नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नुपर्ने भए पनि निर्वाचन प्रतिनिधि पुष्करराज जोशीले निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाएको सहभागीहरूले आरोप लगाएका छन्।
एक सहभागीका अनुसार अधिवेशनमा उपस्थित क्रियाशील सदस्यहरूले तत्काल निर्वाचन प्रक्रिया सुरु गर्न माग गरेका थिए। तर, निर्वाचन प्रक्रिया अघि बढ्नुको सट्टा अधिवेशन स्थगित गरिएको उनको भनाइ छ।
निर्वाचनको माग गर्दै सदस्यहरूले दबाब दिएपछि अधिवेशन स्थगित गरिएको र निर्वाचन अधिकारीसमेत अधिवेशनस्थलबाट बाहिरिएको सहभागीहरूले बताएका छन्।
क्रियाशील सदस्यको नामावलीमाथि प्रश्न
अधिवेशन विवादको अर्को विषय क्रियाशील सदस्यहरूको नामावली र महाधिवेशन प्रतिनिधि छनोट बनेको छ। स्रोतका अनुसार क्रियाशील सदस्यहरूको नामावली पूर्ण रूपमा तयार नभएको जानकारी सदस्यहरूलाई दिइएको थियो।
क्रियाशील सदस्यहरूको आधिकारिक नामावली नै पूर्ण नभएको अवस्थामा महाधिवेशन प्रतिनिधि छनोट तथा नयाँ कार्यसमिति निर्माणको प्रक्रिया विधानसम्मत हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठेको छ।
केही असन्तुष्ट सदस्यहरूले आफ्नो पक्षका व्यक्तिहरूलाई मात्र महाधिवेशन प्रतिनिधि बनाएर कार्यसमिति गठन गर्ने तयारी गरिएको आरोप लगाएका छन्। यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
एक असन्तुष्ट क्रियाशील सदस्यले भने, “क्रियाशील सदस्यहरूको आधिकारिक र पूर्ण नामावली नै स्पष्ट नभएको अवस्थामा प्रतिनिधि छनोट र त्यसकै आधारमा नयाँ कार्यसमिति गठन गर्ने प्रक्रिया स्वीकार्य हुँदैन। सबै क्रियाशील सदस्यको सहभागितामा पारदर्शी निर्वाचन हुनुपर्छ।”
केन्द्रमा उजुरी गर्ने तयारी
अधिवेशनमा देखिएको विवादलाई लिएर असन्तुष्ट क्रियाशील सदस्यहरूले केन्द्रस्तरमा विषय उठाउने तयारी गरेका छन्। उनीहरूले केन्द्रीय निर्वाचन समिति तथा सम्बन्धित निकायमा औपचारिक उजुरी गर्दै विधिवत् महाधिवेशनको माग गर्ने बताएका छन्।
यसका लागि असन्तुष्ट सदस्यहरूले हस्ताक्षर संकलन अभियानसमेत सञ्चालन गरिरहेको जनाइएको छ।
उनीहरूले क्रियाशील सदस्यहरूको आधिकारिक नामावली सार्वजनिक गर्नुपर्ने, विधानअनुसार महाधिवेशन प्रतिनिधि छनोट गर्नुपर्ने, पारदर्शी निर्वाचन प्रक्रिया सुनिश्चित गर्नुपर्ने र सबै पक्षको सहभागितामा नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग गरेका छन्।
एक सदस्यले भने, “हामी कुनै व्यक्तिविशेषको पक्ष वा विपक्षमा होइनौँ। विधान र संस्थाको लोकतान्त्रिक प्रक्रियाअनुसार सबै क्रियाशील सदस्यले आफ्नो प्रतिनिधि र नेतृत्व चयन गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो।”