‘लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबैको भुमिका महत्वपूर्ण’–सभामुख

.

प्रतिनिधि सभाको चालु अधिवेशन शुक्रवार औपचारिक रूपमा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाख अर्यालले कानून निर्माणमा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा र सत्तापक्ष तथा प्रतिपक्षबीचको सहकार्यको प्रशंसा गर्नुभयो । सभामुख अर्यालले संसद केवल बहुमतको प्रक्रिया मात्र नभई जनमुखी बहस र संवादको थलो भएको बताउँदै जनप्रतिनिधिहरूले सोहीअनुरूप भुमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । उहाँले युवा सांसदहरूको अध्ययनशीलता र परिपक्वता तथा अनुभवी सदस्यहरूको अनुभवको मिश्रणले संसदलाई थप प्रभावकारी बनाएको बताउनु भयो ।
सभामुख अर्यालले जलवायु परिवर्तनको मुद्दालाई प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो । उहाँले आफू नेतृत्वको प्रतिनिधि मण्डलले तान्जानियामा आयोजना हुन लागेको अन्तर–संसदीय सङ्घको महासभामा नेपालको तर्फबाट हिमाली मुलुकका चुनौती र जलवायु वित्तका सवालहरूलाई सशक्त रूपमा उठाउने जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल