काँग्रेसको १५ औँ महाधिवेशनः प्रविधिमैत्री बनाइँदै, मौजुदा विधानमा व्यापक हेरफेरको तयारी

.

नेपाली काँग्रेसले अगामी आईतवारदेखि शुरु हुने पार्टीको १५ औँ महाधिवेशन पार्टीको मौजुदा विधानमा व्यापक संशोधन गर्ने भएको छ ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिले यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै समिति संयोजक तथा पार्टी दाप्रवक्ता देवराज चालिसेले पार्टीलाई थप जनमुखि बनाउन पार्टीको मौजुदा विधानमा व्यापक हेरफेर गरिने जानकारी दिनुभयो । उहाँकाअनुसार हाल विधानमाथि पार्टी महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले काम गरिरहेको । उहाँले १५ महाधिवेशनपछि काँग्रेसलाई जनताले खोजेको पार्टी बन्ने जिकिर गर्नुभयो । उहाँले महाधिवेनमा निर्वाचन प्रक्रिया शुरु हुनुभन्दन अगाडि नै पार्टीका मौजुदा दस्तावेजमाथि गम्भीर छलफल गरिने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी जनताले खोजेको काँग्रेस बनाउने प्रयत्नमा छौँ । जनताको परिकल्पना गरेको पार्टी बनाउन पार्टीका दस्तावेजमा उहाँहरुका भावना समेट्ने प्रयत्न गर्नेछौँ यस पटक । महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरु हुनुभन्दा अगाडि हामी विधान संशोधन पनि गर्नेछौँ । विधान संशोधनको अग्राधिकार महाधिवेशन राख्नेछौँ ।’  
महाधिवेशन स्थलबाहेकका क्षेत्रमा प्रचार सामग्री नराख्नेः प्रविधिमैत्री महाधिवेशनको अभ्यास
प्रवक्ता चालिसेले महाधिवेशन स्थलबाहेक क्षेत्रमा प्रचारप्रसारका सामग्री नराखिने बताउनु भयो । उहाँले महाधिवेशन उद्घाटन स्थल खुलामञ्चको मूल गेट बाहेक शहरका अन्य क्षेत्रमा पार्टीका प्रचार सामग्री नराखिने बताउनु भयो । उहाँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउन यो यस्तो गर्न लागिएको जानकारी दिनुभयो । उहाँले महाधिवेशन प्रतिनिधिहरुलाई महाधिवेशनस्थलमा पुग्न विभिन्न क्षेत्रबाट सवारीको व्यवस्था रहेको र सोसम्बन्धी सूचना पनि मोबाइलमा एसएमएसको माध्यमबाट उपलब्ध गराइने बताउनु भयो । प्रवक्ता चालिसेले काठमाडौं उपत्यकासहित देशका मुख्य शहरहरुमा सय वटा डिजिटल बोर्डहरुमार्फत १५औँ महाधिवेशनसम्बन्धी सूचनाहरु प्रशारण भइहरेको समेत जानकारी दिनुभयो । उहाँले महाधिवेशन प्रतिनिधिहरुको लागि खानाको व्यवस्था भृकुटीमण्डपमा गरिएको समेत जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकाका महाधिवेशनस्थल प्रवेश गर्ने ठाउँहरुमा हामीले एसएमएस तथा प्रविधिबाट आवतजावत सूचना प्राप्त गर्नुहुन्छ । पार्टीको यो अधिवेशनलाई प्रविधिमैत्री बनाइएको छ । बिहान, दिउँसो र साँझको भोजन व्यवस्था भृकुटीमण्डपमा गरिएको छ । महाधिवेशन उद्घाटनस्थल र भृकुटीमण्डपको दुरी धेरै टाढा छैन । त्यहाँ गएर खाना खाने प्रबन्ध हामीले मिलाएका छौँ । हामीले महाधिवेशनमा धेरै तामझाम नगर्ने निर्णय हामीले गरिसकेका छौँ । त्यसको कारण महाधिवेशन प्रवेशद्वारको मूल गेटभन्दा बाहेक अरु कुनै प्रचार सामाग्री हामी बजारमा टाँस्ने छैनौँ । त्यसबाहेक हामीले काठमाडौं उपत्यकादेखि लिएर देशभरीका जतिपनि शहरहरु छन् ती सबै शहरहरुमा सय वटा डिजिटल बोर्डहरुमार्फत १५औँ महाधिवेशनसम्बन्धी सूचनाहरु डिजिटल माध्यमबाट प्रशारण गरिरहेका छौँ । त्यसैगरी महाधिवेशनमा उम्मेदवार हुने साथिहरुलाई समेत डिजिटल माध्यमको अधिकतम प्रयोग गर्न जोड दिनको लागि पनि हामीले अनुरोध गरिरहेको छ ।’
महाधिवेशनमा देशभर तथा प्रवासबाट समेत गरेर ७ हजार ७ सय प्रतिनिधि सहभागि हुने
प्रवक्ता चालिसेले पार्टीको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने जानकारी निर्वाचन समितिबाट प्राप्त भएको जानकारी दिनुभयो । क्षेत्रीय महाधिवेशनको निर्वाचन प्रक्रिया समेत सम्पन्न भइसकेको र केही क्षेत्रमा मतगणना भइरहेको प्रवक्ता चालिसेलेल बताउनु भयो । उहाँका अनुसार प्रवासबाट सहित उक्त संख्यामा महाधिवेशन प्रतिनिधि सहभागि हुने बताउनु भयो । काँग्रेसको इतिहासमा महाधिवेशनमा ७ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागि हुन लागेको यो पहिलो पटक भएको चालिसेको दाबी छ ।
उहाँले भन्नुभयो, ‘विशेष गरेर केन्द्रीय निर्वाचन समितिले हामीलाई दिएको जानकारी अनुसार यो महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि भाग लिने अनुमान गरिएको छ । र नेपाली काँग्रेसको इतिहासमा यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि सहभागि हुन लागेको यो पहिलो पटक हो । हामी जनताले खोजेको काँग्रेस बनाउने प्रयत्नमा छौँ । जनताको परिकल्पना गरेको पार्टी बनाउन पार्टीका दस्तावेजमा उहाँहरुका भावना समेट्ने प्रयत्न गर्नेछौँ यस पटक । महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरु हुनुभन्दा अगाडि हामी विधान संशोधन पनि गर्नेछौँ । विधान संशोधनको अग्राधिकार महाधिवेशन राख्नेछौँ ।’  
उहाँले महाधिवेशनमा सहभागि हुन देशका सबै राजनीतिक दल तथा छिमेकीसहित मित्र राष्ट्रका सत्तारुढ र प्रतिपक्षी दलहरुलाई आमन्त्रण गरिएको समेत जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल