ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम सम्पन्न भइसकेको दाबी गर्नुभएको छ ।
शनिबार ललितपुरमा ज्यापू समाजले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । पुनर्निर्माणको लागी बाँकी रहेको सम्पदाहरुको पनि अधिकांश काम सकिएर फिनिसिङ गर्न मात्रै बाँकी रहेको उहाँले बताउनु भयो । महानगरपालिका र ज्यापु समाज मिलेर सम्पदा संरक्षणको काम गर्दै उहाँले उहाँको भनाई छ । उहाँले ललितपुरको संस्कृति, संस्कार तथा मूर्त र अमूर्त सम्पदा संरक्षणमा ज्यापु समाजसँग सहकार्य गर्दै महानगरपालिकाले काम गरिरहेको बताउनु भयो । सम्पदा मूर्त र अमूर्त दुवै हुने बताउँदै अमुर्त सम्पदाका विषयमा भने केही काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँले विगतमा बजेट अभावका कारण रोकिएका कतिपय अमूर्त सम्पदासम्बन्धी कामलाई पनि अघि बढाउने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भनुभयो, ‘अब ज्यापु समाज र ललितपुर महानगरपालिका भनेको अन्यन्याश्रित सम्बन्ध भएको दुइटा एक्टरहरू हुन् । ललितपुर महानगरपालिका र ज्यापु समाजको सहकार्यमा हामीले यहाँका संस्कृति, संस्कार, सम्पदा, अमूर्त सम्पदा सबैको संरक्षण गरिरहेको छौँ । अहिले ललितपुर महानगरपालिकामा सम्पदाको सन्दर्भमा मैले त क्लेम गर्ने गरेको छु, सबै काम डन । कुनै पनि मठ, मन्दिर, शिवालया, देवालीहरू बाँकी छैनन् । कुनै कुनै सिद्ध नभएकाहरु पनि ९५ प्रतिशत कम्पिलिट भएका छन्, तर अधिकांश यो सम्पदाको कामहरू सम्पन्न भइसकेको छ । अमूर्त सम्पदामा बजेट नभएर रोकिएका काम शु गर्न लागेका छौँ । सम्पदा भन्नासाथ मुर्त, अमूर्त सम्पदा यसमा समावेश हुन्छ ।’
उहाँले ज्यापु समाजले निर्माण गरेका भौतिक संरचनाको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार ज्यापु समाजको भवन १६ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण भएको छ भने वृद्धाश्रम भवन २३ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको छ । ज्यापु समाजले निर्माण गरेको वृद्धाश्रममा ११० शय्याको क्षमता रहेको उल्लेख गर्दै प्रमुख महर्जनले हाल सिमित क्षमतामा मात्रै सञ्चालन भइरहेको सेवाको क्षमता विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले आगामी ६ देखि १२ महिनाभित्र ११० शय्याको क्षमतामा वृद्धाश्रम सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढ्न ज्यापु समाजलाई आग्रह गर्नुभयो । वृद्धाश्रम सेवा २४ घण्टा सञ्चालन गर्न महानगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो । वृद्धाश्रममा पानीको समस्या समाधान गर्न ‘डिप ट्युबवेल’ निर्माणका लागि समेत महानगरपालिकाले बजेट व्यवस्था गरेको उहाँको भनाइ छ । उहाँले ज्यापु समाजको उद्देश्य पूरा गर्न उपलब्ध भौतिक संरचना र स्रोतसाधनको प्रभावकारी उपयोग आवश्यक रहेको बताउनुभयो । वृद्धाश्रमको पूर्ण क्षमतामा सञ्चालनका लागि महानगरपालिका सहकार्य गर्न तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।–न्युज एजेन्सी नेपाल