नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा रहेका अधिकांश नेतृत्व र सदस्यहरू आफ्नो पार्टीमा प्रशिक्षित भई गएका व्यक्तिहरू भएको बताउनुभएको छ ।
काठमाडौंको खुलामञ्चमा जारी नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका क्रममा बोल्दै उहाँले रास्वपाको वर्तमान संरचनामा काँग्रेसको ठूलो लगानी रहेको संकेत गर्नुभएको हो । आईतवारबाट राजधानीमा शुरु भएको महाधिवेशनलाई सम्बोधन गर्दै थापाले रास्वपामा गएका नेताहरू र संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूको पृष्ठभूमिप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो । उहाँले रास्वपाभित्र रहेका ४० देखि ५० जना व्यक्तिहरू आफ्नो पार्टीमा प्रशिक्षण लिएर गएकाहरूको बाहुल्यता रहेको जिकिर गर्नुभयो । आफूले ती व्यक्तिहरूलाई राम्रै कुरा सिकाएर पठाएको भन्दै रास्वपाको नेतृत्व र तल्लो तहका कार्यकताहरूसमेत विगतमा काँग्रेसका कार्यक्रममा सक्रिय रहने गरेको स्मरण गराउनु भयो ।
सभापति थापाले भन्नुभयो, ‘अघि नै रविजीले यहाँ केही साथीहरूले रास्वपामा मत दिएको प्रसङ्ग उठाउनु भयो । हामीलाई त्यसको खासै चिन्ता छैन । संसद्भित्र हेर्नुभयो भने पनि थुप्रै साथीहरू हिजो कांग्रेसकै मञ्चमा प्रशिक्षित भएर आज त्यहाँ पुगेका छन् । रास्वपाको नेतृत्वदेखि तलसम्म पनि हिजो काँग्रेसकै मञ्चमा ताली बजाएर हुर्किएका र हामीले राजनीतिक संस्कार सिकाएर पठाएका थुप्रै साथीहरू हुनुहुन्छ । त्यसैले यसमा पनि हाम्रो कुनै गुनासो छैन, राम्रा कुरा सिकाएरै पठाएका छौँ । म यसभन्दा बढी केही भन्दिनँ ।’
रास्वपाका उपसभापतिदेखि विभिन्न तहमा रहेका नेताहरूको पृष्ठभूमि केलाउँदै थापाले उनीहरू विगतमा काँग्रेसको मञ्चमा ताली बजाएर गएका व्यक्तिहरू भएको बताउनु भयो । उहाँले रास्वपाको उदय र त्यहाँ रहेका आफ्ना पूर्वकार्यकर्ताहरूप्रति काँग्रेस सचेत रहेको र यसलाई स्वाभाविक रूपमा लिएको समेत संकेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल