ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विद्युत खपत बढाउन बढी ऊर्जा खपत गर्नेलाई महसुल रकम कम लाग्नेगरि संयन्त्र निर्माण भईरहेको बताउनुभएको छ ।
बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । यद्यपि ५० युनिट भन्दा बढीको विद्युत खपतमा भ्याट लाग्नेगरी आर्थिक ऐन बनेकोले केही समस्या भइरहेको उहाँले बताउनु भयो । भ्याटसम्बन्धी विषय सम्बोधन गर्न अर्थमन्त्रालयसंग समन्वय भईरहेको उहाँको भनाई छ । उहाँले छिट्टै नै विद्युत महशुल प्रणालीलाई व्यवस्थित गर्ने जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म बढी विद्युत् खपत गर्ने ग्राहकले बढी महशुल तिर्नुपर्ने बिलिङ प्रणालीको अभ्यास हुँदै आएकोमा अब विद्युत उत्पादन बढी हुने मौसममा खेर जाने ऊर्जा रोक्न बढी खपतमा कम महशुल लाग्ने प्रणाली प्रश्ताव गरिएको छ ।
उहाँले भन्नुभयो, ‘हामीले विद्युत महशुल कम गर्ने कुरामा वर्कआउटहरू गरिरहेका थियौँ । पछिल्लो समय भ्याटको पनि आएकोले गर्दाखेरि त्यसलाई पनि सम्बोधन गरेर महशुलमा नयाँ व्यवस्था गर्दैछौँ । हाम्रो बिलिङ सिस्टम अलिकता प्रोग्रेसिभ खालको थियो । बढी खपत गरे भने बढी तिर्नुपर्ने खालको थियो । तर अहिले हामीले यो वेड सिजनमा उत्पादन हुँदाखेरि खेर जाने विद्युत खपत गर्नेगरी रिग्रेसिभ बिलिङलाई प्रश्ताव गरेका छौँ । त्यसमा वर्कआउटहरू भइरहेको छ, मलाई के लाग्छ भने एकदम यो सिस्टम नै बनाउनुपर्ने भएकोले भ्याटको कुरा पनि एकचोटी सम्बोधन भयो भने त्यसलाई पहिलाको प्रोग्रेसिभ साइडबाट भन्दा पनि बढी खपत गरे भने कम पर्ने मेकानिज्मको लागि तयारी भइरहेको छ ।’
भोटेकोशीको क्षति मूल्याङ्कन हुँदै
मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित भोटेकोशी क्षेत्रका जलविद्युत् आयोजना तथा संरचनाको प्राविधिक मूल्याङ्कन पनि अगाडी बढाईएको जानकारी दिनुभयो । मर्मत तथा पुनर्निर्माणमा लाग्ने लागत प्राविधिक प्रतिवेदनपछि क्षतिग्रस्त संरचनाका निर्माण कार्य अगाडी बढाईने बताउनु भयो । उहाँकाअनुसार केही स्थानमा लेदो सफा गरेर आयोजना सञ्चालन गर्न सकिनेछ भने कतिपय ठाउँमा उपकरण नै बिग्रिएको छ । बाढी प्रभावित क्षेत्रमा विद्युत उत्पादन र प्रशारणलाई अलग–अलग रूपमा सम्बोधन गर्नुपर्ने उहाँले बताउनु भयो । प्रशारण लाइनको अभावमा उत्पादन भइरहेको विद्युतसमेत हाल प्रशारण गर्न नसकिएको उहाँको भनाई छ । नेपाल विद्युत प्राधिकरणले प्रशारण लाइनसम्बन्धी अध्ययन शुरु गरिसकेको र त्यसलाई प्राथमिकताका साथ अघि बढाइने उहाँले बताउनु भयो । प्रसारण पूर्वाधार छिटो निर्माण गर्नसके आगामी जाडो यामको विद्युत माग सम्बोधन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘भोटेकोशी बाढीले क्षति गरेको जलविद्युत आयोजनाको प्राविधिक मूल्याङ्कनको लागि अगाडि बढेको छ । कस्तो खालको क्षति भएको छ, त्यो निर्माण गर्नलाई कति पर्छ भन्ने प्रतिवेदन दिएपछि थाहा हुन्छ । अहिले त्यहाँबाट उत्पादन भइरहेको हाइड्रोको पनि प्रसारण लाइन नभएर चलाउन पाइरहेको छैन । अहिले रसुवाको केही ठाउँमा हामीले एउटा रिस्क मोडमा चलाएर त्यहाँको डिमान्ड त्यति छैन । तर त्यसको प्रोडक्सन चाहिँ हाइ छ । १४ देखि १५ मेगावाटको छ । तर त्यसलाई लो त्यसमा चलाएर गरिरहेका छौं । अहिले सञ्चालन गरेर प्रसारण गर्न सकिनेको लागि प्रशारण लाइन अहिले प्राथमिकतामा राखेर प्राधिकरणले अध्ययनहरू शुरु गरिसकेको छ । त्यसलाई छिट्टै कार्यन्वयनमा ल्याएमा जाडो महिनाको हाम्रो मागलाई पनि सम्बोधन गर्न सकिन्छ । अर्को के कति क्षति भइरहेको छ भनेर फेरि प्राविधिक कुराहरू पनि छ । अब कतिमा लेदोहरू सफा गरेर हुने देखिन्छ, कतिमा उपकरण नै बिग्रेको छ ।’
भोटेकोशीमा आएको बाढीले पूर्वसूचना प्रणालीका उपकरणमा समेत क्षति पु¥याएको मन्त्री श्रेष्ठले बताउनु भयो । यस घटनाले जल तथा मौसम पूर्वानुमान प्रणालीलाई थप आधुनिक र एकीकृत बनाउनुपर्ने आवश्यकता देखाएको उहाँको भनाई छ । हाल एसएमएसमार्फत पूर्वसूचना दिने अभ्यास भइरहेको उल्लेख गर्दै उहाँले आधुनिक उपकरण जडान गर्ने बताउनु भयो । साथै उहाँले विपद् व्यवस्थापनका अन्तरदेशय तथ्याङ्क आदानप्रदान गर्ने संयन्त्रको विकास गर्ने बताउनु भयो । विपद्ले राजनीतिक सीमा नहेर्ने भएकाले विशेषगरी सीमापार तथा तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावलाई ध्यानमा राखेर सूचना साझेदारी गर्नुपर्ने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल