काठमाडौं महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयबीच सिकाइ र क्षमता आदानप्रदान गर्न ‘कामठमाडौं स्कुल पार्टनरसिप कार्यक्रम’ कार्यान्वयनका लागि कार्यविधि पारित गरेको छ ।
बुधवार बसेको कार्यपालिकाको ५९ औँ बैठकले ‘काठमाडौं महानगरपालिका विद्यालय–विद्यालय साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ पारित गरेको हो । महानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘कामठमाडौं स्कुल पार्टनरसिप कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको थियो । उक्त कार्यविधि पारित भएसँगै सामुदायिक र संस्थागत विद्यालयका बीचमा सम्बन्ध विकास गरेर आपसी सिकाइ र क्षमता आदानप्रदान गर्न कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । उक्त कार्यविधि बैठकमा प्रश्तुत गर्दै महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज कोइरालाले विद्यालय शिक्षाको गुणस्तर सुधार गरी शिक्षित, संस्कारयुक्त, सक्षम र स्वस्थ नागरिक तयार गर्न विद्यालयहरु बीचमा शैक्षिक स्रोत, शिक्षण सिकाईमा नवप्रवर्तनसम्बन्धी असल अभ्यास र सफल अनुभव आदानप्रदान गर्न उक्त कार्याविधि ल्याइएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘विद्यालय शिक्षाको गुणस्तर सुधार गरी शिक्षित, संस्कारयुक्त, सक्षम र स्वस्थ नागरिक तयार गर्न विद्यालयहरु बीचमा शैक्षिक स्रोत, शिक्षण सिकाईमा नवप्रवर्तनसम्बन्धी असल अभ्यास र सफल अनुभव आदानप्रदान गर्न वाञ्छनिय भएकोले उक्त कार्यविधि ल्याइएको हो ।’
उहाँले उक्त कार्यक्रममार्फत सामुदायिक विद्यालयहरु बीच तथा निजी र सामुदायिक विद्यालयबीच समेत साझेदारी गर्न सकिने बताउनु भयो ।
काठमाडौं महानगरपालिकाद्वारा ’प्रारम्भिक बाल विकास केन्द्र (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ स्वीकृत
काठमाडौं महानगरपालिकाले प्रारम्भिक बालविकास केन्द्रको अभिलेखीकरण तथा नियमन गर्न ’प्रारम्भिक बाल विकास केन्द्र (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । महानगरपालिकाभित्र सञ्चालनमा रहेका प्रारम्भिक बालविकास केन्द्रहरुको अभिलेखीकरण गरी नियमन गर्न उक्त कार्यविधि तयार गरिएको महानगरपालिकाका शिक्षा विभाग प्रमुख नमराज कोइरालाले बताउनु भयो । महानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा जिल्ला शिक्षा कार्यलयबाट अनुमति प्राप्त गरेका वा सम्बन्धित वडा कार्यालयमा व्यवसाय दर्ता गरी सञ्चालनमा रहेका शिशु स्याहार केन्द्र, प्रारम्भिक बाल विकास तथा शिक्षा र पूर्वप्राथमिक विद्यालयहरुलाई अभिलेखीकरण गर्ने कार्यक्रम घोषणा गरेको थियो ।
उक्त कार्यविधि स्वीकृत भएसँगै कार्यविधिमा संशोधन गर्ने बाटो समेत खुला भएको छ । कार्यविधिमाथि संशोधन हाल्न चाहाने कार्यपालिका सदस्यहरुलाई यही शुक्रवारसम्म संशोधन दर्ता गराउन सकिने महानरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताउनु भयो ।
त्यसैगरी कार्यपालिकाको बैठकले काठमाडौं महानगरपालिका सामुदायिक विद्यालय आर्थिक प्रशासन नियमावली, २०८३ स्वीकृत र काठमाडौँ महानगरपालिका पुस्तकालय व्यवस्थापन निर्देशिका, २०८३ पनि स्वीकृत गरेको छ ।
काठमाडौं महानगरले स्वीकृत ग¥यो जियोडाटाबेस मार्गदर्शन, नदी किनारबाट हटाइएका सुकुम्बासीको खाना खर्च भुक्तानी
काठमाडौं महानगरपालिकाले भौगोलिक सूचना प्रणालीमा आधारित विस्तृत तथ्यांक संकलन, जियोडाटाबेस निर्माण तथा एकीकरणसम्बन्धी मार्गदर्शन, २०८३ स्वीकृत गरेको छ । बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त मार्गदर्शन स्वीकृत गर्न निर्णयार्थ प्रश्तुत गरेकोमा कार्यपालिका सदस्यहरुले टेबल बजाएर स्वीकृत गरेका हुन् । बैठकले काठमाडौं महानगरपालिका आपत्कालीन केन्द्र सञ्चालन कार्यविधि, २०८३ पनि स्वीकृत गरेको छ । बैठकले जोखिममा रहेका नदी किनारका अव्यवस्थित बसोवासीलाई उद्दार कार्य सम्पादन गर्दा र अस्थायी बसोबास स्थलमा उपलब्ध गराइएको खाना खाजाको भुक्तानी गर्ने निर्णय पनि गरेको छ । सरकारले गत बैशाख १२ र १३ गते काठमाडौंका विभिन्न स्थानमा रहेको सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाएको थियो । –न्युज एजेन्सी नेपाल