नेपालीहरुको महान पर्व बडादशैँ अन्तर्गत विजयादशमीका अवसरमा आज देशभर सर्वसाधारणले आफ्ना मान्यजन तथा अग्रजहरूको हातबाट रातो टीका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेका छन् ।
असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने यो पर्वमा परिवार तथा कुलकुटुम्ब भेला भई टीका–प्रसाद ग्रहण गर्ने क्रम बिहानैदेखि उत्साहका साथ जारी छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तोकेको शुभसाइतअनुसार बिहान देवी विसर्जन गरिएपछि सर्वसाधारणले घरघरमा टीका लगाउन शुरु गरेका हुन् । साइत खोज्नेहरूले निर्धारित समयमै टीका लगाए पनि सामान्यजनका लागि देवी विसर्जनपछि दिनभर मान्यजनकहाँ गएर टीका लगाउन कुनै साइतको बन्देज नहुने शास्त्रीय मान्यता रहिआएको छ । सोही आधारमा बिहानैदेखि आफन्तकहाँ जाने सर्वसाधारणको चहलपहल काठमाडौं उपत्यकासहित देशभरका प्रमुख शहर र ग्रामीण बस्तीहरूमा बाक्लो देखिन थालेको छ । घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गा भवानीको प्रसादस्वरूप आज चामल, दही र रातो अबिर मिश्रित अक्षता र जौको जमरा शिरमा सिउरिने परम्परा छ । मान्यजनले टीका लगाइदिँदा दीर्घायु, सुस्वास्थ्य, समृद्धि, प्रतिष्ठा र विजयको आशीर्वाद प्रदान गर्ने गर्छन् । युवा तथा बालबालिकाहरू नयाँ लुगामा सजिएर अग्रजहरूबाट टीका र दक्षिणा थाप्न पाउँदा निकै प्रफुल्ल मुद्रामा छन् । यसैगरी, विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा समेत बिहानैदेखि दर्शनार्थीहरूको ठूलो भीड लागेको छ । चाडपर्वका कारण सुनसान बनेका सडकहरूमा दिउँसोदेखि भने टीका लगाउन हिँडेका मानिसहरू तथा सवारी साधनहरूको चहलपहल बिस्तारै बढ्न थालेको छ । नेपालका कतिपय समुदायमा विजयादशमीको दिन मात्र टीका लगाउने चलन भएपनि अधिकांश पहाडी भेग र हिन्दु धर्मावलम्बीहरूमा कोजाग्रत पूर्णिमासम्म मान्यजन तथा आफन्तहरूकहाँ पुगेर टीका र जमरा थाप्ने प्रचलन रहिआएको छ । टाढा–टाढा रहेका परिवारका सदस्यहरू एकै ठाउँमा भेला हुने, मीठो–मसिनो खाने र आपसमा शुभकामना साटासाट गर्ने भएकाले यो पर्व पारिवारिक मिलन र सामाजिक सद्भावको मुख्य सेतु बनेको छ । –न्युज एजेन्सी नेपाल