नेपाल प्रहरीले बडादशैँ लगायतका मुख्य चाडपर्वहरूलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित बनाउन विशेष सुरक्षा कार्ययोजनासहित चौबीसै घण्टा सुरक्षाकर्मी परिचालन गरेको छ ।
चाडपर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा आकस्मिक सुरक्षाका लागि तीनै तहका सरकारसँग समन्वय गर्दै प्रविधिजन्य सुरक्षा निगरानीमा विशेष जोड दिइएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखिएको जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले गृह मन्त्रालयको निर्देशन र समन्वयमा समाज, टोल, बस्तीदेखि प्रदेश तथा राष्ट्रिय स्तरसम्मै आन्तरिक सुरक्षा व्यवस्थापन सुदृढ पारिएको स्पष्ट पार्नुभयो । दशैँको अवसरमा नागरिकहरू हर्षोल्लासपूर्वक चाडपर्व मनाउन घर फर्किने क्रम बढिरहेका बेला प्रहरी कर्मचारीहरूको बिदा स्थगित गरी चौबीसै घण्टा सेवामा खटाइएको छ । प्रवक्ता काफ्लेकाअनुसार आकस्मिक सुरक्षा, चोरी, डकैती तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न नियमित गस्ती, सादा पोसाकका टोली परिचालन र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइएको छ । यस कार्यमा स्थानीय सरकारहरूसँग प्रत्यक्ष समन्वय गरी प्रविधिमैत्री सुरक्षा प्रणाली अवलम्बन गरिएको छ । सुरक्षा निकायले व्यावसायिक निष्ठा र शुन्य सहनशीलताको नीति अवलम्बन गर्दै नागरिकको सुरक्षामा तल्लीन रहन मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिइसकेको छ ।
उहाँले भन्नुभयो, ‘स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा गृह मन्त्रालयको निर्देशन र समन्वयमा नेपाल प्रहरीले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन कुनै कसर बाँकी राखेको छैन । प्रविधिमैत्री सुरक्षा, आकस्मिक उद्धार र नागरिक सेवालाई प्राथमिकता दिँदै सम्पूर्ण प्रहरी कर्मचारी शून्य सहनशीलताको नीतिअनुसार चौबीसै घण्टा खटिएका छन् । नागरिकको खुशी र सन्तुष्टिलाई आफ्नो खुशी मान्दै नेपाल प्रहरी सुरक्षित समाज निर्माणमा प्रतिवद्ध छ । सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा बडादशैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । चाडपर्व मनाउँदा आफ्नो कर्तव्य, अनुशासन र मर्यादा कायम राख्दै अरूको अधिकारको सम्मान गरौँ । ट्राफिक नियमको पूर्ण पालना गरौँ, स्वास्थ्यको ख्याल गरौँ र सुरक्षालाई पहिलो प्राथमिकतामा राखौँ । सुरक्षा भनेको सधैँ सचेत र शतर्क रहनु हो । आफू पनि सुरक्षा नियम पालना गरौँ र अरूलाई पनि पालना गर्न प्रेरित गरौँ । सुरक्षित, सभ्य र सौहार्दपूर्ण वातावरणमा हर्षोल्लासका साथ दसैँ मनाऔँ। सम्पूर्ण नागरिकमा यही हार्दिक अनुरोध गर्दछु ।’
यसैबीच, प्रहरीले नागरिकहरूलाई पनि सुरक्षा सावधानी अपनाउन विशेष अपिल गरेको छ । प्रवक्ता काफ्लेले ‘एबीसी’ अर्थात ‘सधैँ होसियार बनौँ’ भन्ने नियम स्मरण गराउँदै घर छाडेर यात्रा गर्दा वा भीडभाडमा हिँड्दा व्यक्तिगत तथा पारिवारिक सुरक्षाका आधारभूत उपायहरू अवलम्बन गर्न आग्रह गर्नुभयो । चाडपर्व मनाउने क्रममा कसैको अधिकार हनन नहुने गरी अनुशासित र मर्यादित बन्न, स्वास्थ्यको ख्याल राख्न तथा यात्राका क्रममा अनिवार्य रूपमा ट्राफिक नियमको पूर्ण पालना गर्न समेत नेपाल प्रहरीले सम्पूर्ण नागरिकमा अनुरोध गरेको छ । –न्युज एजेन्सी नेपाल