‘सडकहरू खाली भएर के भयो त ? मनहरू यसैगरी भरिइरहुन्, टीका र जमराको रङ्ग कहिल्यै नखुइलियोस्’ (फोटो फिचर)

.

घटस्थापनादेखि नै शहर खाली गरेर गाउँघर फर्किनेहरूको लर्कोले काठमाडौंका गल्ली र मुख्य सडकहरू केही दिनका लागि सुनसानप्रायः बनेका थिए । सधैं हतारमा कुद्ने गाडीहरूको कोलाहल थामिएको थियो, धुवाँ र धूलोको साम्राज्य हटेर उपत्यकाको आकाश नीलो र सफा बनेको थियो । तर जब विजयादशमीको साइत जु¥यो, शहरको मौनता एकैछिनमा भङ्ग भयो । घरघरमा दुर्गा भवानीको प्रसादस्वरुप रातो अक्षता र पहेंलो जमरा लगाइयो । मान्यजनका हातबाट ‘सधैं सुखी रहनू, यशस्वी हुनू’ भन्दै शीरमा अक्षताका दानाहरू बर्सिए । त्यसलगत्तै शुरु भयो–मामाघर, ठूलाबुवा, काका र ससुराली पुग्ने आत्मीय दौडधुप । उपत्यकाका सडकहरूमा अब केवल सवारी साधन गुडिरहेका थिएनन्, त्यहाँ परम्परा, प्रेम, सम्बन्ध र पुस्तान्तरणको अनौठो संगम गुडिरहेको थियो । कसैको दुईपाङ्ग्रेमा सिङ्गो परिवार अटाएको थियो भने कोही खुला पिकअप गाडीमा सबै नातेदार मिलेर हुइँकिएका थिए । कसैका हातमा कोसेलीका रङ्गीन झोला थिए भने कसैका आँखामा आफ्नै पाङ्ग्रा हाँकेर माइत पुग्ने स्वाभिमानको चमक थियो । सडकको चिसो हावालाई छिचोल्दै अगाडि हेल्मेट लगाएका चालक र पछाडि मखमली रातो कुर्तामा सजिएकी चेली । निधारमा मान्यजनको हातबाट सजिएको टहटह रातो अक्षता र कानमा पहेंलो जमरा । वर्षभरिको व्यस्तता र शहरिया दौडधुपलाई बिर्सेर जब टीकाको दिन शुरु हुन्छ, काठमाडौंका प्रायः शून्य देखिने फराकिला सडकहरूमा यस्तै रङ्गीन दृश्यहरू तैरिन थाल्छन् । निधारमा रातो अक्षता, कानमा जमरा सिउरिएका यात्रुहरू एकापसमा भेट हुँदा मुस्कुराउँछन् । ट्राफिक जामको झर्कोफर्को होइन, सबैका आँखामा एउटै गन्तव्य झल्किन्छ–आफन्त, मान्यजन र आत्मीय जनहरूको आँगन । यो केवल सडक पार गर्ने यात्रा मात्र होइन, पुस्तान्तरण हुँदै आएको पारिवारिक प्रेम, आदर र आशीर्वादको निरन्तर प्रवाह हो । सुन्तला रङ्गको स्कुटर, आँखामा स्टाइलिश कालो चस्मा र निधारमा चन्द्रमाझैँ सजिएको रातो अक्षता । आफ्नै रफ्तारमा चाडको रौनकता समात्न निस्किएकी एक आत्मनिर्भर चेलीको यो रूप नेपाली समाजको बदलिँदो सुन्दर तस्बिर हो । विगतका दिनहरूमा चेलीबेटीहरू माइत वा आफन्तकहाँ पुग्न दाजुभाइ वा श्रीमानको समय कुर्नुपर्ने बाध्यता थियो । आज त्यो समय बदलिएको छ । रातो कुर्था–सुरुवाल र घाँटीमा पोते, टाउकोमा सुरक्षाको हेल्मेट अनि हातमा आफ्नै सवारीको स्टेयरिङ । उनी कसैको भरमा होइन, आफ्नै निर्णय र गतिमा दशैँको आशीर्वाद थाप्न हिँडेकी छिन् । आधुनिकता र परम्पराको यो जीवन्त सम्मिश्रणले स्पष्ट सन्देश दिन्छ–संस्कृति जोगाउनु पछाडि फर्किनु होइन, गर्वका साथ अगाडि बढ्नु हो । खुला गाडीको फलामे जालीबाट बाहिर चियाइरहेका साना अवोध मुहारहरू । निधारभरि रातो टीका, गलामा सजिएका चम्किला गहना र हावासँगै उडिरहेका कपालहरू । यो दृश्यले नेपाली मनको साँचो सामूहिकता बोल्छ । चाडपर्व मनाउन विलासी साधन नै चाहिन्छ भन्ने छैन, मनमा चाडको भावना हुनुपर्छ । एउटै गाडीको ढालामा तीन पुस्ताका सदस्यहरू कोचाकोच तर मन फुकाएर हाँस्दै यात्रा गरिरहेका छन् । जाली समातेर शहरका घर र रुखहरू गन्दै गरेका बालबालिकाहरूका लागि यो केवल गाडी चढाइ होइन, जीवनभरका लागि स्मृतिमा अङ्कित हुने दशैँको रोमाञ्चक संस्मरण हो । एकापसमा टाँसिएर बसेका हजुरआमा, आमाहरू र नातिनातिनाको यो दृश्यले संयुक्त परिवारको तातोपनलाई सडकभरि छरिदिएको छ । अगाडि ह्याण्डल छेउमा स्टाइलिश चस्मा लगाएर बसेको छोरा, बीचमा बुबाको ज्याकेट समातेकी छोरी, ड्राइभिङमा शतर्क बुबा र पछाडि सबैलाई मायाको घेरामा बाँधेर बसेकी आमा । सुरक्षा र ट्राफिक अनुशासनका कसीमा यो जोखिमपूर्ण देखिए पनि, यो तस्बिर मध्यमवर्गीय नेपाली परिवारको बाध्यता, समर्पण र चाडपर्वप्रतिको गहिरो मोहको वास्तविक ऐना हो । सार्वजनिक यातायात फाट्टफुट्ट मात्र चल्ने दशैँको समयमा आफन्तको आशिष थाप्न जान यही दुईपाङ्ग्रे नै उनीहरूको ‘हवाईजहाज’ बनिदिन्छ । छोराको आँखाको कालो चस्माले रमाइलो बालपन देखाउँछ भने बाबुको हातको संयमताले परिवारप्रतिको जिम्मेवारी । सबैका निधारमा रातो अक्षता टल्किएको छ । हातमा रातो–पहेंलो रङ्गीन कोसेलीको झोला, नानीको हात समातेकी आमा, सँगै पाइला मिलाइरहेका युवाहरू र पछाडि ढाकाटोपी ढल्काएका पाका पुस्ता । सडकको पेटीमा यो हिँडाइ कुनै औपचारिकता होइन, सम्बन्ध नवीकरणको यात्रा हो । दशैँमा रित्तो हात आफन्तकहाँ गइँदैन भन्ने हाम्रो मौलिक संस्कार छ । झोलामा मिठाई, फलफूल, सेलरोटी वा नयाँ वस्त्रका उपहारहरू सजिएका छन् । सवारी साधनको धूवाँधुलोभन्दा पर, पैदल हिँड्दै एकापसमा गफिँदै बाटो काट्नुको आफ्नै स्वाद हुन्छ । बाटामा भेटिने छिमेकी र साथीभाइलाई ’जय नेपाल! टीका लगाउनुभयो?’ भन्दै कुशलक्षेम सोधिन्छ । दशैँको यो पैदल यात्राले काठमाडौंका आधुनिक सडकहरूलाई गाउँघरको चौतारीजस्तै आत्मीय र न्यानो बनाइदिएको छ । निधारको बीचभाग ढाक्ने गरी लगाइएको चामलको रातो अक्षता । कानमा हल्लिरहेको परम्परागत चाँदीको माछा आकारको झुम्का, छातीमा च्यापिएको झोला र शरद ऋतुको सुस्तरी चलेको हावाले उडाएका कालो केश । निधारको त्यो रातो अक्षता केवल रङ्ग होइन, हजुरबुवा–हजुरआमा, आमाबुवाको थरथराउँदा हातले दिएको ’दीर्घायु, आरोग्य र सफलता’ को जीवन्त मन्त्र हो । युवतीको शान्त र गम्भीर आँखाले अगाडिको सडक नियालिरहेको छ । त्यहाँ चाडपर्वको उल्लाससँगै आगामी दिनहरूमा जीवनका गोरेटाहरू पार गर्ने दृढ अठोट पनि देखिन्छ । जहाँ–जहाँ नेपाली पुग्छन्, त्यहाँ–त्यहाँ यो रातो अक्षताले उनीहरूको पहिचान, संस्कार र आत्मीयताको ज्योति बालिदिन्छ । ‘सडकहरू खाली भएर के भो त ? मनहरू यसैगरी भरिइरहुन्, टीका र जमराको रङ्ग कहिल्यै नखुइलियोस् ।’ –न्युज एजेन्सी नेपाल
 (तस्बिरहरुः अनुप प्रधान, न्युज एजेन्सी नेपाल)