देशको स्वाभिमानमा आँच पुर्‍याउने काम हुँदा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँः माधव नेपाल

.

नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले देशको स्वाभिमानमा आँच पु¥याउने काम हुँदा आफूहरु टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभएको छ ।
दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उहाँले राष्ट्रिय हितमा आघात पुग्ने र देशको स्वाभिमानमा आँच आउने गतिविधिलाई स्वीकार गर्न नसकिने बताउनुभएको हो । उहाँले राष्ट्रियताबारे जनचेतना र जागरण अभिवृद्धि गर्न पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको बताउनु भयो । राष्ट्रियता, संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनजीविकाका सवाल आफूहरुको प्राथमिकतामा रहेको उहाँको भनाई छ । उहाँले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न संविधानको संरक्षण आवश्यक रहेको बताउनु भयो । लोकतान्त्रिक गणतन्त्र, समावेशिता र विधिको शासनलाई संस्थागत गरेको संविधानको रक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरूको काँधमा रहेको उहाँको भनाइ छ । संविधान जनताको संघर्ष, मेहनत र योगदानबाट निर्माण भएकाले त्यसलाई कमजोर पार्ने प्रयास स्वीकार्य नहुने उहाँले बताउनु भयो । संविधानको रक्षा र विधिको शासनप्रतिको प्रतिबद्धतालाई अभियानका क्रममा प्रमुखताका साथ उठाइने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘इतिहासमा खेलेको गौरवशाली भुमिकालाई कसैले बिर्सिन्छ भने उसले नयाँ इतिहास निर्माण गर्न सक्दैन । आफ्ना पुर्खाहरूले खेलेको भुमिकाको जसले सम्मान गर्न सक्दैन भने उसले सम्मानजनक कीर्ति पनि काम गर्न सक्दैन । अहिले हामी थरीथरीका कुराहरू नयाँ नयाँ भाष्यहरू सुन्ने गरेका छौँ, त्यसैमा बग्ने गरेका छौँ, बहकिने गरेका छौँ र त्यसको सत्य तथ्यहरू पत्ता लगाउने कुरा भन्दा पनि गैरजिम्मेवार ढंगले चर्चा गरेका पनि छन् । तर यसका साथसाथै पनि विभिन्न पार्टीहरूले पनि आफूबाट कहाँ कमजोरी भए, के के कमजोरी भए त्यसको पनि समीक्षा गर्नुपर्छ । काम गर्दाखेरि कमी कमजोरी हुन सक्दछ, त्यसमा आत्तिनुपर्ने पनि आवश्यकता छैन । यस अर्थमा पनि हाम्रो पार्टी राष्ट्रियताप्रति प्रतिबद्ध भएको पार्टी भएको हुनाले हाम्रो राष्ट्रिय हितमाथि कुनै किसिमले पनि आघात पु¥याउने कुनै काम हुन्छ भने, देशको स्वाभिमानमा आँच पु¥याउने कुनै पनि काम हुन्छ भने त्यसलाई हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ । यो सन्देश दिनका लागि पनि, जनतामा चेतना जगाउनका लागि पनि, जागरण पैदा गर्नका लागि पनि यो राष्ट्रियताको इस्युलाई हामीले सबैभन्दा उच्च महत्व दिएर यो अभियान सञ्चालन गर्न गइरहेका छौँ । हामीले जनताकै संविधानलाई निर्माण गरेर विश्वकै सन्दर्भमा पनि एउटा कीर्तिमान कायम गरेको हुनाले पनि यो जनताको त्याग, तपस्या, बलिदानबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्ने संविधानको रक्षा गर्ने सन्देश पनि हामीले दिन चाहेका छौँ । गणतन्त्रको रक्षा गर्ने कुरा, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने कुरा, समावेशिताको नीतिलाई अवलम्बन गर्ने कुरालाई संस्थागत गरेको यो संविधान, यो संविधानको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ । यसरी यो संविधान को रक्षा गर्ने सन्दर्भमा पनि हामीले जनताको बीचमा एउटा सन्देश दिनुपर्ने आवश्यकता छ । त्यो जनताको हितको रक्षा गर्ने कुरामा प्रतिबद्ध भएको यो संविधान हाम्रो रगत र पसिनाबाट निर्माण भएको छ, मेहनतबाट, संघर्षबाट निर्माण भएको छ । यसलाई कसैले पनि समाप्त पार्न खोज्छ भने त्यो हामीलाई स्वीकार्य हुन सक्दैन । त्यस हुनाले संविधानको रक्षा गर्नुपर्ने, विधिको शासनको पालना गर्ने कुराप्रति प्रतिबद्धता व्यक्त गर्नुपर्ने यो मान्यताहरूलाई पनि हामीले जोरदार रूपमा उठाउने कुरा सोचेका छौँ ।’
उहाँले इतिहासमा खेलेको गौरवशाली भूमिकालाई बिर्सेर नयाँ इतिहास निर्माण गर्न नसकिने बताउनु भयो । विगतका योगदानको सम्मान र वर्तमानका कमजोरीको समीक्षा आवश्यक रहेको उहाँको भनाई छ । नयाँ भाष्यका नाममा विभिन्न विषयमा तथ्यहीन र गैरजिम्मेवार ढंगले चर्चा हुने गरेको उहाँले बताउनु भयो । पार्टीभित्र त्रुटी र कमजोरी भमा त्यसलाई स्वीकार गर्दै सुधार गर्न तयार रहेको बताउँदै उहाँले जनतासँग जोडिने, राष्ट्रियता र संविधानको रक्षा गर्ने तथा जनताका समस्यालाई सम्बोधन गर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल