प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आईतवार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री साहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहलगायत सहभागी हुनुहुन्छ । उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसहित भ्रमण टोलीमा ३५ जना सदस्य रहेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ । सोमवार भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ । आईतवार नै भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री साहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुनेछ । दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने जनाइएको छ । भ्रमणको दोस्रो दिन प्रधानमन्त्री साहले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री साह भ्रमण सम्पन्न गरी सोमवार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ । उहाँ स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी दिनुहुनेछ । –न्युज एजेन्सी नेपाल




