बाह्रखरी कथा प्रतियोगिताको प्रथम पुरस्कार चेतनाथ आचार्यलाई, ‘भोटेकोशीको सुसाहट’ उत्कृष्ट

.

बाह्रखरी मिडियाले आयोजना गरेको ‘डिगो १२ खरी कथा प्रतियोगिता, २०८३’ को प्रथम पुरस्कार कथाकार चेतनाथ आचार्यले प्राप्त गर्नुभएको छ ।
उहाँको ‘भोटेकोशीको सुसाहट’ शिर्षकको कथाले प्रथम स्थान हासिल गर्दै नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो । प्रतियोगितामा ‘सपनाको अर्को रङ्ग’ कथाका कथाकार मधुर भट्टराई द्वितीय हुनुभएको छ । उहाँले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । यस्तै, ‘अस्तित्वको अल्गोरिदम’ कथाकी कथाकार सरस्वती सरस तृतीय हुनुभएको छ । उहाँले नगद ६० हजार रुपैयाँ प्राप्त गर्नुभयो । आईतवार काठमाडौंमा आयोजित विशेष समारोहमा प्रतियोगिताका विजेता घोषणा गरिएको हो । कार्यक्रममा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले विजेता कथाकारहरूलाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सोही अवसरमा प्रतियोगिताका लागि नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त एक हजार २२९ कथामध्ये उत्कृष्ट २५ कथाको सङ्ग्रह ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ पनि सार्वजनिक गरिएको छ । सभामुख अर्यालले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।
प्रतियोगितामा उत्कृष्ट २५ कथाकारमध्ये प्रथम, द्वितीय र तृतीय हुनेबाहेक अन्य २२ कथाकारलाई जनही सात हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । उत्कृष्ट २५ कथाकारमा अनिता कोईराला, अपेक्षा कार्की, आशिष श्रेष्ठ, कान्ति न्यौपाने, कुशल गौतम, गरिमा आचार्य, चेतनाथ आचार्य, चेबन शर्मा, दीपेन्द्र विष्ट, निर्मल ढुंगाना, प्रकाश राई, प्रवीण याम्फु, बद्री अधिकारी, मधुर भट्टराई, ममता राई, मसान उपासक, युवराज भट्टराई, रजनी ढुंगाना, राकेशकुमार वर्णवाल, राजेन्द्र तारकिणी, श्रेयज सुवेदी, सपना अधिकारी, सरस्वती सरस, सुधन सुवेदी र डा. सुरेन्द्र गैरे रहनुभएको छ ।
आठौँ संस्करणको प्रतियोगितामा नेपालका विभिन्न स्थानसँगै भारत, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्ड, साइप्रस, कुवेत, साउदी अरब, इजरायल, कम्बोडिया र इण्डोनेसियालगायत मुलुकमा बसोबास गरिरहेका नेपाली कथाकारले सहभागिता जनाएका थिए । कथा छनोटका लागि बाह्रखरी मिडियाले आन्तरिक र बाह्य गरी दुईवटा मूल्यांकन समिति गठन गरेको थियो । वाह्य निर्णायक समितिको संयोजक अग्रज कथाकार भुवन ढुंगाना रहनुभएको थियो भने समालोचक तथा साहित्यकार डा. ज्ञानु अधिकारी र लेखक तथा चलचित्रकर्मी खगेन्द्र लामिछाने सदस्य हुनुहुन्थ्यो । आन्तरिक मूल्यांकन समितिको संयोजन बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीले गर्नुभएको थियो ।
उत्कृष्ट २५ कथाको सङ्ग्रह ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ फाइनप्रिन्टले बजारमा ल्याएको हो । उक्त कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गर्नुभएको छ ।
बाह्रखरी मिडियाले विगत आठ वर्षदेखि कथा लेखन र कथाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले निरन्तर कथा प्रतियोगिता आयोजना गर्दै आएको छ । साहित्यको लोकप्रिय विधा भएपनि पछिल्लो समय कथा लेखनप्रतिको आकर्षण घट्दै गएको सन्दर्भमा नयाँ तथा पुराना पुस्ताका कथाकारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मिडियाले जनाएको छ । –न्युज एजेन्सी नेपाल