ऐतिहासिक वास्तुकलाको मौलिकता संरक्षण गर्दै आधुनिक निर्माण प्रविधिको उपयोग गर्ने विषयमा छलफल गर्दै अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन ‘पाथफाइन्डर सिम्पोजियम २०२६’ ललितपुरमा सम्पन्न भएको छ ।
‘एक्सप्लोरिङ आइडियाज, इन्स्पायरिङ डिजाइन’ नारासहित लामिनारको आयोजनामा सम्पन्न सम्मेलनमा नेपाल, स्पेन, भारत र इटालीका आर्किटेक्ट तथा प्रविधि विशेषज्ञहरूले वास्तुकला, निर्माण सामग्री र नयाँ प्रविधिबारे अनुभव आदानप्रदान गरेका थिए । सम्मेलनका मुख्य वक्ता स्पेनका आर्किटेक्ट पाउ मिलेट लोपेजले विश्वप्रसिद्ध साग्रादा फामिलिया चर्चको निर्माण अनुभव प्रश्तुत गर्दै ऐतिहासिक परिकल्पना जोगाएर आधुनिक इन्जिनियरिङ र प्रविधिको प्रयोग गर्नु चुनौतीपूर्ण तर महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँले नयाँ निर्माण गर्दा इतिहास र मौलिक पहिचानलाई बिर्सन नहुनेमा जोड दिनुभयो । कार्यक्रममा इटालीका फ्रान्सेस्को पियानी र एलेसियो लोन्डीले सिरेमिक उत्पादनमा डिजिटल प्रिन्टिङ, स्वचालन, ठूला आकारका स्ल्याव तथा नयाँ डिजाइन प्रविधिबारे प्रश्तुति दिनुभयो । यस्ता प्रविधिले सिरेमिक सामग्रीको प्रयोग भुइँ र भित्ताबाट विस्तार भएर भवनको बाहिरी आवरण, किचन काउन्टरटप र फर्निचरसम्म पुगेको उहाँहरूको भनाइ छ । कार्यक्रमका अध्यक्ष तथा नेपाली आर्किटेक्ट एवं शहरी योजनाविद् वीरेश साहले निर्माण सामग्री र प्रविधिमा भइरहेका परिवर्तनबारे आर्किटेक्ट तथा डिजाइनर जानकार हुनुपर्ने बताउनु भयो । प्रविधि, डिजाइन र उद्योगबीचको सहकार्यले नयाँ सम्भावना सिर्जना गर्ने उहाँको भनाइ छ ।
प्यानल छलफलमा स्पेनका पाउ मिलेट लोपेज, भारतका अमेय दलाल तथा इटालीका फ्रान्सेस्को पियानी र एलेसियो लोन्डी सहभागी हुनुभएको थियो । छलफलमा ऐतिहासिक सम्पदा संरक्षण, स्थानीय निर्माण सामग्री, परम्परागत सीप र आधुनिक प्रविधिको उपयोगबारे चर्चा गरिएको थियो । आयोजक लामिनारका अनुसार सम्मेलनको उद्देश्य नेपाली आर्किटेक्ट तथा डिजाइनरलाई अन्तर्राष्ट्रिय प्रविधि र वास्तुकलाका नयाँ अभ्याससँग परिचित गराउनुका साथै नेपालको मौलिक वास्तुकला र आधुनिक निर्माण आवश्यकताबीच सहकार्य विस्तार गर्नु रहेको छ । –न्युज एजेन्सी नेपाल