अन्ताल्या, टर्की । कृष्णा पौडेल
संयुक्त राष्ट्रसंघीय महासन्धिका सदस्य राष्ट्रहरुको विश्व जलवायु सम्मेलन कोप–३१ कुनै उच्चस्तरीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिवद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिएको छ । कोप–३१ मा अनुकूलन, अनुकूलन कोष र न्यायोचित संक्रमण कार्य कार्यक्रम जस्ता प्रक्रियागत निर्णय भएपनि सम्मेलनको मुख्य राजनीतिक सम्झौता नै पारित हुन नसक्नु असफलता हो । जीवाश्म इन्धनबाट संक्रमण, जलवायु वित्त, १.५ डिग्री तापक्रम कायम राख्ने लक्ष्यअनुरूप कदम र जलवायु न्यायमा विश्वको साझा प्रतिवद्धता कमजोर देखियो । जलवायुकार्यका मुल एजेण्डामा सहमति जुटाउन नसकेपछि यो सम्मेलनलाई कतिपयले असफल भएको टिप्पणी गरेका छन् । पछिल्ला दिनमा विश्वस्तरमा नै जलवायु परिवर्तनका कारण श्रृजित समस्याहरु बढ्दै गईरहेको सन्दर्भलाई आत्मसाथ गरि सही ढंगले समस्या सम्बोधन गर्नबाट एकतिस औँ कोप चुकेको छ ।
जलवायुजन्य समस्याबाट प्रभावित विकसोन्मुख मुलुकहरुले माग गरेअनुसार अनुदानमा आधारित सार्वजनिक वित्त, पर्याप्त स्रोतसहितको न्यायोचित संक्रमण संयन्त्र र शतप्रतिशत दिगो नवीकरणीय ऊर्जातर्फको रूपान्तरणका कुनैपनि योजना बन्न सकेनन् । जलवायुजन्य विपद्सँग जुधिरहेको नेपाल र नेपाल जस्ता अन्य देशहरुलाई प्रभावित समुदायलाई पुनःस्थापना र पुनर्निर्माणका लागि आर्थिक स्रोत चाहिएको छ । तर कोप–३१ ले सार्वजनिक जलवायु वित्त उपलब्ध गराउन नसक्दा नेपालजस्ता देशसँग बहुपक्षीय विकास बैंक र अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट ऋण लिनुको विकल्प सिमित हुँदै गएको छ ।
ठूला मुलुक जलवायु वित्तप्रति उत्तरदायी र जवाफदेही नहुँदा विकसोन्मुख मुलुकहरु नयाँ ऋण संकटमा पर्ने जोखिम बढाएको छ । विकासशील देशहरू असमान शासन संरचना भएका संस्थाहरूतर्फ धकेलिने छन् । जलवायु संकटले सम्पती र धन सिमित वर्गमा केन्द्रित गर्छ र प्राकृतिक स्रोत दोहन र पर्यावरणीय विनाशको लागत ग्लोबल साउथका देशहरूमाथि थोपर्छ । कोप–३१ ले यही प्रणालीलाई थप निरन्तरता दिएको छ । ग्लोवल साउथलाई थप ऋण, शर्तहरू र नाफामुखी विकास होइन, जलवायु क्षतिपूर्ति र लोकतान्त्रिक प्रक्रियामा आधारित, अनुदानमुखी सार्वजनिक वित्त चाहिन्छ । जसको प्रत्याभुतिबाट कोप पछि हटेको छ ।
पहिलो पटक विकसित मुलुकको असहमतिका कारण अवरोध
ग्लासगो कोपदेखि कभर डिसिजन आउन थालेको थियो । पहिलो पटक कभर डिसिजनमा सहमति हुन नसकेको हो । एजेण्डा आईटममा नभएका तर मुख्य विषयमा सहमति जुटाउनका लागि कोप अध्यक्षले सबै देशलाई सहमतिमा ल्याएर कभर डिसिजनमा सहमति कायम गर्ने गरिन्छ । सम्मेलनको समग्र राजनीतिक प्रतिबद्धता समेट्ने मुख्य कभर डिसिजन (अन्तिम राजनीतिक निर्णय) मा नै सहमति जुटेन । कोइला, तेल र ग्यासबाट संक्रमणका लागि स्पष्ट मार्गचित्र तथा प्रतिवद्धता आएन भने उत्सर्जन न्युनिकरण र प्रतिक्रियात्मक उपायसम्बन्धी प्रश्तावमा पनि पारित भएन । विश्व वातावरण सुविधा सम्बन्धी निर्णय समेत अगाडि बढ्न सकेन । नेपालले प्रश्तुत गरेको पर्वतीय एजेण्डालाई छुट्टै निर्णयका रूपमा स्थापित गर्ने प्रयास पनि कभर डिसिजनसँगै अड्कियो । बोन सेसनमा आगामी दुई बर्ष माउन्टेन वर्कसप गर्न दिने विषयमा पहिलो दिन नै निर्णय भइसकेको थियो । जलवायु वित्त, विशेषगरी अनुकूलनका लागि वित्त बढाउने, त्यसको सुनिश्चित आधार तय गर्ने र विकसित देशको वित्तीय जिम्मेवारी स्पष्ट गर्ने विषयमा मतभेद कायम रह्यो । त्यसैगरी, जलवायु परिवर्तनबाट हुने क्षति तथा नोक्सानीलाई सम्बोधन गर्न छुट्टै प्राथमिकता, ठोस कार्ययोजना र थप वित्तीय प्रतिवद्धता सुनिश्चित गर्ने विषयमा पनि अपेक्षित निर्णय हुन सकेन ।
विकासोन्मुख मुलुकको विरोधका कारण कोपमा निर्णयमा समस्या देखिने गरेको थियो । पहिलो पटक मुख्य विषयमा विकसित मुलुकको विरोधका कारण कोपको निर्णय प्रभावित भएको छ । यसपटक विकसित मुलुकहरुले हामीलाई चित्त बुझेन भनेका कारण कोपको निर्णय प्रभावित भएको हो ।
अध्यक्षको प्रस्तावित कभर डिसिनजनमा जिवाश्मा इन्धनको प्रयोग कम गर्ने विषय नआएको भन्दै युरोपेली संघ (इयु), बेलायत, जर्मनी, नर्वे, पनामा, बेलिज, मार्सल आइल्याण्ड्स र भानुआतु लगायतले मस्यौदा अस्वीकार गरे ।
उनीहरूको मुख्य असहमति मस्यौदामा जीवाश्म इन्धन (कोइला, तेल र ग्यास) बाट संक्रमणको स्पष्ट उल्लेख नहुनु, पेरिस सम्झौताको १.५ डिग्री तापक्रम लक्ष्यअनुरूप विज्ञानमा आधारित कार्ययोजना नआउनु र विकासशील देशका लागि जलवायु वित्तको ठोस प्रतिवद्धता नहुनु थियो । युरोपेली संघले जीवाश्म इन्धनको उल्लेखै नभएको निर्णय स्वीकार गर्न नसकिने बताएको थियो भने पनामा र मार्सल आइल्यान्ड्सले कार्बन क्याप्चरजस्ता प्रविधिमा निर्भर भएर जीवाश्म इन्धनको निरन्तरतालाई वैधता दिन खोजिएको भन्दै आपत्ति जनाएका थिए । नर्वे, बेलायत र अति कम विकसित देशहरूको समूह (एलडिसी) ले विगतका सहमति कमजोर पार्न नहुने र विज्ञानले मागेको कदमबाट पछि हट्न नहुने अडान राखेका थिए । उनीहरूको विरोध केवल शब्दावलीमा सीमित थिएन; जीवाश्म इन्धनबाट संक्रमणको स्पष्ट मार्गचित्र, अनुकूलन वित्तको सुनिश्चितता र जलवायु संकटको जिम्मेवारीअनुसारको न्यायपूर्ण कार्य माग थियो । अन्ततः यी मतभेदका कारण मुख्य कभर डिसिजनमा सहमति जुट्न सकेन ।
जलवायु संकटको गहिरिँदो असर, वैज्ञानिक चेतावनी र जोखिममा रहेका देशहरूको बढ्दो दबाबका बीच सम्पन्न कोप–३१ अपेक्षाअनुरूप परिणाम दिन नसकेको सम्मेलन बनेको छ । जीवाश्म इन्धनबाट संक्रमणको स्पष्ट मार्गचित्र, जलवायु वित्तमा ठोस प्रतिबद्धता र जोखिममा रहेका देशका लागि न्यायपूर्ण सहयोगको मुद्दा फेरि राजनीतिक स्वार्थ र वार्ताको जटिलतामा अल्झिए । जलवायु संकटको प्रमुख कारक जीवाश्म इन्धनलाई क्रमशः विस्थापित गर्ने विषयमा विश्व विभाजित बन्यो । विकसित देशले वित्तीय दायित्व पूरा गर्ने सवालमा पनि विश्वासको संकट कायमै रह्यो । सम्मेलनको अन्तिम निर्णयमा जीवाश्म इन्धनबाट संक्रमणको स्पष्ट योजना समेटिएन, जबकि जलवायु अनुकूलन र वित्तमा विकासशील देशका अपेक्षासमेत कमजोर सम्बोधनमा सिमित भए । लैङ्गिक न्यायको सवालमा पनि सम्मेलन पछि हट्यो । महिला तथा किशोरीको जलवायु निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता र लैङ्गिक उत्तरदायी कार्ययोजनाप्रति प्रतिवद्धता कमजोर हुनु तथा अन्तिम मस्यौदाबाट ‘जेन्डर’ शब्द हटाइनुले जलवायु संकटको असमान प्रभावलाई सम्बोधन गर्ने राजनीतिक इच्छाशक्तिमाथि प्रश्न उठाएको छ । अन्ततः सहमति निर्माणको कमजोरी, भू–राजनीतिक स्वार्थ र कमजोर प्रतिवद्धताले कोप–३१ लाई जलवायु न्यायको दृष्टिले निराशाजनक सम्मेलनको रुपमा चिनायो ।
संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको अन्तिम चरणमा विश्व जलवायु राजनीतिमा गम्भीर मतभेद देखियो । सम्मेलनबाट जलवायु संकट समाधानका लागि महत्वपूर्ण र महत्वाकांक्षी सम्झौता हुने अपेक्षा गरिएका बेला युरोपेली संघ र मध्य अमेरिकी देश पानामाले अन्तिम सम्झौताप्रति औपचारिक असहमति जनाए । उनीहरूको विरोधको केन्द्रमा जीवाश्म इन्धन (कोइला, तेल र ग्यास), जलवायु वित्त, उत्सर्जन कटौती र जलवायु परिवर्तनबाट प्रभावित कमजोर देशलाई दिइने आर्थिक सहयोगका विषय थिए । विश्वका सरकारहरूले जलवायु संकटको गम्भीरता स्वीकार गरेपनि त्यसअनुसारको कार्ययोजना, आर्थिक स्रोत र राजनीतिक प्रतिबद्धता जुटाउन भने असफल भए । कोप ३१ को अन्तिम चरणमा देखिएको विवादले अन्तर्राष्ट्रिय जलवायु वार्तामा रहेको यही विरोधाभासलाई फेरि उजागर गरेको छ ।
युरोपेली संघले विज्ञान र पेरिस सम्झौताको लक्ष्यअनुसार पर्याप्त कदम नचालेको सम्झौता स्वीकार गर्न नसकिने प्रतिक्रिया दियो । पानामाले जीवाश्म इन्धनको उत्पादन र प्रयोगबाट बाहिरिने स्पष्ट प्रतिबद्धताबिना कुनै पनि जलवायु सम्झौता अर्थपूर्ण नहुने अडान राख्यो । विश्वका २ हजार ५ सय भन्दा बढी नागरिक समाज संस्थाको प्रतिनिधित्व गर्ने क्लाईमेट एक्शन नेटवर्क क्यानले पनि अन्तिम मस्यौदा कमजोर र जलवायु न्यायको दृष्टिले अपर्याप्त भएको भन्दै अस्वीकार गर्न सरकारहरूलाई आह्वान नै ग¥यो । निर्धारित समय भन्दा दुईदिन लम्बिएको सम्मेलन इयुको प्रतिक्रियाले थप अन्योल बनायो । आयरल्याण्डका जलवायु मन्त्री ड्याराग ओ’ब्रायनले ईयुका तर्फबाट अन्तिम पूर्ण बैठकमा प्रश्तुत सम्झौताप्रति औपचारिक असहमति जनाए । ईयुको मुख्य आपत्ति अन्तिम मस्यौदामा जीवाश्म इन्धनको उल्लेख नै नहुनु थियो । जलवायु परिवर्तनको प्रमुख कारणका रूपमा कोइला, तेल र ग्यासबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई लिइन्छ । यस्तो अवस्थामा जलवायु संकट समाधान गर्ने उद्देश्यले आयोजित सम्मेलनको अन्तिम सम्झौतामा जीवाश्म इन्धनलाई सम्बोधन नगरिनु गम्भीर विषय हो । जलवायु सम्झौता केवल सामान्य प्रतिबद्धता र राजनीतिक घोषणामा सीमित हुनु हुँदैन । यसले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने पेरिस सम्झौताको लक्ष्य हासिल गर्न आवश्यक ठोस कदम चाल्नु पथ्र्यो ।
सन् २०१५ मा भएको पेरिस सम्झौताले १.५ डिग्रीमा सीमित राख्न प्रयास गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर अहिले देशहरूले गरेका उत्सर्जन कटौतीका प्रतिवद्धता र वैज्ञानिक अध्ययनले आवश्यक ठानेको कटौतीबीच ठूलो अन्तर छ । इयुको भनाइमा कोप ३१ ले यही अन्तर घटाउने प्रभावकारी बाटो देखाउन सकेन । जीवाश्म इन्धनको उल्लेख हटाइनु, कार्यान्वयनका लागि पर्याप्त प्रतिवद्धता नहुनु र जलवायु विज्ञानले देखाएको आवश्यकतालाई सम्बोधन गर्न नसक्नुले कोपलाई असफल भन्न सकिन्छ । तर इयुको विरोधलाई सबै जलवायु अभियन्ताले पूर्ण रूपमा स्वागत गरेका छैनन् । जलवायु अभियानकर्मीहरूले युरोपेली संघ आफैँले पनि सम्मेलनका कतिपय महत्ढवपूर्ण विषयमा प्रगति रोक्न भुमिका खेलेको आरोप लगाएका छन् । विशेषगरी न्यायपूर्ण ऊर्जा परिवर्तन र जलवायु अनुकूलनका लागि आर्थिक सहायता बढाउने विषयमा ईयुको अडानमाथि प्रश्न उठाइएको छ । जीवाश्म इन्धनको उल्लेख नभएको कमजोर सम्झौताको विरोध गरे पनि जलवायु न्याय र विकारसशील देशको आर्थिक आवश्यकताका विषयमा उसको आफ्नै भूमिका विरोधाभास छ ।
तेल उत्पादन नियन्त्रणबिना जलवायु सम्झौता स्वीकार्य छैनः पानामा
ईयुको तुलनामा पानामाले जीवाश्म इन्धनको विषयलाई अझ स्पष्ट र आक्रामक रूपमा उठाएको छ । पानामाका वातावरणमन्त्री जुआन कार्लोस नाभारोले सम्मेलनको नेतृत्व गरिरहेका टर्की र अस्ट्रेलियाका प्रतिनिधिहरूलाई असहमति जाहेर गरेका थिए । पानामाको मुख्य माग जीवाश्म इन्धनको उत्पादन र प्रयोगबाट बाहिरिने स्पष्ट प्रतिवद्धता थियो । उसले तेल उत्पादनलाई नियन्त्रण गर्ने र जलवायु सम्झौतामा त्यसको स्पष्ट उल्लेख गर्ने माग गरेको थियो । जलवायु परिवर्तनको प्रमुख कारण जीवाश्म इन्धन हो भने यसको समाधान उत्सर्जन घटाउने सामान्य प्रतिवद्धतामा मात्र सिमित हुन नहुने भन्दै कोइला, तेल र ग्यासको उत्पादन तथा प्रयोगबाट कहिलेसम्म बाहिरिने भन्ने विषय अन्तर्राष्ट्रिय सम्झौतामा स्पष्ट गरिनुपर्ने तर्क उसको रहेको छ । दुबईमा सम्पन्न कोप २८ले जीवाश्म इन्धनबाट क्रमिक रूपमा बाहिरिने निर्णय गरेको थियो । यो निर्णयलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको थियो । तर कोप ३१ को मस्यौदामा त्यही विषय हटाइएपछि विकसित देशहरुको पश्चगामी निर्णयप्रति असन्तुष्ठी चुलिएको हो । पानामाका वातावरणमन्त्री नाभारोले जलवायु वार्तालाई पेट्रोलियम माफियाले बन्धक बनाएको आरोप लगाएका छन् । जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित विकासशील देशहरूसँग बाढी, खडेरी, समुन्द्री सतह वृद्धि र अन्य विपत्तिसँग जुध्न पर्याप्त स्रोत नभएको भन्दै धनी देशहरूले आर्थिक सहयोगको स्पष्ट प्रतिवद्धता जनाउनुपर्ने पानामाको माग छ । पानामाले सम्झौतामा सहभागी नहुने भन्दै औपचारिक असहमति नै जनायो ।
क्लाइमेट एक्शन नेटवर्क क्यान असन्तुष्ट
अन्तर्राष्ट्रिय नागरिक समाजको सञ्जाल क्लाईमेट एक्शन नेटवर्क क्यानले मस्यौदाप्रति कडा असन्तुष्टि जनाएको छ । जीवाश्म इन्धनबाट बाहिरिने स्पष्ट बाटो नदेखाउनु, विकासशील देशलाई आवश्यक आर्थिक सहायता सुनिश्चित नगर्नु र न्यायपूर्ण ऊर्जा परिवर्तनलाई प्रभावकारी रूपमा अघि नबढाउनु सम्झौताका प्रमुख कमजोरीका रुपमा औँल्याएको छ । कार्बन क्याप्चर तथा स्टोरेज र कार्बन डाइअक्साइड रिमुभल जस्ता प्रविधिलाई अनुचित महत्व दिइएको भन्दै आलोचना गरेको छ । यी प्रविधिले उद्योगबाट निस्कने कार्बन डाइअक्साइडलाई र भण्डारण गर्ने वा वायुमण्डलबाट हटाउने उद्देश्य राख्छन् । तर यस्ता प्रविधिको वास्तविक प्रभावकारिता, लागत, विस्तार र जीवाश्म रइन्धनको निरन्तर प्रयोगलाई औचित्य दिने सम्भावनाबारे विवाद छ । सम्झौताले जलवायु संकट समाधानभन्दा जीवाश्म इन्धन उद्योगका हितलाई बढी संरक्षण गरेको भन्दै अन्तिम मस्यौदालाई अस्ट्रेलियाको अध्यक्षताबाट ग्यास उद्योगलाई दिइएको उपहारका रूपमा चित्रण गरेको थियो ।
खुम्चीयो लैङ्गिक प्रतिवद्धता
लैङ्गिक तथा जलवायु परिवर्तनसम्बन्धमा गरिएको व्यवस्थाले गम्भीर प्रश्न उठाएको छ । प्रतिवद्धता कार्यान्वयन कोपको रुपमा आफ्नो पहिचान बनाएको कोप ३१ ले महिला सहभागीताका विषयमा गरेको व्यवस्थाले विश्वका नेताहरुलाई जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित महिलालाई अन्तर्राष्ट्रिय जलवायु नीतिको केन्द्रमा राख्ने प्रतिवद्धता व्यवहारमा उतार्न सक्यौँ ? भनी प्रश्न गरेको छ । बाकुमा लैङ्गिक समानता, महिला सशक्तीकरण, जलवायु वित्त, निर्णय प्रक्रियामा सहभागिता र संस्थागत जवाफदेहितालाई जोड दिइएको थियो । यो सम्मेलनले विगतका प्रयासको प्रशंसा गर्ने र बेलेम लैङ्गिक कार्ययोजनाको कार्यान्वयनका लागि थप सहयोग आवश्यक रहेको स्वीकार गर्ने प्रक्रियामै सिमित बन्यो । बाकुको निर्णयले जलवायु परिवर्तनसम्बन्धी निर्णय प्रक्रियामा महिलाको पूर्ण, अर्थपूर्ण र समान सहभागिताको महत्वलाई जोड दिएको थियो । तर अहिलेको पाँच बुँदे निष्कर्षमा महिलाको सहभागिता बढाउने कुनै नयाँ लक्ष्य, समयसीमा वा स्पष्ट कार्यान्वयन छैन ।
जलवायु वित्तमा महिलाको प्रत्यक्ष पहुँच सुनिश्चित नगरी लैङ्गिक न्याय सम्भव छैन । विशेषगरी ग्रामीण, आदिवासी र जलवायु जोखिममा रहेका समुदायका महिलाका लागि छुट्टै वित्तीय पहुँचको सुनिश्चित गरिनुपर्ने आवाज उठिरहेका बेला पाँच बुँदे निष्कर्षले कुनै निश्चित वित्तीय रकम, महिला लक्षित वित्तीय संयन्त्र वा अनुगमनयोग्य लक्ष्य तोक्न सकेन । विकासशील देशलाई थप सहयोग आवश्यक रहेको सामान्य प्रतिवद्धता मात्र दोहो¥याइएको छ ।
यो वर्ष हिमाली क्षेत्रबाट उद्गम भएका जलवायुजन्य विपद्का कारण सबैभन्दा बढी हिमाली क्षेत्रका महिला प्रभावित भएकाले नेपालका लागि हिमाली क्षेत्रका महिलाको जलवायु न्यायले विशेष महत्व राख्दछ । नेपालले अन्ताल्याको वार्तामा हिमाली मुद्दामा केन्द्रित प्रश्ताव भूटानसँग मिलेर दर्ता गरायो । ठूलो विषयमा महिलाका विषय मात्रै थिएनन् । तर मंगोलियाले दुर्गम तथा हिमाली क्षेत्रमा बसोबास गर्ने महिलाले भोग्ने विशेष चुनौतीलाई सम्बोधन गर्ने छुट्टै अनुच्छेद प्रश्ताव गरेको थियो । तर अन्तिम पाँच बुँदे निष्कर्षमा यो विषय अटाउन सकेन ।
न्यायपूर्ण ऊर्जा परिवर्तनः श्रमिक र समुदायलाई कसले संरक्षण गर्ने ?
विश्व अर्थतन्त्रलाई कोइला, तेल र ग्यासमा आधारित प्रणालीबाट नवीकरणीय ऊर्जातर्फ लैजाने प्रक्रिया आवश्यक छ । तर यो परिवर्तन गर्दा जीवाश्म इन्धन उद्योगमा निर्भर श्रमिक, स्थानीय समुदाय र कमजोर आर्थिक अवस्थाका मानिसहरू प्रभावित हुन सक्छन् । न्यायपूर्ण ऊर्जा परिवर्तनले प्रभावित श्रमिकलाई वैकल्पिक रोजगारी, सीप विकास, सामाजिक सुरक्षा र नयाँ आर्थिक अवसर उपलब्ध गराउनुपर्छ । नवीकरणीय ऊर्जाको विस्तारबाट सिर्जना हुने रोजगारीमा स्थानीय समुदायको पहुँच सुनिश्चित गर्नुपर्छ ।
जलवायु परिवर्तन रोक्ने प्रयास र त्यसको असरबाट जोगिने प्रयास फरक विषय हुन् । उत्सर्जन घटाउनु जलवायु परिवर्तन न्युनिकरण हो भने बाढी, पहिरो, खडेरी, तापलहर र समुद्री सतह वृद्धिका असरबाट समुदायलाई सुरक्षित राख्नु अनुकुलन हो । विकासशील देशहरूका लागि अनुकुलन अत्यन्त महत्वपूर्ण छ । किनभने उनीहरूसँग जलवायु परिवर्तनको असर सामना गर्न आवश्यक आर्थिक र प्राविधिक स्रोत सिमित छन् । क्यानले धनी देशहरूले अनुकूलनका लागि उपलब्ध गराउने आर्थिक सहायता उल्लेखनीय रूपमा बढाउनुपर्ने माग गरेको छ । सन् २०३५ सम्म वार्षिक कम्तीमा १२० अर्ब अमेरिकी डलर उपलब्ध गराउने विश्वसनीय योजना आवश्यक रहेको उसको माग छ ।
जलवायु वार्ताको अर्को संवेदनशील विषय जलवायु परिवर्तनका कारण भइसकेको क्षति र नोक्शानी हो । उत्सर्जन घटाउन प्रयास गरे पनि जलवायु परिवर्तनको असरबाट पूर्ण रूपमा जोगिन सकिदैन । बाढी, आँधी, खडेरी, हिमताल विस्फोट र समुन्द्री सतह वृद्धिले ठूलो जनधनको क्षति गराउन सक्छ । यस्तो क्षतिपछि पुनर्निर्माण र प्रभावित समुदायको पुनःस्थापनाका लागि आर्थिक सहायता आवश्यक हुन्छ । यही अवधारणालाई हानीनोक्सानी वित्त भनिन्छ । विकासशील देशहरूको माग जलवायु परिवर्तनमा ऐतिहासिक रूपमा बढी योगदान गरेका धनी देशहरूले प्रभावित राष्ट्रलाई पर्याप्त सहायता उपलब्ध गराउनुपर्छ भन्ने नै हो । यस्तो सहायता ऋणका रूपमा नभई अनुदान हुनुपर्छ । किनभने जलवायु परिवर्तनको क्षति भोगेका देशलाई थप ऋणको बोझ थोपर्नु अर्को अन्याय हो ।
प्रतिवद्धता कार्यान्वयनमा कोप पश्चगमतर्फ
सहमति हुनु मात्रै सफलता होइन, त्यसले के परिवर्तन गर्छ भन्ने मुख्य प्रश्न हो । अन्तिम चरणमा देखिएको विवादले अन्तर्राष्ट्रिय जलवायु वार्ताको एउटा आधारभुत समस्या फेरि उजागर गरेको छ । विश्वका सरकारहरू जलवायु संकटको गम्भीरता स्वीकार गर्छन्, तर त्यसको समाधानका लागि आवश्यक राजनीतिक निर्णय, आर्थिक प्रतिवद्धता र कार्यान्वयनमा एकमत छैनन् भन्ने तथ्य सावित गरेको छ यो सम्मेलनले ।
जलवायु न्यायको अर्थ सबै देशले एउटै जिम्मेवारी लिनु होइन । ऐतिहासिक रूपमा बढी प्रदुषण गरेका र आर्थिक रूपमा सक्षम देशहरूले बढी जिम्मेवारी लिनु, जलवायु परिवर्तनबाट प्रभावित कमजोर देशलाई आवश्यक स्रोत उपलब्ध गराउनु र ऊर्जा परिवर्तनको भार श्रमिक तथा गरिब समुदायमाथि नथोपर्नु नै यसको मूल मर्म हो । कोप ३१ को विवादले यही प्रश्नलाई विश्व जलवायु राजनीतिमा फेरि केन्द्रमा ल्याएको छ । –न्युज एजेन्सी नेपाल