नागरिक लगानी कोषले अब लगानीलाई वृहत्त रुपमा बढाउनुपर्ने सांसदहरुले बताउनुभएको छ ।
कोषको लगानी अत्यान्तै सिमित भएको भन्दै ठूला परियोजनाहरुमा समेत कोषले लगानी बढाउनुपर्ने बताउनुभएको हो । बिहीवारको अर्थसमितिको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा लगानी गर्न कानूनले नागरिक लगानी कोषलाई नरोक्ने भएकाले त्यस्ता क्षेत्रमा लगानी विस्तार गर्न अग्रह गर्नुभयो उहाँले बुट मोडलमा निर्माण हुने सुरुङमार्गजस्ता दीर्घकालीन पूर्वाधार परियोजनामा सरकारले लगानीका लागि अवसर उपलब्ध गराउने भएकाले नागरिक लगानी कोषले पनि त्यस्ता परियोजनामा सहभागी हुनुपर्ने बताउनु भयो ।
त्यस्तै, अस्पताल तथा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि पीपीपी मोडलमार्फत सहकार्य गर्न सकिने उहाँको भनाइ छ । उहाँले आफ्नो गृहजिल्ला बागलुङमा दैनिक पाँचदेखि छ सय जनासम्म ओपीडी सेवा लिने अस्पताल रहेको उल्लेख गर्दै त्यसलाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । तर सरकारले एक्लै लगानी गर्न नसक्ने अवस्थामा नागरिक लगानी कोषजस्ता संस्थासँग सहकार्य गरेर अघि बढ्न सकिने उहाँले बताउनु भयो ।
कोषले आफ्नो लगानीको दायरा र सम्भावनालाई फराकिलो बनाउनुपर्ने सुझाव दिँदै उहाँले लगानी व्यवस्थापनमा कर्मचारी परिचालन तथा कार्यसम्पादनको दक्षता देखिए पनि प्रतिफल र इक्विटीको अवस्था अपेक्षाकृत न्युन रहेको बताउनु भयो । यद्यपि, कोषले योगदानकर्ताको रकम परिचालन गर्ने भएकाले अत्यधिक जोखिम लिएर आक्रामक रूपमा लगानी गर्न नहुने उहाँको भनाइ छ । तर जोखिमको कारण देखाउँदै लगानीका अवसरबाट पछि हट्न पनि नहुने उहाँले स्पष्ट पार्नुभयो ।
हाल कोषले दुईवटा क्षेत्रमा मात्रै लगानी गरेको र तीमध्ये पनि करिव ५० प्रतिशत लगानी कोषकै रहेको देखिएको बताउँर्दै उहाँले लगानीका नयाँ क्षेत्र र सम्भावनाको खोजी गर्नुपर्ने बताउनु भयो । यसका लागि सरकारले के गर्नुपर्छ भन्ने विषयमा अर्थ मन्त्रालयका सचिवसँग समेत छलफल गरी आवश्यक समाधान खोजिनेछ ।
कोषलाई लगानी विस्तार तथा नीतिगत सुधारका क्रममा आवश्यक सहयोग र सहजीकरण गर्न संसदीय समिति तयार रहेको उहाँले बताउनु भयो । आवश्यक परे अर्थ मन्त्रालय तथा सरकारलाई निर्देशन दिन सकिने र कोषमाथि कुनै प्रकारको विभेद भएको विषय उठेको भए त्यसलाई पनि समितिले गम्भीरतापूर्वक हेर्ने उहाँको भनाइ छ । सामाजिक सुरक्षा कोषमा सबैलाई अनिवार्य रूपमा आबद्ध गराउने व्यवस्था गरिएको तर नागरिक लगानी कोषलाई त्यहीअनुसार प्रोत्साहन नगरिएको देखिएको उल्लेख गर्दै उहाँले राज्यले आफ्नै निकायमध्ये एउटालाई प्रवद्र्धन गर्ने र अर्कोलाई उपेक्षा गर्ने नीति लिन नहुने बताउनु भयो । यस्तो व्यवहार प्राकृतिक न्यायको सिद्धान्तअनुसार पनि उचित नहुने उहाँको भनाई छ ।
सांसद् खड्काले भन्नुभयो,‘सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलको कुरा गर्दा त्यसमा कानूनले कतै रोकेको छैन । हामीले त्यसमा लगानी गर्न सक्छौँ । बुट मोडलमा सुरुङमार्गजस्ता दीर्घकालीन परियोजनामा सरकारले सार्वजनिक–निजी साझेदारीमार्फत लगानी गर्न सकिने व्यवस्था गरेको छ । त्यसैले कोष पनि त्यस्ता परियोजनामा सहभागी हुनुपर्छ । कानुनले नरोकेको विषयमा हामीले लगानीको बाटो खोल्नुपर्छ । त्यस्तै, अस्पतालहरूको कुरा पनि आउँछ । उदाहरणका लागि, मेरो बागलुङमा दैनिक पाँच–६ सय जनाले ओपीडी सेवा लिने अस्पताल छ । त्यसलाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ । तर मेडिकल कलेजमा स्तरोन्नति गर्न सरकारसँग पर्याप्त पैसा छैन । यस्तो अवस्थामा हामीले कसरी सहकार्य गर्न सक्छौँ भन्ने विषयमा पनि सोच्नुपर्छ । कोषले आफ्नो लगानीको दृष्टिकोणलाई फराकिलो र सिर्जनात्मक बनाउनुपर्छ । कोषले जनशक्ति परिचालनमा दक्षता देखाएको छ । तर लगानीको प्रतिफल र इक्विटीका हिसाबले भने अपेक्षाकृत कम देखिएको छ । त्यसो भन्दैमा कोषले अत्यधिक आक्रामक रूपमा लगानी गर्नुपर्छ भन्ने होइन, किनभने यो योगदानकर्ताको पैसा हो । तर जोखिमको डरले लगानी नै नगर्ने अवस्था पनि हुनुहुँदैन । अहिलेसम्म दुईवटा क्षेत्रमा मात्रै लगानी भएको र त्यसमा पनि करिब ५० प्रतिशत लगानी कोषकै देखिएको छ । यस विषयमा सरकारले के गर्न सक्छ भन्नेबारे सचिवज्यूको उपस्थितिमा पनि छलफल गरेर आवश्यक उपाय निकाल्न सकिन्छ । कोषले नयाँ–नयाँ योजना ल्याउनुपर्छ । अहिले अर्थतन्त्रमा खानी, वन पैदावारका उपउत्पादन तथा आतिथ्य क्षेत्रलगायतमा लगानीका अवसर देखिएका छन् । यस्ता क्षेत्रमा पनि सरकारको सार्वजनिक–निजी साझेदारी मोडलअन्तर्गत कोष कुन स्तरसम्म सहभागी हुन सक्छ भन्ने विषयमा अध्ययन गराउनुपर्छ । आवश्यक जनशक्ति छैन भने थप्न पनि सकिन्छ । यसका लागि संसदीय समितिबाट आवश्यक सहजीकरण गर्न सकिन्छ। अर्थ मन्त्रालय वा सरकारलाई निर्देशन दिनुपर्ने भए त्यसमा पनि समितिले सहयोग गर्न सक्छ । कोषमाथि विभेद भएको भन्ने विषय पनि उठेको छ । सामाजिक सुरक्षा कोष (एसएसएफ) मा सबैलाई अनिवार्य रूपमा आबद्ध गराउने व्यवस्था गरिएको तर नागरिक लगानी कोषलाई भने अपेक्षाकृत प्राथमिकता नदिइएको देखिएको छ । राज्यले आफ्नो एउटा निकायलाई प्रवद्र्धधन गर्ने र अर्कोलाई नगर्ने अवस्था हुनुहुँदैन । यो प्राकृतिक न्यायको सिद्धान्तअनुसार पनि उचित होइन । यस विषयमा किन यस्तो अवस्था सिर्जना भयो भन्नेबारे पनि अध्ययन गर्नुपर्छ ।’
नेपाली काँग्रेसका सांसद नरेन्द्र केरुङले कतिपय अधुरा योजनाहरु अघि बढाउन अब नागरिक लगानी कोष अघि सर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार पर्यटनदेखि आर्थिक गतिविधि, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रमा योगदान पुग्न सक्ने परियोजना कोष आफैँले छनोट गरेर कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो ।
केरुङले भन्नुभयो,‘फिजिबिलिटी स्टडी भएर अलपत्र परेर बसेका प्रोजेक्टहरूलाई अघि बढाउन सकियो भने पर्यटनदेखि लिएर आर्थिक गतिविधि, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रमा योगदान पुग्न सक्छ । त्यसैले त्यस्ता रणनीतिक तथा नवीन किसिमका प्रोजेक्टहरू आफैँले छनोट गरेर कार्यान्वयन गर्न पाए राम्रो हुन्थ्यो । त्यसका निम्ति अघि सुशील माननीयज्यूले पनि भनिसक्नुभएको छ कि हाम्रो ऐन, कानुनले कुनै बाधा–अड्चन खडा गरेको छ भने ऐन, कानून फुकाउने उपयुक्त समय यही नै होला । सभापतिज्यूको पनि मैले ध्यानाकर्षण गराएँ । कार्यकारी निर्देशकज्यूबाट त्यस्ता किसिमका पहल भएमा त्यसमा हामी सबै एकसाथ अगाडि बढ्न सक्छौँ ।’
नेकपा एमाले प्रा.डा.सांसद पुष्पराज कँडेलले नागरिक लगानी कोषको संस्थाले गरेको आवश्यकता र सरकारले ल्याएको संशोधन विधेयक विच तालमेल मिल्न नसकेको बताउनु भयो । उहाँले विधेयकमा सरकारले जतिबेला पनि कार्यकारी निर्देशक हटाउन सक्ने प्रवधानमाथि प्रश्न उठाउनु भयो ।
कँडेलले भन्नुभयो,‘ माननीय अर्थमन्त्रीज्यूले यस विषयमा आफ्ना कुराहरू राखिसक्नुभएको छ । आज कार्यकारी निर्देशकज्यूले पनि प्रस्तुतीकरण गर्नुभयो । तर उहाँले प्रस्तुतीकरणका क्रममा उठाउनुभएका चुनौती र यहाँ ऐन संशोधनका लागि प्रस्ताव गरिएका विषयहरूबीच तालमेल नमिलेको जस्तो मलाई लाग्यो । मैले यहाँका बुँदाहरू हेर्दा संशोधनका प्रस्तावहरूले एउटा विषयको माग गरिरहेका छन् भने कार्यकारी निर्देशकज्यूले संस्थाको आवश्यकता अर्कै किसिमको रहेको बताउनुभएको छ । त्यसैले यी दुई पक्षबीच त्यति तालमेल देखिएन । अब यहाँ प्रस्ताव गरिएका विषयहरूमा बुँदागत रूपमा छलफल हुँदै जाला । तर कम्तीमा पनि यी संशोधनका प्रावधानहरू किन आवश्यक परे र किन प्रस्ताव गरिए भन्ने विषयमा सम्बन्धित संस्थाले स्पष्ट रूपमा महसुस गरेको र त्यसको औचित्य पहिचान गरेको हुनुपर्ने हो । उदाहरणका लागि, कार्यकारी निर्देशकलाई स्पष्टीकरणको मौका नै नदिई सरकारले जहिले चाह्यो त्यही बेला पदबाट हटाउन सक्ने गरी ऐनमा प्रस्ताव गरिएको छ । यस्तो व्यवस्था किन आवश्यक परेको हो? यसको औचित्य के हो ?’
समिति सभापति डा.कृष्णहरी बुढाथोकीले बैठक पछि १० दिनभित्र सांसद्हरुले उठाएका प्रश्नको जवाफसहित प्रतिवेदन पेश गर्न कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीलाई निर्देशन दिनुभयो ।
बुढाथोकीले भन्नुभयो,‘नागरिक लगानी कोष भनिएको छ, तर नागरिकको पहुँच अलि बढी हुन सकेन कि भन्ने कुरा आइरहेको छ । कसरी पहुँच वृद्धि गर्ने भन्ने विषय पनि छ । अब समग्रमा यहाँ धेरै विषयवस्तु आएका छन् । मैले के भनेको भने, यहाँ उठेका विषयवस्तु र हाम्रो कार्यसूचीमा रहेका विषयवस्तुलाई समेटेर नागरिक लगानी कोषका कार्यकारी निर्देशकज्यूलाई १० दिनभित्र अलि वृहत खालको प्रतिवेदन यस समितिमा पेस गर्न निर्देशन गर्छु ।’
उहाँकाअनुसार कार्कीले १० दिन भित्र कोषले पहुँच केकसरी वृद्धि गर्ने हो, भावी कार्यदिशा सहितको स्पष्ट खाका बुझाउनुपर्नेछ । –न्युज एजेन्सी नेपाल