नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीले नेपाल वायुसेवा निगमलाई प्रदान गरिएको कर्जा असुली गर्न आफूहरुले मात्रै नसकेको बताउनुभएको छ ।
बिहीबार संसदीय समितिमा सरकार जमानीमा बसेर दिइएको कर्जा असुली गर्न आफूहरुले नसकेको भन्दै सरकारले विशेष पहल गरिदिनुपर्ने बताउनु भयो । उहाँकाअनुसार अब असुली गर्न सरकारको सक्रिय पहल आवश्यक छ । निगमको कमजोर वित्तीय अवस्थाका कारण ठूलो रकम भुक्तानी नगरेका कारण असुली गर्न समस्या भएको बताउनु भयो । संसद्को अर्थ समितिको बैठकमा बोल्दै उहाँले नेपाल वायुसेवा निगममा गरिएको लगानीको ब्याजसमेत अर्बौं रुपैयाँ पुग्ने अवस्था रहेको बताउनु भयो । कोषले आफ्नो तर्फबाट कर्जा असुलीका लागि निरन्तर प्रयास गरिरहेको भए पनि एक्लैको प्रयासबाट समस्या समाधान गर्न कठिन रहेको उहाँको भनाइ छ । कर्जा असुलीका लागि सरकारी तहबाट थप पहल र सहजीकरण आवश्यक रहेको बताउँदै सरकारले पहल नगरे बचतकर्ताको रकम डुब्ने स्थीति आउने संकेत गर्नुभयो । यस विषयमा मन्त्रालयसँग निरन्तर छलफल तथा समन्वय भइरहेको र मन्त्रालयबाट आवश्यक निर्देशन तथा सुझावसमेत प्राप्त भइरहेपनि त्यतिले मात्रै वायुसेवालाई दिएको कर्जा असुली नहुने प्रष्ट पार्नुभयो ।
कार्कीले भन्नुभयो,‘जोखिम व्यवस्थापनसम्बन्धी विषयहरू पनि हाम्रा लागि चुनौतीका रूपमा रहेका छन् । विशेषगरी, नेपाल वायुसेवा निगमलाई प्रदान गरिएको कर्जा अहिले हाम्रो संस्थाका लागि ठूलो चुनौती बनेको छ । उक्त संस्थाको वित्तीय क्षमता कमजोर रहेको छ । ठूलो रकम भुक्तानी भएको छैन । यसमा लाग्ने ब्याजसमेत अर्बौं रुपैयाँ पुग्ने भएकाले यो विषय हाम्रो संस्थाका लागि गम्भीर चुनौती बनेको छ । नेपाल वायुसेवा निगममा कोषले गरेको लगानी तथा कर्जा असुलीका लागि सरकारबाट आवश्यक पहल र सहजीकरण होस् भन्ने हाम्रो अपेक्षा छ । यस विषयमा मन्त्रालयसँग निरन्तर छलफल तथा समन्वय भइरहेको छ । मन्त्रालयबाट आवश्यक निर्देशन तथा सुझावसमेत प्राप्त भइरहेका छन् । कोषले आफ्ना तर्फबाट निरन्तर प्रयास गरिरहेको भए पनि यस विषयलाई समाधान गर्न कोषको एकल प्रयास पर्याप्त नहुने देखिएकाले सरकारी तहबाट थप पहल आवश्यक रहेको छ । कोषको आवश्यकता तथा कार्यप्रकृतिअनुसार उपयुक्त जनशक्ति व्यवस्थापन गरिनुपर्छ । यसका लागि तयार गरिएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) प्रतिवेदनको स्वीकृति प्रक्रिया छिटो अघि बढाइदिनुहुन अपेक्षा गरेका छौँ । यसले कोषको जनशक्ति व्यवस्थापन तथा सङ्गठनात्मक संरचनालाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । करसम्बन्धी व्यवस्थामा आवश्यक सहुलियत तथा स्पष्टता कायम गरिनुपर्छ । विशेषगरी, नागरिक पेन्सन योजनासँग सम्बन्धित कर व्यवस्थालाई स्पष्ट र व्यवस्थित बनाउन आवश्यक छ । नागरिक पेन्सन योजनालाई हामीले दीर्घकालीन सामाजिक सुरक्षाको महत्त्वपूर्ण माध्यमका रूपमा लिएका छौँ । भविष्यमा यस योजनालाई थप विस्तार र सुदृढ गर्न सकिएमा रोजगारीमा नरहेका तथा नियमित पेन्सनको सुविधा प्राप्त नगर्ने नागरिकलाई समेत दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्न सकिनेछ । यसले भविष्यमा सरकारले वृद्धावस्थामा नागरिकलाई पेन्सन उपलब्ध गराउनुपर्ने आर्थिक भारसमेत कम गर्न सहयोग पु¥याउन सक्छ । तर, हाल नागरिक पेन्सन योजनामा सहभागी हुने व्यक्तिहरूले बारम्बार उठाउने एउटा महत्वपूर्ण प्रश्न भनेको पेन्सन भुक्तानी प्राप्त गर्दा लाग्ने करसम्बन्धी व्यवस्था हो । सहभागीहरूले आफ्नो आम्दानीबाट कर तिरेर रकम जम्मा गरेका हुन्छन् । त्यसैले भविष्यमा पेन्सन प्राप्त गर्दा करको व्यवस्था के हुन्छ र कति कर लाग्छ भन्ने विषयमा उनीहरू स्पष्ट हुन चाहन्छन् । हामीले सहभागीहरूलाई यो रकम पेन्सनकै रूपमा प्राप्त हुने जानकारी गराउँदै आएका छौँ । तर, मौखिक रूपमा जानकारी गराउनु मात्र पर्याप्त हुँदैन । यससम्बन्धी व्यवस्था कानुनमै स्पष्ट रूपमा उल्लेख हुन आवश्यक छ । त्यसैले नागरिक पेन्सन योजनामा सहभागी हुने व्यक्तिहरूलाई पेन्सन भुक्तानीका क्रममा करसम्बन्धी उपयुक्त सहुलियत प्रदान गर्ने स्पष्ट कानुनी व्यवस्था गरिदिनुहुन अपेक्षा गरेका छौँ ।’
उहाँले कोषसँग सम्बन्धित कानुनी तथा नीतिगत व्यवस्थामा आवश्यक सुधारको प्रक्रिया अघि बढिरहेको बताउनु भयो । तर सुधारका कार्य निर्धारित समयमा सम्पन्न हुन नसक्दा कोषका उद्देश्य प्राप्तिमा केही कठिनाइ भइरहेको उहाँले बताउनु भयो । कार्कीले समितिमा कोषको वित्तीय स्रोत संकलन तथा परिचालन वृद्धि गर्न स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवद्र्धन गर्ने योजना रहेको बताउँदै कोषका विभिन्न योजनाबारे प्रचारप्रसार तथा जनचेतना अभिवृद्धि गरी बढीभन्दा बढी नागरिकलाई सहभागी गराउने लक्ष्य रहेको बताउनु भयो । लगानीका क्षेत्र तथा दायरा विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिर्दै उहाँले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजना तथा क्षेत्रमा लगानी बढाउने, सहभागी कर्जाको दायरा विस्तार गर्ने, विशिष्टीकृत तथा व्यवस्थित लगानी कोषमा लगानी गर्ने, निजी पुँजी कोषजस्ता वैकल्पिक लगानीका क्षेत्रमा प्रवेश गर्ने तथा पुँजी बजारमा लगानी विस्तार गर्ने योजना रहेको बताउनु भयो ।
उपयुक्त संस्थाहरूको सेयरमा लगानी गरी लगानी विविधीकरण गर्ने लक्ष्यसमेत रहेको बताउँदै उहाँले यसका लागि पुँजी बजारका नयाँ लगानी उपकरण प्रयोगमा ल्याउन आवश्यक गृहकार्य भइरहेको र बन्दमुखी सामूहिक लगानी कोष सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको बताउनु भयो ।
व्यक्तिगत रूपमा लगानी व्यवस्थापन गर्दा जोखिम वहन गर्न कठिनाइ हुने लगानीकर्तालाई लक्षित गरी कोषले संस्थागत लगानी व्यवस्थापन सेवा प्रदान गर्ने योजना बनाएको कार्कीले बताउनु भयो । यसका साथै कोषको लगानी व्यवस्थापनसँग सम्बन्धित जोखिमको पहिचान तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने योजना रहेको उहाँको भनाई छ । कोषका सहभागीलाई सरल, सहज, झन्झटरहित तथा गुणस्तरीय सेवा प्रदान गर्न सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने योजना रहेको सुनाउँदै उहाँले दैनिक कार्यसम्पादनका धेरैजसो गतिविधि स्वचालित प्रणालीमा आबद्ध गरिसकिएको र आगामी दिनमा विद्यमान प्रणालीको स्तरोन्नति तथा डिजिटल सेवाको दायरा विस्तार गरिने बताउनु भयो ।
हाल सहभागीहरूले आफ्नो खाताको मौज्दात हेर्न तथा कर्जाका लागि आवेदन दिन सक्ने सुविधा प्राप्त गरिरहेको र आगामी दिनमा थप सेवा अनलाइन माध्यमबाट उपलब्ध गराउने योजना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोषको अघिल्लो रणनीतिक योजना समाप्त भइसकेकाले आगामी पाँच वर्षका लागि मार्गनिर्देशन गर्ने तेस्रो रणनीतिक योजना निर्माणको काम अघि बढाइएको छ भने आवश्यक अध्ययन तथा दस्तावेज तयारी भइरहेको र योजना तयार गरी कार्यान्वयनमा ल्याउने लक्ष्य रहेको छ । त्यसैगरी, कोषसँग सम्बन्धित कानुनी तथा नीतिगत व्यवस्थालाई समयसापेक्ष सुधार गर्न सम्बन्धित मन्त्रालय तथा निकायसँग निरन्तर समन्वय र छलफल गर्ने योजना रहेको छ । कोषका आन्तरिक विनियमहरू सञ्चालक समितिबाट स्वीकृत गराउने कार्यलाई पनि प्राथमिकतामा राखिएको उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल