१० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परीक्षण शुरु

.

विगत १० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परिक्षण शुरु गरिएको छ ।
काठमाडौं महानगरपालिकाले बिहीवार एक कार्यक्रमको आयोजना गरी बायोग्यास प्लान्ट परीक्षण शुभारम्भ गरेको हो । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले प्लान्ट परीक्षणको शुभारम्भ गर्नुभयो । यसअघि कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई बायोग्यास प्लान्ट सञ्चालनको लागि हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ढकालले ऊर्जा मन्त्रालयको निर्देशन र काठमाडौं महानगरपालिकासँगको सहकार्यमा प्लान्टको प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी पुनः सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार करिव १० वर्षअघि निर्माण गरिएको उक्त प्लान्ट सञ्चालनमा आएको केही समयपछि बन्द भएको थियो । पुरानो प्लान्टको डिजाइन विद्युत उत्पादन गर्ने उद्देश्यले गरिएको भएपनि हालको प्राविधिक अध्ययनले उत्पादित बायोग्यासलाई सिधै उपभोक्तासम्म पु¥याउनु उपयुक्त देखाएको उहाँको भनाई छ । पाइपलाइनमार्फत आसपासका घरपरिवारलाई ग्यास वितरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्लान्टको दीर्घकालीन सञ्चालन सुनिश्चित गर्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेल अपनाउने विषयमा पनि छलफल भइरहेको छ । निजी क्षेत्रलाई सञ्चालन व्यवस्थापनमा सहभागी गराएर महानगरपालिकाको स्वामित्वमा प्लान्ट सञ्चालन गर्ने अवधारणालाई अघि बढाइएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘करिब १० वर्ष अगाडि निर्माण भएर अनि तुरुन्तै फेरि बन्द भएर बसी राखेको प्लाण्ट थियो । हामीले एउटा सहकार्यबाट पुनः यसलाई संचालनमा ल्याउन सकेका छौँ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीज्यूको निर्देशन र काठमाडौ महानगरको सहकार्यमा हामीले यसलाई पुनस्र्थापना गरेका छौँ । हामीले यसको प्राविधिक पाटो र निरन्तर सञ्चालनको पाटो दुइटै पक्षमा अध्ययन गरेका थियौँ । प्राविधिक पाटोमा यो सानै प्लान्ट भएपनि त्यतिखेर अलिकति यो चरम लोडसेडिङको अवस्थामा डिजाइन भएको हुँदा खेरि विद्युत उत्पादनको किसिमले डिजाइन भएको र त्यो लामो समय सञ्चालनमा नभएको देखियो । ती सबै कुराहरु हेरेर हाम्रो प्राविधिक टोलीले यसलाई विद्युत उत्पादन गर्ने भन्दा पनि यसबाट उत्पादित ग्यासलाई सिधै प्रयोगमा ल्याउने बाटो उपयुक्त हुन्छ भनेर सुझाउनुभएको छ । हामीले महानगरसँग निरन्तर सहकार्य गरेर यसलाई पाइपलाइनबाट चाहीँ नि सप्लाई गर्ने गरि होमवर्क चाहिँ गरिराखेका छौँ । अब हामीले हाम्रो सुझाव दिइसकेको हुनाले महानगरतर्फबाट छिट्टै अगाडि बढ्नेछ भन्नेमा हामी आशावादी पनि छौँ ।’
विश्व बैंककी अपरेसन म्यानेजर रिता ढकालले पुनःस्थापित प्लान्टबाट दैनिक तीन टन छुट्याइएको जैविक फोहोर प्रशोधन गरी करिब १५० घनमिटर बायोग्यास उत्पादन गर्ने लक्ष्य रहेको बताउनु भयो । उत्पादित ग्यास आसपासका करिब १०० घरपरिवारलाई वितरण गरिने उहाँले जानकारी दिनुभयो । फोहोर व्यवस्थापन क्षेत्रबाट विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको करिब ३ देखि ५ प्रतिशत हिस्सा आउने उल्लेख गर्दै उहाँले जैविक फोहोरको उचित व्यवस्थापनले जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पु¥याउने बताउनुभयो । विशेषगरी ल्यान्डफिल तथा डम्पिङ साइटमा जैविक फोहोर कुहिँदा निस्कने मिथेन र खुला रूपमा फोहोर जलाउँदा उत्सर्जन हुने ब्ल्याक कार्बन न्युनिकरणमा यस्ता परियोजना उपयोगी हुने उहाँको भनाई छ । उहाँले प्लान्टको दिगो सञ्चालनका लागि घरघरबाटै जैविक र अजैविक फोहोर छुट्याउने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार युरोपेली संघको सहयोगमा सन् २०१७ मा स्थापना गरिएको प्लान्ट विभिन्न प्राविधिक तथा व्यवस्थापकीय समस्याका कारण लामो समयसम्म सञ्चालन हुन सकेको थिएन ।
उहाँले भन्नुभयो, ‘खुल्ला रुपमा फोहोर जलाउँदा ब्ल्याक कार्बन उत्सर्जन हुन्छ । ब्ल्याक कार्बन एकदमै छोटो समयको लागि भएपनि अत्यन्त बढी जलवायु प्रदुषक ग्यास हो । २०१७ सालमा इयुको सहयोगबाट प्लान्ट स्थापना भएको भएको हो । विभिन्न कारणहरुले यो दिगो रुपमा संचालन हुन सकेन । विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालित मिनी ग्रिड इनर्जी एक्सेस प्रोजेक्ट अन्तर्गत वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र काठमाडौँ महान महानगरपालिकाले यस प्लान्टलाई नवीकरण मात्र गरेको छैन कि यसको अवधारणालाई समेत नयाँ ढङ्गले विकास गरेका छन् । पहिलाको जुन मिस्टेकहरु भयो र किन सञ्चालन हुन सकेन भन्ने कुरालाई एड्रेस गर्दै यसको पुनर्जीवन दिनुभएको छ । अब यसले बिजुली उत्पादन गर्नुको सट्टा समुदायलाई सिधै बायोग्यास उपलब्ध गराउनेछ । जैविक फोहोरबाट लगभग १५० घन्मिटर बायोग्यास उत्पादन हुनेछ जुन आसपासका १०० घरपरिवार सम्ममा वितरण पु¥याइनेछ भन्ने कुरा हामीलाई जानकारी भएको छ । यसले काठमाडौँ सहरमा एलपी ग्यासको मारामारीलाई घटाउनेछ ।’
विश्व बैंकको सहयोगमा सञ्चालित मिनी ग्रिड इनर्जी एक्सेस परियोजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र काठमाडौं महानगरपालिकाले प्लान्टको पुनःस्थापना गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार विश्व बैंकको सहयोगमा यसअघि विभिन्न सात स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ठूला बायोग्यास प्लान्ट निर्माण भएका छन् । त्यस्तै, निजी क्षेत्रको सहभागितामा २० वटाभन्दा बढी व्यावसायिक प्लान्ट स्थापना भएका छन् । केन्द्रले हरित जलवायु कोषसमक्ष ४८ मिलियन अमेरिकी डलरको फोहोर व्यवस्थापनसम्बन्धी परियोजना प्रश्ताव गरेको र त्यसमा प्राप्त सुझावअनुसार काम भइरहेको जनाएको छ । नेपाल र स्विडेनबीच पेरिस सम्झौताको धारा ६.२ अन्तर्गत द्विपक्षीय सम्झौता भएपछि निजी क्षेत्रको सहभागितामा ठूला बायोग्यास आयोजनाहरू अघि बढाउने तयारी गरिएको छ । –न्युज एजेन्सी नेपाल