राष्ट्रिय सभाका तीन जना निःवर्तमान सदस्यहरुले राष्ट्रिय सभामा पदीय हैसियत प्राप्त गरेका सवारीसाधनसहितका सेवासुविधाहरु सरकारलाई फिर्ता गर्नुभएको छ ।
सेवासुविधा फिर्ता गर्ने तीन जना पूर्वसदस्यहरुमा नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बन्नुभएकी पूर्व सदस्य दिलकुमारी थापा रावल (पार्वती) हुनुहुन्छ । उहाँ एवं राष्ट्रिय सरोकार तथा समन्वय समितिकी पूर्वसभापति समेत हुनुहुन्छ । त्यस्तै सेवासुविधा सरकारलाई फिर्ता गर्नेमा नेपाली काँग्रेसबाट राष्ट्रिय सभा संसदीय दलका नेता बन्नुभएका रमेशजंग रायमाझी र काँग्रेसबाटै राष्ट्रिय सभा प्रमुख सचेतक बन्नुभएकी अनिता देवकोटा हुनुहुन्छ । राष्ट्रिय सदस्यको आफ्नो कार्यकाल सकिएसँगै सरकारबाट प्राप्त सवारीसाधनसहितका लिएका सबै सुविधा फिर्ता गर्नुभएको हो । सवारीसाधनसहित सेवा सुविधा संघीय संसद सचिवालय सिंहदरबारमा फिर्ता गरिसकेपछि कुरा गर्दै नेतृ दिलकुमारी थापा रावल पार्वतीले संसदको पदाधिकारीको हैसियतले कानूनसम्मत रुपमा प्राप्त भएको सेवा सुविधाहरु पदावधि सकिएको समयसीमा भित्र राज्यलाई फिर्ता गरेको बताउनु भयो । त्यस्तै नेता रमेशजंग रायमाझीले राष्ट्रिय सभामा पदीय हैसियत प्राप्त गर्दैगर्दा पाएका सेवा सुविधाहरु आफ्नो कार्यकाल समाप्त भएसँगै बुझाएको बताउनु भयो । त्यस्तै नेतृ अनिता देवकोटाले संवैधानिक र कानूनअनुसार प्राप्त पदाधिकारीहरुको सेवा सुविधाहरु आफ्नो कार्यावधि सकिएपछि राज्यलाई फिर्ता गरेको बताउनु भयो ।
गत फागुन २० गतेबाट राष्ट्रिय सभाका २० जना सदस्यको कार्याकाल सकिएको थियो । जसमध्ये रावल, रायमाझी र देवकोटाको पनि कार्यकाल सकिएको हो ।—न्युज एजेन्सी नेपाल