हेटाैंडा । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले मानिसबाट भइरहेको पृथ्वीकाे विनाशबाट बचाउनका लागि आवश्यक काम गर्नु सबैकाे दायित्व भएको बताउनु भएको छ ।
साेमबार हेटौंडामा आयोजित ‘विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीय रुपमा सशक्तीकृत : जलवायु सम्बन्धी गतिविधिमा जुनियर तथा युवा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचौ प्रदेश स्तरीय जुनियर/ युवा रेडक्रस शिविर कार्यक्रमकाे उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले पर्यावरण विनाश, जलवायु परिवर्तन र पृथ्वीको तापक्रममा निरन्तरको वृद्धिले मानव जातिको अस्तित्व नै संकटमा पर्दै गइरहेको बताउनु भयो । उहाँले हिमालमा हिउँ पग्लने, समुन्द्री सतहको वृद्धि, अत्याधिक कार्वन उत्सर्जन र वायुमण्डलमा बढिरहेको प्रदुषणले पृथ्वीको अस्तित्व पनि संकटमा पर्दै गइरहेको बताउनु भयो ।
उहाँले मानिसद्वारा भइरहेको पृथ्वीको विनाशबाट बचाउनका लागि आवश्यक काम गर्नु सबैको दायित्व भएको बताउनु भयो । उहाँले युवाहरु राष्ट्रका आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक क्षेत्रका अग्रदूत तथा परिवर्तनका बाहक भएको भन्दै उनीहरूले मानवीय सेवा कार्यलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । उहाँले युवाहरुले समुदायको दुःख र पीडामा सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जाेड दिनुभयो । मन्त्री श्रेष्ठले युवाहरूको सीप र दक्षता अभिबृद्धि गराएर मात्रै जलवायु परिवर्तनबाट उत्पन्न समस्यालाई सम्बोधन गर्न सम्भव हुने बताउनु भयो ।
मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गर्दै अघि बढिरहेकाे बताउनु भयो । उहाँले हाल सरकारी अस्पतालमा मात्रै रगत उपलब्धता गरिँदै आएकोमा आगामी दिनमा सम्पूर्ण रूपमा नि:शुल्क रगत उपलब्धता गर्न पहल गरिने पनि बताउनु भयो ।
