वैशाखको लागि तय भएको चुनाव सर्दैनः गगन थापा

.

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० को लागि तय भएको स्थानीय तहको निर्वाचन नसर्ने प्रष्ट पारेका छन्। शुक्रबार कास्कीमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै महामन्त्री थापाले वैशाखबाट स्थानीय चुनाव नसर्ने बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले घोषणा भएको चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। त्यस्तै, उनले चुनावमा सत्तारूढ गठबन्धनका दलहरूबीच तालमेल गर्ने वा नगर्ने भन्ने पछि टुंगो लगाइने थापाले बताए। यसबारेमा उनले भने, ‘गठबन्धनको काम चुनाव गराउने हो। चुनावमा मिल्छौं कि मिल्दैनौं भन्ने विषय अर्कै हो यो पछि नै थाहा हुन्छ।’

नेता थापाले नपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मिलेर संविधान र प्रणाली जोगाउन गठबन्धन गर्दै सरकार बनाइएको पनि बताए।

थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संसद चल्न दिन पनि आग्रह गरेका छन्। सदन सुचारु गर्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीकै घरमा गएर पनि हात जोडेको थापाको भनाई छ।