इन्जिनियरको आवाज सम्बोधन गर्ने नेतृत्व छानौँ

.

ई. सरोज धिताल
उप–महासचिव पदका उम्मेदवार 

लोकतान्त्रिक समूह नेतृत्वको ३१ औं कार्यसमितिबाट भएका गतिविधिहरु नेपाल इन्जिनियर्स एसोसिएसनको लागि निकै नै उपलब्धिमूलक सावित भएका थिए । सोही बमोजिम वामपन्थी नेतृत्वको ३२ औं कार्यसमितिबाट पनि समग्र इन्जिनियरहरुको हकहितको लागि प्रत्यक्ष महसुस गर्न सकिने गरी योजनाबद्ध रुपमा काम हुनेमा इन्जिनियरहरु अपेक्षारत थिए । विगतका उपलब्धिहरुको रक्षा गर्दै परिस्थितिवश अप्रत्याशित रुपमा विश्वभर देखा परेको कोभिड–१९ बाट प्रताडित इन्जिनियरहरुको हकहितको लागि थुप्रै काम गर्नुपर्ने दायित्व समेत उक्त कार्यसमितिको काँधमा आइपरेको थियो ।

 

यद्यपि कठिन परिस्थितिमा समग्र इन्जिनियरहरुको चाहना बमोजिमका आवश्यकताहरु पूरा गर्ने कार्यमा प्रा.डा. त्रिरत्न बज्राचार्य नेतृत्वको ३२ औं कार्यसमिति सफल भने देखिएन । उक्त नेतृत्व प्रति नेपाल इन्जिनियर्स एसोसिएसनमा आवद्ध इन्जिनियरहरुका आकाङ्क्षा एवं निर्वाचनको समयका घोषणापत्रमा उल्लेख गरिएबमोजिमका योजनाहरु सफल हुन सकेको देखिँदैन ।

नेपाल इन्जिनियर्स एसोसिएसन समग्र इन्जिनियरहरुको लागि काम गर्ने उद्देश्यले स्थापना भएको गौरवमय इतिहास बोकेको संस्था हो । यस संस्थामा संलग्न इन्जिनियरहरु सरकारी सेवा, निजी व्यवसायमा जागिरेको रुपमा संलग्न, आफैंले कुनै व्यवसाय सञ्चालन गरेका, उत्पादनमूलक एवं सेवा व्यवसायमा संलग्न रहेका लगायत विभिन्न किसिमका छन् । सबै प्रकारका इन्जिनियरहरुका आ–आफ्नै किसिमका समस्याहरु छन् ।

कोभिड–१९ ले निम्त्याएको सङ्कटले अन्य क्षेत्रहरु जसरी इन्जिनियरिङ क्षेत्रमा पनि ठूलो क्षति पुर्यायो । यसको सबैभन्दा बढी मार भर्खर औपचारिक शिक्षा पूरा गरेर रोजगारीमा जोडिएका इन्जिनियरहरुलाई पर्यो । जटिल परिस्थितिमा ठूलो सङ्ख्यामा इन्जिनियरहरु वेरोजगार हुनुपर्ने अवस्था सृजना भयो ।

एसोसिएसनको आवश्यकता

जतिबेला मुलुकमा अकल्पनीय सङ्कटहरु आउँछन्, ठीक त्यही बेला नै यस्ता व्यावसायिक संघसंस्थाको आवश्कता तड्कारो रुपमा देखिने गर्छ । एसोसिएसनको ३० औं कार्यसमितिले नेतृत्व गरिरहेको समयमा पनि भूकम्पको कारण हामीले ठूलो क्षति व्यहोर्नुपरेको थियो । यद्यपि त्यतिबेला एसाेसिएसनको नेतृत्व लिइरहनुभएका ई. ध्रुव थापा नेतृत्वको टीमले सरोकारवाला संस्थाहरुसँग सहकार्य गर्दै देशभरबाट करिब ३ हजार इन्जिनियरहरु परिचालन गरेर अल्पकालिन रुपमा भूकम्पले क्षति पुर्याएका पीडितहरुका तत्कालिन आवश्यकता पूरा गर्ने र दीर्घकालिन रुपमा व्यावसायिक प्रवद्र्धन र पुनर्निमाण लगायत कार्यमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरिएको थियो । यद्यपि प्रा.डा. त्रिरत्न बज्राचार्य नेतृत्वको टीमले कोभिड–१९ बाट प्रताडित अर्थतन्त्रलाई पुनर्जीवन दिन र सदस्यहरुलाई राहत उपलब्ध गराउन अपेक्षाकृत भूमिका खेल्न नसकेकोमा अधिकांश सदस्य इन्जिनियरहरु पीडा महसुस गरिरहेका छन् ।

 

जतिबेला संस्था सशक्त रुपमा क्रियाशिल हुनुपर्छ, ठीक त्यही समयमा संस्था पूर्णतया मौन रहनु निकै बिडम्बनापूर्ण हो भन्ने आवाज कोभिड–१९ को शुरुवात र लकडाउन पश्चात् सदस्यहरुको रहँदै आएको छ ।

 

एसोसिएसन प्रति सदस्यहरुका अपेक्षा के थिए ?

 

एसोसिएसन प्रति इन्जिनियरिङ क्षेत्रका नवप्रवेशीहरुले आफूहरुको रोजगारी सुनिश्चित गर्नको लागि पहल गर्ने, विभिन्न व्यवसायमा संलग्न इन्जिनियरहरुले सहुलियत दरमा कर्जा प्राप्त गर्ने, ठूला व्यवसायी एवं शैक्षिक संस्था सञ्चालकहरुले आफ्नो व्यवसाय उत्थानको लागि पहल हुनेमा आशावाद थिए । यद्यपि एसोसिएसनबाट कसैलाई कुनै कदम नचालिँदा इन्जिनियरहरु निराश हुनुलाई अस्वभाविक मान्न सकिँदैन ।

 

एसोसिएसन नेतृत्व प्रति रुष्टि बढ्नुका अन्य कारणहरु

इन्जिनियरहरुको साझा संस्था नेपाल इन्जिनियर्स एसोसिएसन नेतृत्वको लागि उम्मेदवारी दिने समयमा आफैंले घोषणा गरेका कुराहरु पूरा गर्न नसक्नु र विषम परिस्थितिमा सदस्य इन्जिनियरहरुको लागि पहल गर्न नसक्नु नै एसोसिएसन नेतृत्व प्रति रुष्टि बढ्नुको मुख्य कारण हो । जसले गर्दा संस्थामा तालाबन्दी गर्नुपर्ने अवस्था सम्म अहिलेको कार्यसमितिमा सृजना भएको छ । जुन अत्यन्तै खेदजनक विषय हो ।

 

संस्थामा तालाबन्दी गरिनुमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा संलग्न इन्जिनियरहरु विभिन्न माग सहित आन्दोलनमा रहँदै आउनुभएकोमा ऊहाँहरुको पक्षमा सम्बोधन गर्ने कार्यमा एसोसिएसनले खासै चासो देखाउन सकेन । साथै विगतका नेतृत्वहरुमा जसरी राजनीतिक आस्थालाई भन्दा पनि व्यावसायिक हकहितलाई विशेष महत्व दिनुपर्नेमा त्यसो नभई सत्ता पक्षसँगको निकटतालाई बढी महत्व दिँदा एसोसिएसनको ध्यान इन्जिनियरहरुको हकहितमा भन्दा बढी राजनीति तर्फ केन्द्रित भएको देखिन्छ ।

 

३२ औं कार्यसमितिका अन्य कमजोरीहरु

अनलाईन सदस्यताः
अनलाइन सदस्यता प्रणाली व्यवस्थित गर्ने कार्यलाई राम्रोसँग सञ्चालन गर्ने कार्यमा ३२ औं कार्यसमिति सफल देखिँदैन । अघिल्लो कार्यसमितबाट नै बनिसकेको प्रणालीमा थप सुधार ल्याउन नसकेपनि त्यसलाई निरन्तरता दिन सकिएको भए अनलाइन मार्फत नै सदस्यता आवेदन दिने इन्जिनियरहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन सक्ने थियो ।

संस्थागत सुशासनको अभाव
३२ औं कार्यसमितिमा संस्थागत अनुभवको अभाव एवं जिम्मेवारी बोधको समेत कमी रहेको इन्जिनियरिङ समुदायले महसुस गरेको छ । जसअन्तरगत आर्थिक व्यवस्थापनमा कमीकमजोरी देखिँदा यसको विवाद बाहिर सम्म नै छरपष्ट हुनु पनि एक हो ।

अस्पष्ट निर्णय
यस नेतृत्वको स्थानीय र प्रादेशिक संरचना सम्बन्धमा पनि स्पष्ट धारणा ल्याउन सकेन । जसले गर्दा ठूलो समस्या सृजना भयो । यसको अलावा बर्षौं देखि प्रस्ताव हुँदै आएको स्टाफ कलेज निर्माणको लागि एसोसिएसनले नीतिगत हस्तक्षेत्र गर्नुपर्नेमा त्यसो हुन सकेन ।

इन्जिनियरहरुको मनोबल बढाउन पहल नहुनु
स्थानीय तहमा कार्यरत इन्जिनियरहरुको मनोबल उच्च बनाउनको लागि पनि एसोसिएसनले पहल गर्नुपर्ने आवश्यकता थियो । इन्जिनियरहरुको भर्टिकल ग्रोथको लागि एसोसिएसनले जुन रुपमा आफ्ना गतिविधिहरु अघी बढाउनुपर्थ्याे । यद्यपि अहिले सम्म एसोसिएसन मौन रहँदै आएको छ ।

करारमा रहने इन्जिनियरको समस्यामा पहल
इलेक्ट्रोनिक्स तथा कम्प्युटर क्षेत्रमा काम गर्ने र करारमा काम गर्नुपर्ने इन्जिनियरहरुले पनि विभिन्न पीडा खेप्दै आएका छन् । करारमा काम गर्ने ईन्जिनियरको पेशागत अभिबृदी गर्ने आवश्यक पहल गर्ने तथा सम्पुर्ण स्थानिय तहमा स्थायी पदपुर्ती गर्ने आवश्यक पहल गर्ने ।

अनलाइन सदस्यता प्रणालीको महत्व
३१ औं कार्यसमितिमा करिब ११ हजार सदस्य इन्जिनियरहरु थपिएको एसोसिएसनमा ३२ औं कार्यसमितिमा अनलाइनबाट आवेदन दिई शुल्क बुझाएर सदस्य बन्न इच्छुक इन्जिनियरहरु निकै धेरै सङ्ख्यामा थिए । यद्यपि प्रणाली सदस्यता प्रणाली प्रभावकारी बन्न नसक्दा सदस्यता विस्तारमा ठूलो प्रगति हुन सकेको देखिँदैन ।

साथै हाल सम्मको तथ्याङ्कलाई हेर्दा अहिले सम्म नेपाल इन्जिनियरिङ काउन्सिलमा करिब ६२ हजार इन्जिनियरहरु सदस्य रहेकोमा एसोसिएसनमा सदस्यता लिने इन्जिनियरहरुको सङ्ख्या तुलनात्मक रुपमा निकै कम छ । यसलाई बढाउनको लागि अनलाइनमा आधारित स्वचालित प्रणाली विकास गर्नुको विकल्प छैन ।

नयाँ कार्यसमितिले एसोसिएसनमा निर्वाह गर्नुपर्ने दायित्व

१. नेपाल इन्जिनियर्स एसोसिएसनका गतिविधिहरुलाई व्यवस्थित, पारदर्शी र चलायमान बनाउन उपयुक्त प्रणाली विकास गर्ने ।
२. अग्रजहरुको सम्मान र नयाँ इन्जिनियरहरुलाई मार्गनिर्देशन गर्दै तटस्थ संस्थाको रुपमा नेपाल इन्जिनियर्स एसोसिएसनलाई स्थापित गर्ने ।
३ . विभिन्न सङ्काय अन्तरगत नयाँ इन्जिनियरहरुलाई निरन्तर तालिम केन्द्र (Department of Continue Training Center) स्थापना गर्नेे ।
४. अनलाइन डाटावेश र Membership लाई प्रभावकारी बनाउने
५. नेपाल इन्जिनियर्स एसोसिएसनका आगामी निर्वाचनहरु इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गराउन शुरु देखि नै पहल गरी परिणाम समेत दिने।
६. इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्ने विषयमा शुरुदेखि नै काम अघी बढाई परिणाम दिने।
७. विभिन्न सङ्काय अन्तरगत निजी तथा सरकारी क्षेत्र मा संलग्न इन्जिनियरहरुका समस्याहरु पहिचान गरी सोहीबमोजिम समाधानको लागि पहल गर्ने।
८. स्थानीय निकायमा कार्यरत इन्जिनियरहरुको मनोबल उच्च राखी निरन्तर कार्य क्षेत्रमा खटिन सक्ने गरी प्रोत्साहित गर्ने
९. नीतिगत रुपमै इन्जिनियरहरुको हस्तक्षेप हुन सक्ने व्यवस्था कार्यान्वयनको लागि नेपाल इन्जिनियर्स एसोसिएसन मार्फत पहल गर्ने ।
१०. Talk program लाई निरन्तरता दिइ थप व्यवस्थित रुपमा ईन्जिनियरिङ विषयवस्तुमा राष्ट्रिय स्तरको वहस र पैरवी गर्ने ।
११. नवीनतम प्रविधि मार्फत व्यवसाय गरिरहेका Pathao, Tootle  लगायतका Entrepreneur हरुको मुद्दालाई राष्ट्रिय रुपमा छलफलमा लगेर उपयुक्त नीतिगत व्यवस्था गर्न पहल गरी व्यवसाय गर्ने सहजीकरण गर्ने।
१२. Valuation sector मा आबद्ध ईन्जिनियरका समस्याहरु समाधानको लागि उचित पहल गर्ने ।

अन्त्यमा
नेपाल इन्जिनियर्स एसोसिएसनको आगामी नेतृत्वले संस्थालाई विगतको गरिमा कायम गर्दै संस्थागत सुशासन एवं व्यावसायिक हकहितको निम्ति काम गर्नु जरुरी छ । यसको लागि निश्चित योजना, प्रतिबद्धता, सुशासन र पारदर्शिता कायम गर्न सक्ने व्यक्तिले संस्थाको नेतृत्व लिनु जरुरी हुन्छ । तब मात्र संस्थाको गरिमा कायम रहन सक्ने र सदस्यहरुको हकहितमा काम हुन सक्छ भन्नेमा सम्पूर्ण सदस्य इन्जिनियरहरु चलाख रहनुपर्छ ।

साेहीबमाेजिम ‘अग्रजलाइ सम्मान युवालाइ मतदान’काे मूल नारा सहित नेपाल इन्जिनियर्स एसाेसिएसनकाे निर्वाचनकाे पर्खाइमा रहनुभएका सम्पूर्ण इन्जिनियरहरुलाइ डा‍‌‍‌ इ हरि बहादुर दर्लामी नेतृत्वकाे क्रियाशिल समूहलाइ मतदानकाे माध्यमबाट विजयी गराइ ३२ औं कार्यसमितिबाट पूरा हुन नसकेका अपेक्षाहरु पूरा गर्ने कार्यमा सहयाेग गर्नुहुन सम्पूर्ण सदस्य इन्जिनियरहरुलाइ आग्रह समेत गर्दछु ।