सत्तारुढ नेकपा (एमाले)का पोलिटव्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र)ले विकासको नाममा कमिशनतन्त्र चलाईरहेको आरोप लगाउनु भएको छ ।
पार्टीको गौरीशंकर गाउँपालिका काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले माओवादी केन्द्रलाई विकास विरोधी,अझै पनि हत्या र हिंसामा विश्वास गर्ने पार्टी भएकाले ऊसको हैसियत राष्ट्रिय राजनीतिमा समाप्त भएको जिकिर समेत गर्नु भयो । नेता गुरुङले माओवादी केन्द्रसँग कुनै राजनीतिक संस्कार नभएकाले आगामी स्थानीय तहको निर्वाचनमा जनताले हराई दिने दावी समेत गर्नु भयो । विकासको नाममा कमिशनतन्त्र चलाउने भएकाले आगामी उपनिर्वाचनमा सो पार्टी पराजित हुने उहाँको भनाई थियो ।
नेता गुरुङले मुलुकलाई राजनीतिक स्थायित्व र विकास दिनका लागि काँग्रेससँग सत्ता सहकार्य गरेर अघि बढनु परेको पनि बताउनु भयो । माओवादी केन्द्रले कहिले एमाले, कहिले काँग्रेससँग मिलेर आफ्नो अस्तित्व मात्रै जोगाईरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘हाम्रो पार्टीलाई जिताउन जरुरी छ । माओवादी केन्द्रलाई बाईबाई गर्न जरुरी छ । किन जरुरी छ ? माओवादी केन्द्र कुनै पनि राजनीतिक संस्कार बोकेको, विकासलाई अगुवाई गर्ने पार्टी होइन । माओवादीले त २०७४ सालमा आएर पनि कुलबहादुर तामाङको हत्या गर्ने पार्टी हो । त्यसैले हामीले गौरीशंकरबाट कूलबहादुरको रगतको बदला लिन जरुरी छ । दिलबहादुर खत्री अहिले पनि अपांग हुुनुहुन्छ । उहाँ घाइते हुनुहुन्छ । यस्तो अवस्थामा हामीले उनीहरुको हितको निम्ति पनि गौरीशंकरमा एमालेले विजयको झण्डा गाडनु छ । राष्टिय राजनीतिमा माओवादी बाईबाई भईसक्यो, दोलखाले पनि विदाई गर्नुपर्छ ।’
एमालेले पार्टीको तर्फबाट गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको रुपमा उमा शेर्पालाई उम्मेदवार बनाएको छ । पार्टीका स्थायी समिति सदस्य डा. राजन भट्टराईले उहाँलाई पार्टीको तर्फबाट उम्मदवारको टिकट औपचारिक रुपमा वितरण गर्र्नु भएको थियो ।
कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, केन्द्रिय सदस्य सरस्वती बस्नेत, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतका नेताहरुले गौरीशंकर गाउँपालिकाको निर्वाचनमा एमालेले जित्ने दावी गर्नु भएको थियो ।