कवि : मिना परियार
तिमी रमाइरहेको सहरमा म
टाउको समाहिरहेकी एकल पात्र,
तिमी अट्टहास गरिरहेको सहरमा
म समेट्दै थिए पुराना चित्र।
हेर न
केहि यादहरुलाई अत्तर
छरेर राख्दै छु,
साच्चै म असल थिए कि खराब
केहि स्वाद चाख्दै छु ।
अनि फेरी सोच्छु ,
ऊ त्यो पारिपट्टि हेर्छु, आफैँलाई हेर्छु
तप्प आसुँ झर्छ,
मस्तिष्क थाक्छ,शरीरको एकएक
पुन्ज गल्छन्
यादहरु ढल्छन्
यतिकैमा
मनको रणभूमिमा युद्ध हुन थाल्छ
चेतन मन भिष्म पितामह बन्न पुग्छन्
अवचेतनहरु कौरवको प्रतिनिधित्व गर्छन।
लामो खुइया काढ्छु ,
अनि फेरी सोच्छु
म यति कमजोर भएको कि बनाइएको
म उखेलेर फालेको विरुवा भएको छु,
म विना शवको आर्यघाटको कुरुवा भएको छु ।