अग्रज कलाकार हरिवंश आचार्यले काठमाडौंमा सवारीसाधनको चाप धेरै भइसकेको बताउनुभएको छ ।
शनिवार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानिसहरु ट्राफिक नियममा विस्तारै बाँधिरहेको तर सवारीसाधनको व्यवस्थापनमा समस्या आइरहेको बताउनु भयो । भविष्यमा सवारीसाधन चलाउनै नसक्ने स्थितिमा पुग्नसक्ने बताउनु भयो । सडक विस्तार गर्न समेत जमिन अधिग्रहण गर्न नसक्ने स्थितिमा सरकार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ट्राफिक नियममा हामी बिस्तारै बाँधिदै छौँ । हाम्रा अग्रजहरुले काठमाडौं शहरको पारित गर्दा नेपालको सम्बन्ध बढ्छ, सम्बन्धको साधक सवारीसाधन पनि हो । सम्बन्ध बढ्दै गइसकेपछि सवारीसाधन बढ्छन् भनेर सोचेर बनाएको भए यो स्थिति आज भोग्न पर्दैन थियो । भोलिका दिनमा हामीले गाडी चलाउने ठाउँ नपाउन सक्छौँ । काठमाडौंमा सवारीसाधन धेरै भइसकेका छन् । भयावह स्थिति भइसकेको छ । अब बाटो फराकिलो गर्न जमिन अधिग्रहण गर्न पनि सरकारसँग कुनै सामथ्र्य छैन ।’
कलाकार आचार्यले सार्वजनिक सवारी साधन कम रहेको बताउनु भयो । ट्राफिक व्यवस्थापनमा गम्भीरताका साथ लाग्नुपर्ने बताउनु भयो ।–न्युज एजेन्सी नेपाल