वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
नेपाल संवत ११४७ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले प्रदेश सरकारले २०८० सालमै नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने ऐन पारित गरी कार्यान्वयनमा ल्याएको स्मरण गर्नुभयो । तर ऐन कार्यान्वयनमा आए पनि व्यवहारमा भाषाको प्रयोग प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उहाँले अब सबै मन्त्रालयका बोर्ड र लेटरहेडमा नेपाली, नेपाल र तामाङ भाषा प्रयोग गरिने जानकारी दिनुभयो । मुख्यमन्त्री थापामगरले नेपाल भाषा र तामाङ भाषाका विज्ञहरू सम्मिलित समूह गठन गरी सरकारी कार्यालयको कामकाजमा यी भाषाको प्रयोग विस्तार गर्ने तयारी भइरहेको पनि बताउनु भयो । विज्ञहरूको सुझावका आधारमा प्रदेशका सबै १३ जिल्लामा भाषाको प्रयोगलाई विस्तार गरिने उहाँको भनाइ छ । उहाँले नेपाल भाषा, नेवार समुदायको संस्कृति, संस्कार, रीतिरिवाज, कला तथा बाजागाजाको संरक्षण र संवद्र्धनका लागि प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।
यसैक्रममा प्रदेशका प्रत्येक जिल्लामा राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिष्ठान स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले चालु आर्थिक वर्षमा दोलखामा प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । अन्य जिल्लाबाट माग आएमा त्यहाँ पनि प्रतिष्ठान स्थापनाका लागि बजेट उपलब्ध गराइने उहाँले बताउनु भयो । नेपाल भाषाको संरक्षण र विकास काठमाडौं उपत्यकामा मात्रै सीमित नराखी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र काभ्रेलगायत वागमती प्रदेशका सबै जिल्लामा विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रदेशका सबै मन्त्रालयका नामपट्टमा नेपाली, नेपाल र तामाङ गरी तीनवटै भाषाको प्रयोग शुरु गरेका छौँ । अब मन्त्रालयका लेटरहेडमा पनि तीनवटै भाषाको प्रयोग गरिनेछ । साथै, नेपाल भाषा र तामाङ भाषाका विज्ञहरूको सहयोगमा प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा यी भाषाको प्रयोग विस्तार गर्न आवश्यक कार्य अघि बढाइनेछ । त्यसैगरी, बागमती प्रदेशका १३ वटै जिल्लामा राष्ट्रिय विभूति शङ्खधर साख्वाःको नाममा प्रतिष्ठान स्थापना गर्ने, नेपाल भाषा, नेवार समुदायको कला, संस्कृति, संस्कार, रीतिरिवाज तथा मौलिक सम्पदाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको छ। यस वर्ष दोलखा जिल्लामा पनि प्रतिष्ठान स्थापनाका लागि बजेट व्यवस्था गरिएको छ । अन्य जिल्लाबाट माग आएमा त्यहाँ पनि आवश्यक बजेट विनियोजन गरिने । नेपाल भाषा र नेवार समुदायको संस्कृति काठमाडौं उपत्यकामा मात्र सीमित हुनुहुँदैन । सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेलगायत वागमती प्रदेशका सबै जिल्लामा यसको संरक्षण र प्रवद्र्धन आवश्यक छ । भाषा, लिपि, बाजागाजा, कला, संस्कृति र परम्पराको संरक्षणका लागि प्रदेश सरकार प्रतिवद्ध छ । नेपाल भाषा तथा संस्कृतिको विकास र संरक्षणका लागि प्राप्त हुने सुझाव र मागलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले आवश्यक बजेट र कार्यक्रममार्फत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
भाषा र संस्कृतिको संरक्षणका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले नेपाल भाषाको विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिने बताउनु भयो । –न्युज एजेन्सी नेपाल