सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको साझा राष्ट्रिय सम्पदा भएको बताउनुभएको छ । मंगलवार नेपाल सम्वत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपाल संवत कुनै एक जात वा भाषा विशेषको मात्रै नभएको बताउनुभएको हो । उहाँले नेपाल संवत केवल समय गणना गर्ने पात्रो मात्र नभई नेपालको मौलिक इतिहास र सभ्यताको महत्वपूर्ण धरोहर भएको उल्लेख गर्नुभयो । नेपाल संवतको प्रारम्भ राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी योगदानसँग जोडिएको बताउँदै उहाँले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएर साख्वाले सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको उल्लेख गर्नुभयो । नेपाल संवत ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्व नेपाल मण्डलको जीवन पद्धतिसँग गहिरो रूपमा जोडिएको उहाँको भनाई छ । उहाँकाअनुसार चाडपर्व, जात्रा, संस्कार र परम्पराको निरन्तरतामा नेपाल सम्वत्को महत्वपूर्ण भुमिका रहँदै आएको छ । उहाँले नेपाल संवत नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्वपूर्ण अध्याय समेत भएको बताउनु भयो । विशेषगरी पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि यस आन्दोलनले महत्वपूर्ण आवाज उठाएको उहाँको भनाइ छ । शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा, नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता प्रदान तथा सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय आन्दोलनका महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो । यी उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सम्वत् केवल समय गणना गर्ने पात्रो मात्र होइन, यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्वपूर्ण सम्पदा हो । यसको प्रारम्भ राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी योगदानसँग जोडिएको छ । ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई उहाँले स्थापना गर्नुभएको यस सम्वत्ले सामाजिक न्याय, परोपकार र सामूहिक हितको महान सन्देश दिएको छ । उहाँको योगदान कुनै एक समुदायमा सीमित नभई सम्पूर्ण मानव समाजका लागि अनुकरणीय छ । नेपाल सम्वत्को ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्व नेपाल मण्डलको जीवन पद्धतिसँग गहिरो रूपमा जोडिएको छ । हाम्रा चाडपर्व, जात्रा, संस्कार र परम्पराको निरन्तरतामा यसको महत्वपूर्ण भूमिका रहँदै आएको छ । नेपाल सम्वत् आन्दोलन नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको पनि महत्वपूर्ण अध्याय हो । विशेषगरी पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि यस अभियानले महत्वपूर्ण आवाज उठाएको थियो । यस आन्दोलनलाई अगाडि बढाउनुहुने सम्पूर्ण अग्रज तथा अभियान्ताहरूप्रति म उच्च सम्मान व्यक्त गर्दछु । शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा, नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता प्रदान तथा सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय यस आन्दोलनका महत्वपूर्ण उपलब्धि हुन् । अब यी उपलब्धिहरूलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल सम्वतको प्रयोग विस्तार गर्न आवश्यक छ । नेपालको संविधानले स्वीकार गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान हाम्रो राष्ट्रिय शक्ति हो । नेपाल सम्वत् कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो । त्यसैले नेपाल भाषा, नेपाल लिपि र समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा राज्य र समाज दुवैको सक्रिय भूमिका आवश्यक छ । यस अभियानलाई नयाँ पुस्तासँग जोड्दै शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा नेपाल सम्वत्को प्रयोग विस्तार गर्न सकेमात्र यसको दीर्घकालीन संरक्षण सम्भव हुनेछ । नेपाल संवत ११४७ ले सम्पूर्ण नेपालीमा एकता, सद्भाव, सुख, शान्ति, समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्। हाम्रो मौलिक इतिहास, भाषा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा हामी सबै एकजुट भएर अघी बढाऔँ ।’
सभामुख अर्यालले मौलिक इतिहास, भाषा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा सबैलाई एकजुट हुन आह्वान समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल