शंखधर साख्वाको परोपकारी भावना आत्मसात गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छः सुनिता डंगोल

.

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताउनुभएको छ ।
मंगलवार नेपाल सम्वत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेपाल संवतका प्रवर्तक शंखधर साख्वालाई केवल नेपाल संवत्का संस्थापकका रूपमा मात्रै लिन नहुने उहाँले बताउनु भयो । समाजप्रतिको उत्तरदायित्व र परोपकारका प्रतीकका रूपमा साख्वालाई स्मरण गर्नुपर्ने उहाँको भनाइ छ । व्यक्तिगत सम्पती र सुखसुविधा आर्जन गर्नुभन्दा समाजको हित, नागरिकको दुःख निवारण र सकारात्मक परिवर्तनका लागि योगदान गर्नु नै व्यक्तिको वास्तविक महानता भएको उहाँले बताउनु भयो । राज्य कर संकलन र प्रशासन सञ्चालन गर्ने संयन्त्रमा मात्र सिमित हुन नहुने उहाँको भनाई छ । उहाँले विपन्न, सीमान्तकृत, पिछडिएका तथा दुःखमा परेका नागरिकको हित सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको बताउनु भयो । उहाँकाअनुसार लोककल्याणकारी राज्यको केन्द्रमा आम नागरिक हुनुपर्छ । स्वास्थ्य, शिक्षा, न्याय र सामाजिक अधिकार सुनिश्चित गर्न नागरिकमैत्री नीति, कानुन तथा कार्यक्रम आवश्यक रहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सम्बतको कुरा गर्दाखेरि हामीले शंखधर साख्वालाई सम्झिनै पर्छ । शंखधर साख्वा नेपाल सम्बतको संस्थापककर्ता मात्र होइन, उहाँ प्रवर्धक मात्र होइन, उहाँलाई समाजप्रतिको उत्तरदायी र परोपकारको प्रतीकको रुपमा हामीले लिनुपर्दछ । व्यक्ति कति सुखी छ, कति सम्पति छ भन्ने भन्दा समाज, जनताको हितका लागि काम गर्नुपर्छ, दुःख निवारणको निवारणका लागि काम गर्नुपर्छ । कोही पनि व्यक्तिको महानता भनेको कति कमायौँ हामीले जिन्दगीमा भन्दा पनि हामीले समाजमा कति दिन सक्यौँ, समाजको परिवर्तनका लागि समाजमा सकारात्मक परिवर्तन ल्याउन हामीले के योगदान गर्न सक्यौँ भन्ने कुरामा मापन हुनुपर्दछ । उहाँको जीवनबाट हामीले सिक्ने कुरा हो, यो । आज हामी लोक कल्याणकारी राज्यमा छौँ । राज्य भनेको कर लिने अनि प्रशासन चलाउने मात्र संयन्त्र होइन । राज्य भनेको दिनदुःखी, सीमान्तकृत वर्ग, पिछडिएको वर्ग, विपन्न वर्ग र दुःख परेको नागरिकको लागि भलो गर्न सक्ने संस्था अनि सिङ्गो सांस्कृतिक, राजनीतिक, समृद्धि, सुरक्षा, सुख जस्ता विभिन्न पक्ष हामीलाई जीवनमा नभई नहुने पक्षको जिम्मेवारी लिने संस्था पनि हो । अझ विशेष गरी लोक कल्याणकारी राज्यमा सदैव केन्द्रबिन्दुमा आम नागरिक हुनुपर्दछ । त्यसैले पनि स्वास्थ्य, शिक्षा, न्याय, सामाजिक र सँगसँगै नागरिकका विभिन्न अधिकारहरुका विषयमा राज्यले गहन विचार विमर्श गर्ने र नागरिकमैत्री नीति, कानुन, कार्यक्रमहरु ल्याउन जरुरी छ । काठमाडौ महानगरले लोक कल्याणकारी राज्यको भावना, जनभावना बुझेर काम गरिरहेका छौँ र आगामी दिनमा काम गर्न तत्पर पनि छौँ ।’
काठमाडौं महानगरपालिकाले नागरिकको सहजताका लागि स्वास्थ्य र न्याय क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार महानगरले ‘बाइक एम्बुलेन्स’ सेवा, निःशुल्क कानूनी सहायता कार्यक्रम, झिलिमिली सहर बनाउने अभियान लगायतका कार्यक्रम संचालन गरिएको छ । उहाँले तिहारसम्म अँध्यारा स्थानमा सडकबत्ती जडान गर्ने लक्ष्यसहित टेन्डर प्रक्रिया अघि बढाइएपनि प्राविधिक कारणले यसपटक प्रक्रिया पूरा हुन नसकेको बताउनु भयो । आगामी दिनमा भिलिमिली अभियानलाई निरन्तरता दिने उहाँले बताउनुभयो । उहाँले महानगरपालिकाले श्री गणेश र श्री भैरवको निवास निर्माण गर्ने घोषणा समेत गर्नुभयो । उहाँकाअनुसार निवास निर्माण कार्यका लागि मंसिर ५ गते पूजाआजासहित शिलान्यास गर्ने तयारी गरिएको छ । जीवित देवी कुमारीसँगै जीवित देवता श्री गणेश र श्री भैरवको पनि एकै स्थानमा निवास हुनुपर्ने स्थानीय समुदायको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै महानगरले निर्माण प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल