जलवायु परिवर्तनका असर न्युनिकरण, वातावरण संरक्षण तथा जलवायु उत्थानशील शहर निर्माणका विषयमा छलफल र सहकार्य गर्ने उद्देश्यसहित काठमाडौं जलवायु कार्य सप्ताह शुरु भएको छ ।
काठमाडौं महानगरपालिकाको आयोजनामा शुरु भएको कार्य सप्ताहमा जलवायु परिवर्तनले शहरमा पारेको प्रभाव, शहरी बाढी, वायु प्रदूषण, पानीका स्रोतको संरक्षण, हरियाली प्रवद्र्धन तथा दिगो सहरी विकासका विषयमा छलफल हुनेछ । कार्यक्रममा सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, विज्ञ, अनुसन्धानकर्ता, वातावरण अभियन्ता, युवा तथा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको छ । सप्ताहका क्रममा जलवायु परिवर्तनका चुनौती पहिचान गर्दै त्यसको सामना गर्न स्थानीय तहले अपनाउनुपर्ने नीति, योजना र व्यावहारिक उपायबारे विचार आदानप्रदान गरिनेछ । जलवायु कार्य सप्ताहले काठमाडौंसहित देशका शहरलाई जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक नीति, योजना र कार्यान्वयनका उपाय पहिचान गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ । –न्युज एजेन्सी नेपाल







